२०८२ वैशाख १९ गते शुक्रवार / May 02 , 2025 , Friday
२०८२ वैशाख १९ गते शुक्रवार
Ads

‘श्रम संसार’ पोर्टलको सुरुवात, वैदेशिक रोजगारका सूचना र जानकारी पालिकास्तरसम्म

२०८२ वैशाख १९ गते ०६:१५
‘श्रम संसार’ पोर्टलको सुरुवात, वैदेशिक रोजगारका सूचना र जानकारी पालिकास्तरसम्म

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रम संसार’ पोर्टलको सुरुवात गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा श्रम संसार पोर्टलको शुभारम्भ गरे । राष्ट्रिय परिचयपत्रसँग जोडिने पोर्टलमा वैदेशिक रोजगार विभागले जारी गर्ने श्रम स्वीकृतिको विवरणसहित वैदेशिक रोजगार प्रशासनका सबै सूचना तथा जानकारी रहने मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले आगामी दशकलाई आन्तरिक समृद्धि प्रवद्र्धनको दशक बनाउने भएकाले सबैले सहयोग र समन्वय गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा रहने सम्पूर्ण श्रमजीवी नेपालीमा शुभकामना व्यक्त गर्दै अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ)ले यस वर्षका लागि तय गरेको ‘सेफ्टी एन्ड हेल्थ अफ वर्कर, डिजिटलाइजेसन एन्ड द फ्युचर अफ वर्क’ नारा नेपालका लागि पनि सान्दर्भिक रहेको उल्लेख गरे ।

आइएलओले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता नयाँ प्रविधिको प्रयोग गरी श्रमिकको स्वास्थ्य र सुरक्षामा गर्न सकिने विषय पनि अघि सारेको भन्दै प्रधानमन्त्री ओलीले श्रम संसार पोर्टलले श्रम तथा रोजगारको माग तथा आपूर्ति विश्लेषण, रोजगारीमा आबद्धता, रोजगारदाता संस्थाको नियमनलगायतका विषयको लाभ जनस्तरसम्म पुर्‍याउन सहयोगी हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले नागरिकमा श्रमको सम्मान गर्ने बानीको विकास हुने र रोजगारदातालाई योग्य जनशक्तिको उपलब्धता सुनिश्चित हुने भन्दै श्रम, रोजगारीका सबै अवसर आमनागरिकसम्म पुग्नुपर्ने र वैदेशिक रोजगारमा देखापरेका चुनौति नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम संसार पोर्टल संचालन भएसँगै रोजगारीका लागि भनसुन गर्ने र त्यसकै आधारमा रोजगारी पाइने स्थितिको अन्त्य हुने बताए ।

मन्त्री भण्डारीले सार्वजनिक पोर्टलबाट श्रम बजारमा रहेका रोजगारी, तालिम तथा उद्यमशीलताका सूचना संघीय तथा प्रदेश सरकारको समन्वयमा पालिकामा रहेका रोजगार सेवा केन्द्रमार्फत संचालन हुने जानकारी पनि दिए ।

उनले सीपमूलक तालिमबारे जानकारी लिएर त्यसमा सहजरूपमा आवेदन दिन सकिने र रोजागार आकांक्षीले पनि आफ्नो योग्यता र सीपको विज्ञापन गर्नसक्ने जानकारी दिए । 

यसैबीच श्रममन्त्री भण्डारीले स्वदेश तथा विदेशमा रहेका श्रमिकहरूलाई प्रविधिको दुरुपयोग, अकाल मृत्यु र ऋणको जालोबाट मुक्त गर्न सक्नुपर्ने बताएका छन् । १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री भण्डारीले श्रमिकहरूको अधिकार, सुरक्षाको प्रत्याभूति तथा वैदेशिक रोजगारीमा पारदर्शिता कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

सन्देशमा मन्त्री भण्डारीले डिजिटल ट्र्याकिङ प्रणाली, डेस्क टु डेस्क सेवा, मोबाइल एप्लिकेसनमार्फत सेवा प्रवाह र श्रमिक कल्याण कोषलाई थप प्रभावकारी बनाउने योजना रहेको उल्लेख गर्दै वैदेशिक रोजगारका लागि तयार पारिएको ‘स्मार्ट नेपाल र स्मार्ट श्रमिक’ कार्यक्रमले दीर्घकालीन सुधार ल्याउने विश्वास व्यक्त गरेका छन् ।

श्रम मन्त्रालयले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिँदै सन्देशमा मन्त्री भण्डारीले आगामी दिनमा वैदेशिक रोजगारका नयाँ गन्तव्य थप गर्दै प्रवासी श्रमिकहरूको समस्या समाधान गर्ने रणनीति अघि बढाइएको उल्लेख गरेका छन् ।

सन्देशमा मन्त्री भण्डारीले श्रमिकको अधिकार, सामाजिक न्याय र समावेशी समृद्धिका लागि सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् ।

ADV

सम्बन्धित खबर