काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारी प्रक्रियाका कारण नेपालबाट वैधानिक रुपमा वैदेशिक रोजगारीमा जाने कामदारहरुले झन्झट व्यहोर्नु परेको बताएका छन् ।
आप्रवासी कामदारहरुको पक्षमा काम गरिरहेको गैर सरकारी संस्था पौरखी नेपालले आइतबार ललितपुरस्थित आयोगको कार्यकक्षमा आयोजना गरेको आप्रवासी कामदारको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष शर्माले वैधानिक रुपमा वैदेशिक रोजगारीमा जाने कामदारहरुले झन्झट व्यहोर्नु परेको भएपनि अवैधानिक रुपमा जानेहरुले भने कुनै झन्झट व्यहोर्नु नपरेको बताए । ‘नेपालबाट ‘लिगल’ रुपमा विदेशमा काम गर्न जान गाह्रो छ, जबकि ‘इलिगल’ भने धमाधम गइरहेका छन्’, अध्यक्ष शर्माले भने ।
आयोगले विगत केही समय अघिदेखि वैदेशिक रोजगारीमा जाने कामदारहरुको अधिकार सुरक्षाका विषयमा माग गरिरहेको भन्दै अध्यक्ष शर्माले सरकारले वैदेशिक रोजगारीमा रहेका आप्रवासी कामदारहरुले पठाएको विप्रेषणको हिसाब–किताबमात्र नगरी उनीहरुको सुरक्षामा विशेष ध्यान दिनुपर्ने आयोगको धारणा रहेको बताए ।
आयोगले कतारको राष्ट्रिय मानव अधिकार समितिसँग द्विपक्षीय सम्झौताका माध्यमबाट काम गरिरहेको जानकारी दिँदै अध्यक्ष शर्माले त्यस क्रममा कतारको राष्ट्रिय मानव अधिकार समितिका अध्यक्षले आफूसँगको छलफलमा कतार जाने नेपाली कामदारले झेल्ने समस्या मध्ये ७० प्रतिशत समस्या नेपालमा नै सिर्जना गरिएको धारणा राखेको बताए ।
वैदेशिक रोजगारीका लागि कतार जाने कामदारमध्ये अधिकांश निरक्षर रहने गरेको, उनीहरुमा भाषा लगायत सम्बन्धित कामको कुनै सीप नहुने गरेको कतारको राष्ट्रिय मानव अधिकार समितिका अध्यक्षले गुनासो गरेको भन्दै अध्यक्ष शर्माले सीप तथा भाषा जस्ता विषय नेपालमै सिकाएर पठाउन सकिने भएपनि सम्बन्धित पक्षले ध्यान नदिएको टिप्पणी गरे ।
त्यसैगरी अध्यक्ष शर्माले वर्तमान विश्वमा वैदेशिक रोजगारीलाई रोक्न नसकिने भन्दै उपयुक्त रोजगारी र अवसरको खोजीमा एक देशबाट अर्को देशमा जाने प्रवृत्ति विश्वव्यापी बन्न पुगेको भन्दै त्यसलाई अध्ययन अनुसन्धानका माध्यमबाट सहज बनाइनुपर्ने धारणा पनि राखे ।
आयोजक संस्था पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले महिलाको वैदेशिक रोजगारीलाई सुरक्षित राज्यका सबै निकायको दायित्व रहने भन्दै वैदेशिक रोजगारमा जाने मध्ये अधिकांश परिवार भित्रै हेपिएका, उपेक्षित गरिएका महिला हुने गरेकाले सुरक्षित वैदेशिक रोजगारी नै उनीहरुको हितमा हुने बताइन् ।
वैदेशिक रोजगारीमा जाने वाध्यताको कारणको खोजी नगरिएसम्म त्यसमाथि प्रतिबन्ध लगाउँदैमा समाधान नआउने भन्दै उनले स्वदेश वा विदेशका सम्मानजनका रोजगारी गर्ने महिलाहरुको संविधान प्रदत्त अधिकारको सुनिश्चितता गरिनु पर्ने माग गरिन् ।
कार्यक्रममा पौरखी नेपालका दीपक अर्यालले सञ्चालन गरेको सो कार्यक्रममा वैदेशिक रोजगारीमा गई स्वदेश फर्किएका खेत कुमारी घिमिरे, श्रीमाया लामा, सनिता लामा, सुनिता रुम्वा, मैती तामाङ, धनमाया घर्ति, विमला कार्की लगायतले वैदेशिक रोजगारीका क्रममा दलालबाट जाँदा भोग्नुपरेका समस्या सुनाएका थिए भने सुरक्षित आप्रवासन राष्ट्रिय सञ्जालका महासचिव अशोक राना, पौरखी नेपालकी कोषध्यक्ष कल्पना गिरी, जिफन्टकी प्रतिनिधि ज्ञानु केसी लगायतले वैदेशिक रोजगारमा नेपाली महिलाहरुले सामना गर्नु परेका समस्याहरुको चर्चा गर्दै संगठित हुनसके नेपालमै घरेलु कामदारको अवसर रहेको धारणा राखेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies