२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

कुकुरको बन्ध्याकरण अभियान सुरु

सुर्य प्रसाद भुसाल
२०८१ चैत १ गते २०:२६
कुकुरको बन्ध्याकरण अभियान सुरु

अर्घाखाँची : छाडा कुकुरको विगविगी बढ्न थालेपछि अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले बन्ध्याकरण अभियान सुरू गरेको छ । सन्धिखर्क बजार तथा आसपासका क्षेत्रमा छाडा कुकुर बढेपछि नियन्त्रण गर्न पहिलो चरणमा ३ दिने बन्ध्याकरण अभियान सुरू गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख  कृष्णप्रसाद श्रेष्ठले बताए ।  

बिहान र रातिको समयमा बाटोमा हिँड्ने व्यक्ति, बालबालिका तथा पशुचौपायलाई छाडा कुकुरले जथाभावी टोक्ने र सडकमा दुर्घटना गराउने जोखिम बढेकाले पहिलो चरणको शिविरबाट २  सय २० कुकुरको बन्ध्याकरण गर्न शिविर संचालन गरिएको नगरपालिकाले जनाएको छ ।

बन्ध्याकरण अभियानलाई क्रमशः १२ वटै वडामा लैजाने नगरप्रमुख  श्रेष्ठले बताए । ‘नगरभित्रका १२ वटै वडामा रहेका सम्पूर्ण कुकुरलाई बन्धाकरण तथा रेबिजविरुद्वको सुइ लगाइनेछ,’ प्रमुख श्रेष्ठले भने,‘कुकुरको आतंक बढ्यो, सडक दुर्घटनाको पनि सम्भावना बढेपछि यो अभियान चलाएका हौं ।’

नगरपालिकाको वडा नम्बर १  मा रहेको  चिस्यान केन्द्र भवनमा  संचालन गरिएको शिविर ३ दिनसम्म चल्नेछ । बन्ध्याकरण शिविरमा कुकुरको खानाको व्यवस्था नगरपालिकाले नै गरेको छ । ‘वातावरण तथा सामाजिक रुपान्तरण लागि युवा’ नामक संस्था रुपन्देहीले प्राविधिक सहयोग गरेको शिविरमा आर्थिक सहयोग नगरपालिकाले गरेको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले  जानकारी दिए ।

भुस्याहा कुकुरहरूमा स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसनले रेबिज रोग तथा अन्य पशुबाट सर्ने रोगको अन्त्य गर्न पनि सहयोग पुग्ने पायनल्स एनिमल हस्पिटलका पशु चिकित्सक डाक्टर  सन्दीप भट्टराईले जानकारी दिए ।

अहिले सदरमुकाममा सबैभन्दा  जल्दा बल्दो  समस्याका रूपमा  कुकुरहरु देखा परेको हुँदा त्यस्ता स्थायी रूपमा बन्ध्याकरण तथा रेबिज खोप शिविर सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको भनाइ छ । 

विगतको वर्षमा पनि शिविर सञ्चालन गरिँदै आएको छ । शिविरमा कुकुरलाई समाउने, बेहोस पार्ने गरेर बन्ध्याकरण गर्ने  र पछि  खाना खुवाउने रेखदेख,  औषधि उपचार समेत गरिने सन्धिखर्क नगरपालिका १ का वडाध्यक्ष माधव श्रेष्ठले बताए ।

सन्धिखर्क नगरपालिकाभित्रका मुख्य सडक तथा शाखा सडकहरूमा छाडा कुकुरहरूको आतंक बढेको तथा कुकुरले पशु चौपायालाई हमला गर्ने घटना धेरै भएकाले बन्ध्याकरण शिविर सञ्चालनपछि यस्ता समस्याको समाधान हुने नगरपालिकाका पशु शाखा प्रमुख नारायण खनाललेजानकारी दिए ।

ADV

सम्बन्धित खबर