२०८२ वैशाख १९ गते शुक्रवार / May 02 , 2025 , Friday
२०८२ वैशाख १९ गते शुक्रवार
Ads

वैदेशिक रोगजारी प्रलोभनमा करोडौं ठगी

जीवन शर्मा
२०८२ वैशाख १९ गते ०६:४०
वैदेशिक रोगजारी प्रलोभनमा करोडौं ठगी

काठमाडौं : नेपाल प्रहरीले बिहीबार वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जनालाई पक्राउ गरेको छ । विदेश पठाइदिने नाममा मोटो रकम लिई सम्पर्कविहीन भएका भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनीहरूलाई पक्राउ गरेको हो ।   

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका– ५ घर भएका ३९ वर्षीय सम्पूर्ण केसी, सोही नगरपालिका– ३ बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका– ३ का २९ वर्षीय सुजन गिरी, काठमाडौं महानगरपालिका– ३ बस्ने पाल्पा रम्भा गाउँपालिका– ५ का ५८ वर्षीय शिरबहादुर बराल र तारकेश्वर नगरपालिका– ४ घर भएकी ३३ वर्षीया सरस्वती देवकोटा छन् ।

उनीहरूले ५ जना व्यक्तिसँग विभिन्न मुलुक पठाइदिने नाममा ७० लाख १५ हजार ठगी गरेका उजुरी परेको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ ।

पक्राउ परेकामध्ये सम्पूर्ण केसीले यूके पठाइदिन्छु भन्दै १ जनाबाट ३५ लाख, सुजनले यूके पठादिन्छु भन्दै १ जनाबाट २६ लाख ६५ हजार, शिरबहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जनाबाट ७ लाख ५० हजार र सरस्वतीले यूएई पठाइदिन्छु भन्दै २ जनाबाट १ लाख रुपैयाँ लिई सम्पर्कविहीन थिए । उनीहरूलाई केही दिनदेखि प्रहरीले सूक्ष्म निगरानी गरिरहेको प्रहरीको भनाइ छ । 

यस्तै दैनिकजसो वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी भएका घटनाहरू प्रशस्त छन् । मोरङ कानेपोखरी गाउँपालिका– २ घर भएकी ५१ वर्षीया मुना कार्कीले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जनाबाट ३ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन थिइन् । त्यस्तै, दाङ तुलसीपुर उपमहानगरपालिका– ६ घर भएका ३१ वर्षीय नारायण बस्नेतले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जनाबाट ३ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन थिए । उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट वैशाख दोस्रो हप्ता पक्राउ गरेको प्रहरीको भनाइ छ ।   

उता, अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोरखा अजिरकोट गाउँपालिका– ४ घर भएका २२ वर्षीय अनिल देवकोटालाई बुधबार पक्राउ गरिएको थियो । उनी २ जना पीडितहरूबाट ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन थिए ।

त्यस्तै, रसिया पठाइदिन्छु भनी बारा जीतपुरसिमरा उपमहानगरपालिका– १६ का २७ वर्षीय उमेश भोलोनले ४ जनाबाट ३ लाख ४० हजार ठगी गरेका थिए । उनी लामो समयदेखि सम्पर्कविहीन भएका पीडितहरूको उजुरी छ ।

बुधबार मात्र प्रहरीले ४ जनासँग रकम असुल गरी भागेका २ जनालाई पक्राउ गरेको जनाएको छ । आकर्षक तलबको प्रलोभनमा पारी यूएई र माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका– ६ बस्ने धादिङ नीलकण्ठ नगरपालिका– ६ घर भएका २९ वर्षीय उमेश गुरुङ र काठमाडौं महानगरपालिका– २ घर भएका ५६ वर्षीय सुजनकुमार उप्रेती पक्राउ परेका हुन् । उल्लेखित व्यक्तिहरू केही प्रतिनिधि पात्र मात्र हुन् । 

यसरी वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै करोडौं रकम ठगी हुने गरेको छ । त्यस्ता ठगीमा नेपाल प्रहरीले दैनिकजसो पक्राउ गरिरहेको छ । यही वैशाख महिनामा मात्र विभिन्न १३ जना व्यक्तिले १ करोड ४३ लाख ८५ हजार रुपैयाँ ठगी गरेको तथ्यांक प्रहरीमा छ । प्रहरीको नजरमा परेका १३ जनाले २२ जनाबाट १ करोड ४३ लाख ८५ हजार ठगी गरेका छन् । विदेशमा आकर्षक तलव सुविधाको प्रलोभनमा दैनिकजसो व्यक्तिहरू ठगिएका घटनाहरू बाहिरिए पनि बेरोजगारीको समस्याका कारण विदेशको चक्करबाट टाढा रहन सकेका छैनन् ।

ठगिएकामध्ये कतिपय पीडित प्रहरी समक्ष पुगेका भए पनि केही पीडितहरू अझै प्रहरीसम्म पुग्न नसकेका पनि छन् । दैनिकजसो ठगीमा पर्नेको संख्या घट्न नसक्नुका मुख्य कारण बेरोजगारीको समस्या र वैदेशिक रोजगारीको प्रलोभन भएका नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले बताए । 

वैशाख महिनामा २२ जना व्यक्तिहरू ठगीमा परेका उनको भनाइ छ ।  ‘प्रहरीले वैशाख महिनामा वैदेशिक रोजगारीको प्रलोभनमा ठगी आरोपमा १३ जनालाई पक्राउ गरेको छ’, उनले मध्यान्हसँग भने, ‘उनीहरूले २२ जनाबाट १ करोड ४३ लाख ८५ हजार रुपैयाँ ठगी गरेको उजुरी छ ।’

ADV

सम्बन्धित खबर