२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

अखिल क्रान्तिकारीमा अर्को लफ्डा सुरु, कार्यक्रम बहिष्कार गर्ने ६ प्रदेश अध्यक्षको चेतावनी (पत्रसहित)

मध्यान्ह
२०८१ माघ २२ गते १६:५९
अखिल क्रान्तिकारीमा अर्को लफ्डा सुरु, कार्यक्रम बहिष्कार गर्ने ६ प्रदेश अध्यक्षको चेतावनी (पत्रसहित)

काठमाडौं : उमेर हदको विवादमा रुमलिएर बल्लतल्ल नेतृत्व चयन गरेको अखिल (क्रान्तिकारी) मा फेरि वरीयताको लडाईं सुरु भएको छ ।

केन्द्रका अध्यक्ष भन्दा प्रदेशका अध्यक्षहरु सिनियर हुँदा वरीयतामा तल परेको भन्दै ९ मध्ये ६ जना प्रदेश अध्यक्षले नीतिगत त्रुटी सच्याउन माग गर्दै अखिल क्रान्तिकारी केन्द्रीय कार्यालयका फ्राक्सन इन्चार्जलाई पत्र लेखेका छन् । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्षहरूले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै विधानमा भएको नीतिगत त्रुटि सच्चाई दिनुपर्ने माग राखेका छन् ।

क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन अगाडि नै क्याम्पस इकाइ समिति, स्थानीय तहका सम्मेलन, जिल्ला सम्मेलन, प्रदेश सम्मेलन (केही बाहेक) सम्पन भएको थियो । संगठनले दिएको निर्देशन बमोजिम सो कार्य सम्पन्न गरेको र उमेरहदबारे संगठनले स्पष्ट निर्णय नगरेको अवस्थामा प्रदेश अध्यक्ष र पदाधिकारीहरू प्रदेश समितिमा निर्वाचित भएका थिए । तर, पछि मतदानमार्फत क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लागू भयो । अहिले सोही विवाद बल्झिएका हो ।

उमेरहद लागू भए पश्चात राजनीतिक पृष्ठभूमिमा प्रदेश अध्यक्ष र पदाधिकारीहरू भन्दा जूनियर साथीहरूले केन्द्र कै पदाधिकारीमा विजय हासिल गर्नु स्वभाविक नै भएको उनीहरूको बुझाइ छ ।

‘तर, उमेरहदबारे निर्णय स्पष्ट नभएको अवस्थामा हामी सिनियर साथीहरू प्रदेश कमिटीमै रहनुपर्ने बाध्यकारी अवस्था थियो र सोही अनुसार हामी सबै अघि बढेका थियौँ । त्यसकारण अहिलेको परिस्थिति विशेष निर्णय गर्दै संगठनले प्रदेश अध्यक्षहरूलाई केन्द्रको उपाध्यक्ष सोसरह र प्रदेशको उपाध्यक्ष, प्रमुख सचिवसम्मलाई उपमहासचिव सोसरह र अन्य पदाधिकारीलाई सचिब सोसरह हुने व्यवस्था कायम गरी विधान सच्याउन जोडदार माग गर्दछौं’, ६ प्रदेश अध्यक्षले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले नीतिगत त्रुटी नसच्याइए कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका छन् । ‘हामी माथि हुन गएको अन्यायलाई छिटो भन्दा छिटो सम्बोधन गरी परिपत्र जारी गर्न अनुरोध गर्दछौं अन्यथा हामी प्रदेश अध्यक्षहरू कुनै पनि कार्यक्रममा सहभागी हुने छैनौं । पदाधिकारी बैठक, सपथ ग्रहण कार्यक्रम, स्ववियु कार्यशाला गोष्ठी लगायत कुनै पनि कार्यक्रममा सहभागी हुने छैनौं । र केन्द्रीय पदाधिकारीहरूलाई प्रदेशको कुनै पनि कार्यक्रममा हामी सहभागी गराउने छैनौँ भन्ने कुराको जानकारी जानकारी गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ ।


 

ADV

सम्बन्धित खबर