काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन शनिबारदेखि काठमाडौंमा सुरु भएको छ ।
सर्वोच्च अदालतको परमादेशबाट पुनस्र्थापित भएको संघको उच्चस्तरीय समितिले एकता महाधिवेशन आयोजना गरेको हो । यसले नयाँ नेतृत्व चयन गर्नेछ ।
सम्मेलनमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, वद्री केशी नेतृत्वको कार्यसमितिको सहभागिता छैन । सम्मेलनमा सहभागी हुन प्रवासमा रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितिका प्रतिनिधि आएका छन् ।
उच्चस्तरीय समितिका अनुसार २६ सय प्रतिनिधि दर्ता भएको छ ।
सम्मेलनको परराष्ट्रमन्त्री आरजु राणा देउवाले उद्घाटन गरेकी छन् । उद्घाटनका क्रममा परराष्ट्रमन्त्री देउवाले एनआरएनए भित्र राजनीति नगर्न आग्रह गरेकी छिन् । उनले एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको बताइन् ।
एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने उनको भनाइ थियो । राजनीति गर्नेलाई समृद्धि कसरी ल्याउन सकिन्छ ? भन्नेकुरा राम्रोसँग जानकारी नहुने भन्दै विदेशमा देखेका र भोगेका कुरालाई नेपालमा आएर परिणाम दिन सकिने उनको भनाइ छ ।
परराष्ट्रमन्त्री डा. राणाले गैरआवासीय नेपालीहरू आफ्नो परिवार, समाज, गाउँ र समुदाय विकास गर्ने महत्त्वपूर्ण माध्यम रहेको पनि बताइन् ।
यस्तै, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दलीय संकीर्णताले एनआरएनएमा विभाजन आएको बताए ।
मुलुकबाहिर एनआरएनएलाई साझा रूपमा राख्नुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले दलीय संकीर्णतामा नजान आग्रह गरे । अहिले एनआरएनएमा विभाजन देखिनुको अन्तर्य दलीय संकीर्णता भएको उनले बताए । यो महाधिवेशनबाट छुटेका साथीहरूले प्रतिष्ठाको विषय नबनाएर एनआरएनएलाई एकताबद्ध बनाउनु भट्टराईले आग्रह गरे ।