काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा हिनामिना गर्ने जो कोही भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
त्रिविको जग्गा खोजबिन आयोगको प्रतिवेदन बुझेको भोलिपल्ट प्रधानमन्त्री ओलीले जग्गा त्रिवि मातहत ल्याउने र हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन् ।
त्रिविको जग्गा खोजबिन गर्न गठित समितिले मंगलबार प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको थियो । मंगलबार ओलीले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ । त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन् ।’
‘आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ । हात हालेपछि यसलाई टुंगोमा पुर्याएरै छाडिने छ,’ प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ । अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।