काठमाडौं : नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने दोहोरिएका छन् । लामिछाने आगामी कार्यकालका लागि पनि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
मनोनयनपछि कुनै पनि पदमा दाबी विरोध र उजुरी नपरेपछि लामिछाने दोस्रो कार्यकाल पनि निर्निरोध हुँदै उनको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको छ ।
उपाध्यक्षमा फूर्वा छिरिङ लामा, महिला उपाध्यक्षमा सविना सिंह महर्जन, सचिवमा मिनकाशी गुरुङ, कोषाध्यक्षमा मालती घले र सहसचिवमा तिलबहादुर गुरुङ चयन भएका छन् ।
यस्तै सदस्यमा सेराप गुरुङ, सुरेश कुमार थापा, उषा ठकुरी र दुर्गा घले चयन भएका छन् ।
हिमाली जिल्ला मनाङमा विगत १८ वर्षदेखि पत्रकारिता गर्दै आएका अध्यक्ष लामिछाने राष्ट्रिय समाचार समिति (रासस)कर्मी हुन् । उनी नवीन अंकुरको नामले पनि परिचित छन् ।
अत्यधिक चिसो मौसम रहने मनाङमा माइनस २० डिग्रीसम्म तापक्रम घट्ने गर्छ । तर लामिछाने यस्ता समस्यालाई छिचोल्दै विश्वकै सबैभन्दा उचाइमा रहेको मनाङको तिलिचो तालसम्म ४० पटकसम्म पुगेर रिपोर्टिङ गर्दै आएका छन् ।
मनाङमा रहेका विभिन्न किसिमका समस्या, त्यहाँका नागरिकले भोग्नुपरेका समस्यालगायतका विषयवस्तुलाई केन्द्रबिन्दुमा राखेर लामिछानेले आफ्नो कलम चलाउँदै आएका छन् ।