लुम्बिनी : लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । बौद्ध अध्ययन सङ्कायअन्तर्गत स्नातकोत्तर तह र छोटो अवधिका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्न लागेको हो ।
विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले सोमबार लुम्बिनीमा आयोजित एक कार्यक्रमबीच क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापनाको घोषणा गर्नुभयो । क्यालिफोर्नियाबाट छोटो अवधिको बौद्ध अध्ययनका लागि आएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदानका लागि आयोजित कार्यक्रममा उहाँले केही सातामै भर्ना प्रक्रिया सुरु गर्ने बताए ।
विश्वविद्यालयले क्यालिफोर्नियामा बौद्ध अध्ययनका शैक्षिक कार्यक्रम सञ्चालनका लागि इन्लाइट इन्टरनेसनल जेन मेडिटेसन सेन्टरसँग सहकार्य सम्झौता गरेको छ । सोही सेन्टरबाट छोटो अवधिको शैक्षिक कार्यक्रमका लागि २५ जना विद्यार्थी लुम्बिनी आएका हुन् । उनीहरूले २ क्रेडिटको कक्षा लिएका छन् ।
त्यसअवसरमा विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले अन्तरराष्ट्रिय सम्बन्ध विस्तारका लागि ४० भन्दा बढी संस्थाहरुसँग सहकार्य सम्झौता गरी अघि बढेको बताए ।
अन्तरर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणाअनुसार स्थापित भएको विश्वविद्यालयले बौद्ध शिक्षालाई विश्वभर फैलाउनका लागि अध्ययन केन्द्रहरू स्थापना गर्दै जाने पनि उनले उल्लेख गरे ।
बौद्ध अध्ययन सङ्कायका डिन डा. माणिकरत्न शाक्यले छोटो अवधिको शैक्षिक कार्यक्रममा विदेशी विद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताए । अमेरिकाका विद्यार्थीहरूले बौद्ध अध्ययनका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय रोजेको उनको भनाइ छ ।
इन्टरनेसनल जेन मेडिटेसन सेन्टर क्यालिफोर्नियाकी प्रमुख भिक्षुणी नेले लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गर्न पाउँदा आफूहरू उत्साहित भएको बताए ।
विश्वविद्यालयले बौद्ध अध्ययन सङ्कायअन्तर्गत विभिन्न छोटो अवधिका शैक्षिक कार्यक्रमहरू घोषणा गरेको छ । ३ दिनदेखि १५ दिनसम्मका शैक्षिक कार्यक्रमहरु प्राज्ञिक परिषद्बाट स्वीकृत गरी लागू गरिएको डिन शाक्यले बताए ।
बौद्ध अध्ययन, लुम्बिनीको चिनारी, विपश्यना ध्यानसहितको पाठ्यक्रम डिजाइन गरिएको छ ।