२०८२ वैशाख ३० गते मङ्गलवार / May 13 , 2025 , Tuesday
२०८२ वैशाख ३० गते मङ्गलवार
Ads

जंगली जनावरको आतंक रोक्न तारजाली जडान गरिँदै

मध्यान्ह
२०८१ फागुन १८ गते १०:४०
जंगली जनावरको आतंक रोक्न तारजाली जडान गरिँदै

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाको जंगली जनावर प्रभावित क्षेत्रमा मेसवायर (तारजाली) जडान सुरु गरिएको छ । पाँच दशमलव ८८ किलोमिटर क्षेत्रमा मेसवायर जडान हुन लागेको हो । जंगली जनावर प्रभावित वडाका रूपमा परिचित वडा नं ८ र वडा नं १२ मा मेसवायर जडान भइरहेको नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख दीपक धामीले बताए । यसका लागि नगरपालिका र सुदूरपश्चिम प्रदेशले आधा-आधा रकम व्यहोर्ने गरी लागत साझेदारी गरेका छन् ।

प्रदेश सरकारको समपूरक अनुदान रु. ७५ लाख र नगरपालिकाको रु. ७५ लाख गरी रु. एक करोड ५० हजारमध्ये रु. ९५ लाखमा मेसवायर जडानका लागि पशुपति एण्ड भुवनेश्वरी सप्लायर्ससँग ठेक्का सम्झौता भएको शाखा प्रमुख धामीले बताए ।

उनका अनुसार मेसवायर जडानको हालसम्म दुवै वडामा गरी ५१ प्रतिशत कार्य प्रगति भएको छ । वडा नं १२ मा कुण्डा टोलबाट कालागौँडीसम्म दुई हजार नौ सय मिटर र वडा नं ८ मा वडा कार्यालयबाट दक्षिणतर्फ गरी दुई हजार नौ सय मिटर मेसवायर जडान हुने भएको छ ।

“वडा नं १२ मा मेसवायर जडान  ६० प्रतिशत जति सकिएको छ”, उनले भने, “दुई किलोमिटर मेसवायर जडान भइसकेको छ, नौ सय मिटर मात्र जडान गर्न बाँकी छ, वडा नं ८ मा एक किलोमिटर जति मेसवायर जडानको कार्य पूरा भएको छ भने एक किलोमिटर नौ सय मिटर मेसवायर जडान हुन बाँकी छ ।” दुई महिनाभित्र मेसवायर जडानको काम पूरा गर्ने लक्ष्य लिइएको छ ।

“हात्ती, निलगाई, चित्तल, बँदेललगायत जंगली जनावरले खेतबारीमा पसेर लगाएको बालीनाली सबै सखाप पार्दै आएका छन्”, वडा नं १२ का बासिन्दा गेंदुराम रानाले भने, “मेसवायर जडानकार्यले जंगली जनावरको आतंक रोकिनेमा विश्वस्त छौँ ।” वडाध्यक्ष नबलसिंह रानाले हात्तीले यस क्षेत्रमा स्थानीय किसानको बालीनालीमा क्षति पुर्‍याएका साथै मानवीय र भौतिक क्षति प्रत्येक वर्ष निम्त्याउँदै आएकाले त्यसलाई रोक्न मेसवायर जडान भइरहेको बताए ।

मेवायर जडानकार्यले हात्ती नियन्त्रण हुनुका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउका बस्तीमा हिंस्रक बाघ, चितुवालगायत जनावरले किसानले पालेका घरपालुवा जनावरमा पुर्‍याउँदै आएको क्षति कम गर्नमा सघाउ पुग्ने उनले बताए । वडा नं ८ मा हात्ती र जंगली बँदेलले किसानलाई बर्सेनि निकै हैरानी दिँदै आएकामा त्यसलाई रोक्न मेसवायर जडानले सहयोग पुर्‍याउने वडाध्यक्ष बहादुरसिंह महरा बताउँछन् ।

यसअघि जंगली जनावरलाई बस्तीमा छिर्नबाट रोक्नका लागि नगरपालिको ठाउँ ठाउँमा साइरन जडान गर्नुका साथै उज्यालोका लागि बत्ती जडान गरेको छ । नगरपालिकाको वडा नं ७ र ६ मा विभिन्न दातृ निकायको सहयोगमा मेसवायर जडान गरिएको छ भने वडा नं ५, ४, ३, २ र १ मा मेसवायर जडानका लागि कार्य अगाडि बढाइने बताइएको छ ।

नगरपालिकाको उत्तर, दक्षिण, पश्चिमतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएको छ भने पूर्वतर्फ लालझाडी संरक्षण क्षेत्र र सामुदायिक वनसँग सीमा जोडिएको छ । चारैतिर ठुल्ठूला वनको सीमा जोडिँदा नगरपालिकाका सबै वडा जंगली जनावरबाट प्रभावित हुँदै आएका छन् ।

ADV

सम्बन्धित खबर