पर्सा : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो व्यस्त जीवनशैलीलाई योगामार्फत व्यवस्थित गर्न आह्वान गरेका छन् ।
भारतको महावाणिज्य दूतावास वीरगञ्जद्वारा आज यहाँ आयोजित अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मुख्यमन्त्री सिंहले योगामार्फत विभिन्न खालका रोगका उपचार पनि हुँदै आइरहेको पनि उल्लेख गरे ।
“मानव कुनै न कुनै किसिमको तनावबाट गुज्रिने भएकाले पनि योगाको आवश्यकता बच्चादेखि वृद्धसम्म अत्यन्त जरुरी भइसकेको छ”, उनले भने, “भाग दौड र व्यस्त जीवनशैलीले मानिस आफ्नो स्वास्थ्यलाई ध्यान दिन नसक्दा विभिन्न किसिमका रोगको समस्या देखिएको छ । त्यसैले योगमार्फत रोगलाई जित्न सकिने भएकाले सोतर्फ लाग्न अनुरोध गर्दछु ।”
मुख्यमन्त्री सिंहले तनावयुक्त अवस्थाबाट गुज्रिरहेको परिपेक्षमा आफ्नो दिनको सुरुआत योगबाट गरेमा धेरै हदसम्म तनाव व्यवस्थापन गर्न सकिने बताए ।
“बच्चादेखि वृद्धसम्म कामले होस् या पढाइले तनावबाट गुज्रिरहेको अवस्था छ । व्यस्त जीवनशैलीमा बिहानको समयमा योगा गरेर भए पनि आफ्नो स्वास्थ्यलाई केही हदसम्म भए पनि स्वस्थ र फुर्तिलो गराउन पहलकदमी गर्न आवश्यक छ”, उनले भने, “योग प्राचीनकालदेखि अभ्यास हुँदै आइरहेकाले त्यसलाई सबैले अनुशरण गर्न जरुरी छ ।”
भारतको महावाणिज्य दूतावासका महावाणिज्य दृत देवी सहाय मिनाले अहिलेको सन्दर्भमा योगको महत्त्व दिनानुदिन बढ्दै गइरहेको बताए ।
त्यस्तै गरी प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय वीरगञ्जले आज यहाँ विविध कार्यक्रम गरेर ११औँ अन्तर्राष्ट्रिय योग दिवस २०८२ मनाएको छ । कार्यालय प्रमुख डा. शिवनारायण गुप्ताले योगको महत्त्व अझै बढ्दै गइरहेको बताए । “योगले शारीरिक ,मानसिक रूपमा स्वस्थ हुन महत्त्वपूर्ण योगदान पुर्याउने गर्छ”, उनले भने ।