काठमाडौं : सांसदहरूले पूर्वाधार विकासमा जोड दिएका छन् ।
नेपाल पूर्वाधार पत्रकार समाजसँगको सहकार्यमा काठमाडौंमा पूर्वाधार विकास समितिले सोमबार आयोजना गरेको नेपालमा पूर्वाधार विकास र संसदीय निगरानी विषयक अन्तरक्रिया कार्यक्रममा संसदको पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले आयोजना पार्न र चुनाव जित्नमा सांसदहरू केन्द्रित भइरहेको बताए ।
योजना स्थानीय आवश्यकताभन्दा पनि राजनीतिक इच्छा शक्तिमा आउँदा त्यसको सहि कार्यान्वयन हुन नसकेको सभापति सिंहले बताए । ‘आयोजनालाई पार्टी केन्द्रित गर्दा छोटो हुने बाटो लामो बन्न पुगेका छन् । माननीयज्यूहरूले आफ्नै पार्टीको निर्णयलाई गलतलाई गलत भन्न सक्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा पूर्वसचिव एवं पूर्वाधार विज्ञ इन्जिनियर किशोर थापाले पूर्वाधारमा संसदीय निगरानी विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले पूर्वाधार आफैंमा विकास नभइ विकासका लागि पूर्व सर्त भएको बताए । उनले अहिलेको पूर्वाधारमा भइरहेको बजेट विनियोजन अपर्याप्त भएको उल्लेख गरे । ‘अहिले पूर्वाधारमा मात्रै २० खर्बको लगानी चाहिएको छ । तर, बजेटले मुस्किलले ४ खर्ब छुट्याउँछ । खर्च भने करिब २ खर्बको हुन्छ । कसरी दिगो विकास लक्ष्य पूरा हुन्छ?’ उनको प्रश्न थियो ।
कार्यपत्रमा पूर्व सचिव थापाले आयोजना छनोटका लागि हुने प्रतिस्पर्धादेखि निर्माण सम्पन्नसम्मको पारदर्शितामा संसदीय निगरानी आवश्यक रहेको औंल्याए ।
नीति निर्माताहरूले नीति कै कारण आयोजनामा कहाँ समस्या छ, कसरी सहज बनाउन सकिन्छ सम्मको जानकारी लिन आवश्यक रहेको बताए । आयोजनामा अन्तर निकाय समन्वय र सहकार्यका लागि औंल्याउने निकाय पनि सांसद र संसदीय समिति भएको उनको भनाइ थियो ।
सांसद माधव सापकोटाले स्रोतको उपलब्धता र देशको आवश्यकताका आधारमा आयोजना छनौट गर्ने विषयमा अझै मन्त्रालय हाबी हुने गरेको बताए ।
सांसद ठाकुर गैरेले आयोजना चक्र पूरा गरेर सम्पन्न भएका आयोजना कति होलान् भन्ने तथ्यांक नभएको बताए । उनले २० खर्ब लगानीको आवश्यकतामा ४ खर्ब विनियोजन हुन्छ र योजना चक्र नपुगेका आयोजनमा बजेट विनियोजन हुँदा प्रभावकारिता समस्या भएको बताए चक्रअनुसार मात्र आयोजनाको सुरुवात हुनुपर्नेमा उनको जोड थियो ।