अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकाले सहकारीमार्फत कृषि उत्पादनमा जोड दिने भएको छ । नगरपालिकाले कृषि तथा पशुपन्छीमा लगाउँदै आएको कर खारेज गरी किसानलाई राहत दिने गरी नीति तथा कार्यक्रम कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले शिक्षा क्षेत्रलाई पनि मुख्य प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले जानकारी दिए ।
गत वर्ष नगरसभामा शितगंगा नगरपालिकाका छबिलाल पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएका थिए ।
शितगंगा नगरपालिकालाई स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास गरी बस्नयोग्य हरियाली सहर बनाउने मुख्य उद्देश्यसहित नीति तथा कार्यक्रममा नगरपालिकाले योजना बनाएर लागेको नगरपालिकाका प्रमुख छबिलाल पौडेलले नगरसभामा प्रतिबद्धता व्यक्त गरेका थिए ।
नीति तथा कार्यक्रममार्फत शितगंगाले शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारको क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, उद्योग, व्यापार जस्ता क्षेत्रको समुन्नतिमा जोड दिने मूल रणनीतिको रुपमा अगाडि सारेको छ ।
आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने गरी अहिले काम भैरहेको नगरप्रमुख छबिलाल पौडेल जानकारी दिए ।
उनका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिँदै पशुपन्छीमा लगाउँदै आएको निकासी कर हटाउने निर्णयलाई प्राथमिकतामा राखिएको छ ।
उनले शितगंगालाई शिक्षा,स्वास्थ्यमा अब्बल नगरपालिका बनाउँदै सीप तथा रोजगारका क्षेत्रमा पर्याप्त अवसर सिर्जना हुने गरी बजेट निर्माण गर्ने बताए । शितगंगालाई समृद्ध बनाउनका लागि शितगंगा नगरपालिकाको एक्लो प्रयासले मात्रै सम्भव नहुने नगरउपप्रमुख गिता भाटले बताइन् ।
विपद् व्यवस्थापन गर्न दैनिक ५ रुपैयाँको कोष
छत्रदेव गाउँपालिका अर्घाखाँचीले आगामी आर्थिक वर्षदेखि ‘आफैंबाट सुरू गरौं परिवर्तन यात्रा अभियान’ लागु गर्ने भएको छ । छत्रदेव गाउँ सभाको २०औं अधिवेशनमा गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आकस्मिक विपद् व्यवस्थापनका लागि भन्दै यो अभियान सुरू गर्न लागिएको उल्लेख्य गरे । आकस्मिक विपद् व्यवस्थापनमा उपयोग गर्नका लागि प्रत्येक जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीबाट दिनहुँ ५ रुपैयाँ कोषमा संकलन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताए । भैपरी आउने विपद् व्यवस्थापन लागि भन्दै गाउँपालिकाले यो अभियान सुरू गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेको भनाइ छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमामा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सार्वजनिक सेवा प्रवाहलाई जोड दिने बताएको छ ।
छत्रदेव गाउँपालिकाले आ.व.२०८१÷०८२ को बजेट असार १० गते ल्याउने तयारी गरिएको गाउँपालिकाका उपाध्यक्ष मनि पन्थीले जानकारी दिइन् ।