काठमाडौं : लाओस–थाइल्यान्ड सीमा क्षेत्रमा आपराधिक समूहले गैरकानुनी रूपमा संचालन गरेका अनलाइन स्क्यामिङ कार्यमा जबरजस्ती काममा लगाइएका ५ नेपाली नागरिकको उद्धार गरिएको छ ।
आकर्षक तलब सुविधाको लोभमा पारेर भिजिट भिसा प्रयोग गरी त्यहाँ पुर्याइएका नेपालीलाई थाइल्यान्डको मेवाडीबाट उद्धार गरी नेपाल फर्काइएको हो । बैंककस्थित नेपाली राजदूतावासले थाइल्यान्ड सरकारको सहयोगमा म्यान्मारको मेवाडीबाट उद्धार गरी ४ पुरुष र १ महिला नेपाल पठाएको बताएको छ ।
समाचार संस्था एएफपीका अनुसार आपराधिक गिरोहहरूविरुद्व त्यस क्षेत्रमा हाल ठूलो आकारको अपरेसन चलाइएको छ । विशेषगरी चिनियाँ मूलका आपराधिक गिरोहले चिनियाँ नागरिकसहित अन्य मुलुकका विदेशी कर्मचारीहरू राखेर चिनियाँ, भारतीय र विश्वका अन्य धनाढ्यहरूलाई लक्षित गरी खेल सट्टेबाजी, क्रिप्टो करेन्सी र लगानी परियोजनाको प्रलोभनमा पारी जबरजस्ती अनलाइन ठगीको काममा लगाउने गरेकोे खुलेको छ ।
गत बिहीबारको अपरेसनमा ती अवैधानिक केन्द्रहरूबाट ३०० चिनियाँ नागरिकहरूलाई मुक्त गरिएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अनलाइन स्क्याम केन्द्रहरूमा गरिएको अपरेसनलाई चीन, म्यान्मार र थाइल्यान्डबीचको ‘गर्जन शैलीको सहयोग’ भनी प्रशंसा गरेका छन् । चीनले अनलाइन जुवा र टेलिकम ठगीविरुद्ध लड्न यस प्रकारका अपरेसन आवश्यक भएको बताएको छ ।
अवैधानिक अनलाइन केन्द्रहरूबाट मुक्त भएका धेरैले उनीहरूलाई उनीहरूको इच्छाविपरीत थुनेर काममा लगाएको बताएका छन् । थाइल्यान्ड सरकारले स्वदेश फिर्ता गरिएका चिनियाँ नागरिकहरूबाट बायोमेट्रिक डाटा संकलन गरिने बताएको छ ।
थाइल्यान्डलाई अपराध ट्रान्जिट हबको रूपमा दुरुपयोग रोक्न बायोमेट्रिक डाटा लिन लागेको उसले बताएको छ । थाई प्रधानमन्त्री पाइतोङटार्न सिनवात्राले पनि बिहीबार लाओसका समकक्षीसँग भेटेर उनीहरूको साझा सीमामा अनलाइन स्क्याम केन्द्रहरूविरुद्ध लड्न साझा प्रयासहरूबारे छलफल गरेको बताइएको छ ।
बैंककस्थित नेपाली राजदूतावासले नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने उद्देश्यले कम्बोडिया, लाओस, म्यान्मार र थाइल्यान्डलगायतका देशमा वैदेशिक रोजगारीमा नआउनका अनुरोध गरेको छ ।