दोहा कतार : संखुवासभा समाज कतारले कतारमा औपचारिकरूपमा नौमती पञ्चेबाजाको सुरुवात गरेको छ । बिहीबार साँझ एक कार्यक्रमको आयोजना गर्दै समाजले औपचारिक रूपमा नौमती पञ्चेबाजा समूहको घोषणा गर्दै सुरुवात गरेको हो ।
समाजका अध्यक्ष राजेन्द्र खनालको सभाध्यक्षता तथा नेपाली दूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममार्फत सदस्य बाजा समूह घोषणा गरिएको हो । कतारमा रहेका विभिन्न संघसंस्था तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थित रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले हराउँदै गरेको सभ्यता, परम्परा, रीतिथितिलाई कतारसम्म ल्याएर स्थापित गरेकोमा खुसी व्यक्त गरे । ५० डिग्रीको घाममा काम गरेर पनि मौलिकतालाई पहिलो स्थानमा राखेर पुनीत कार्य गरेको बताउँदै नेपाली दूतावासले बाजालाई अन्तर्राष्ट्रियकरण गर्न साथमै रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा एनआरएनए एनसीसी कतारका तर्फबाट आफ्नो शुभकामना मन्तव्य राख्दै प्रथम उपाध्यक्ष तथा श्रमिक विभाग संयोजक कृष्ण पन्थीले अहिलेको डिजिटल दुनियाँमा लोप हुँदै गएको मौलिक पञ्चेबाजा कतारमा भित्र्याएकोमा खुसी व्यक्त गरे । उनले एनसीसी कतारको सांस्कृतिक विभागले समेत बाजा समूहसँग समन्वय तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । पन्थीले कतारमा रहेका संघसंस्थाले पीडा र अप्ठ्यारोमा परेका श्रमिकलाई सहयोग, सचेतना कार्यक्रमसहित मौलिकताको जगेर्ना गर्दै जानु पर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष बिरेन मादेनले स्वागत मन्तव्य राख्दै उनले समाजले बाजालाई कतारसम्म ल्याउनुको मुख्य उद्देश्य नेपाली कला संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धन रहेको बताए । समाजका संस्थापक संरक्षक तेज मोक्तान तामाङले समाजलाई केही नयाँ दिशा दिन र थप परिचित कसरी बनाउन सकिन्छ भन्ने गहन चिन्तन पछि पञ्चेबाजा कतारमा ल्याइएको स्पष्ट पारे । कार्यक्रममा बोल्ने वक्ताहरूले पञ्चेबाजा मार्फत संस्थागत प्रगतिको कामना गर्दै नेपाल बाहिर नेपालीले बनाएको सानलाई नौमतीले नयाँ उचाइ दिन विश्वास व्यक्त गरे ।
हरेक महिनाको तेस्रो बिहीबार साँझ बाजा सिक्न चाहनेका लागि खानासहित हल निःशुल्क रूपमा लालीगुराँस रेस्टुरेन्टले उपलब्ध गराउने रेस्टुरेन्टका सञ्चालक तथा समाजका संस्थापक संरक्षक पर्शुराम दाहालले प्रतिबद्धता व्यक्त गरेका छन् । महासचिव पदम सिम्खडाले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष खनालले कतारका संघ संस्थासँग सहकार्य गर्दै समाज र नौमती बाजा समूह अगाडि बढ्ने बताए ।