काठमाडौँ : मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ ।
बैंकले ऋण असुल गर्न ताकेता गरेपछि प्रसाईंले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए ।
मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गरेको हो ।यससँगै उनले बैंकबाट लिएको ऋण असुलीको बाटो खुलेको छ ।
कुमारी बैंकको विर्तामोड शाखासहित ४ वटा बैंकविरुद्ध प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले दायर गरेको रिट खारेज भएपछि अब बैंकलाई ऋण असुल गर्ने बाटो खुलेको छ ।
प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि ४ वटा बैंकबाट ऋण लिएका थिए । पछिल्लो दुई वर्षयता उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने र मिनाहा हुने अभिव्यक्ति दिँदै आएका छन् ।