कास्की : वैदेशिक रोजगारी तथा व्यवसायको सिलसिलामा कास्की जिल्लाबाट कतारमा कार्यरत कस्केलीहरूको साझा सामाजिक संस्था कास्की आदर्श समाज कतारले पोखरामा स्रष्टा सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम मार्फत विभिन्न क्षेत्रका ५ जना कस्केली स्रष्टाहरूलाई नगदसहित सम्मान गरिएको छ ।
सम्मानित हुनेमा स्वास्थ्य क्षेत्रमा योगदान दिएको भन्दै वरिष्ठ मुटु रोग विशेषज्ञ डिएम डाक्टर सूर्य देवकोटा, पत्रकारिता क्षेत्रमा दीर्घ सेवा गरेको भन्दै पत्रकार राजबहादुर गुरुङ, शिक्षा क्षेत्रमा चतुरमान श्रेष्ठ, साहित्य क्षेत्रमा योगदान दिएको भन्दै छविलाल आचार्य र कला क्षेत्रमा योगदान दिएको भन्दै चलचित्र निर्देशक माओत्से गुरुङलाई सम्मान गरिएको हो ।
सम्मानित स्रष्टाहरूलाई कार्यक्रमका प्रमुख अतिथि कास्की क्षेत्र नं. ३ का संघीय सांसद दामोदर वैरागीसहित विशेष अतिथिहरू कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रेस सल्लाहकार गंगाधर पराजुली, सल्लाहकार तिलकशाली सापकोटा, उपाध्यक्ष सन्तोष तिमिल्सिना र समाजको कतार समितिका उपाध्यक्ष कृष्ण भण्डारी लगायतले दोसल्ला, सम्मान पत्र र जनही नगद १० हजार रुपैयाँले सम्मान गरेका थिए । यसैगरी कार्यक्रममा समाजका सदस्यका छोराछोरीहरूमध्ये गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने सविन कुमार भण्डारीलाई प्रसंशापत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिलाई पनि धन्यवादसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि वैरागीले समाज कतारले गरेका कामहरू अनुकरणीय रहेको भन्दै प्रशंसा गरे । उनले विदेशमा सिकेको सीप र अनुभव नेपालमा प्रयोग गर्नका लागि आग्रह समेत गरे । समाज कतारका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक कृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समापन गर्दै भण्डारीले उपस्थित सबैप्रति हार्दिक आभार एवं नमन गर्दै कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण विश्व बन्धु थापाले गरेका थिए ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसी, सहित सम्मानित व्यक्तित्वहरू डा. सूर्य देवकोटा, चतुरमान श्रेष्ठ, छविलाल आचार्य र राजबहादुर गुरुङले पनि समाजका गतिविधिको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा अनुष्का बिक, कृपा सुनार, शर्मिला बिक, रुपेश भण्डारी, पुष्पा सुनारलगायतले गीत र नृत्य प्रस्तुत गरेका थिए ।