२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

नोभेम्बरमा काठमाडौंमा जापान रोजगार मेला हुने

Nada
२०८३ असोज ८ गते ०६:२०
Shares
नोभेम्बरमा काठमाडौंमा जापान रोजगार मेला हुने

काठमाडौं : आगामी नोभेम्बर महिनामा जापानका रोजगारदाता कम्पनीहरू तथा नेपालका वैदेशिक रोजगार व्यवसायी संस्थाहरूको संलग्नतामा नेपालमा जापान रोजगार मेला हुने भएको छ ।

ncell

नेपालमा रोजगार मेलाको सम्भावना अध्ययनका लागि नेपाल आएको जापानी व्यवसायी प्रतिनिधिमण्डल र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच बुधबार त्यस विषयमा पहिलो चरणको छलफल भएको छ ।

उक्त छलफलमा जापानका रोजगारदाता कम्पनीहरूको प्रत्यक्ष सहभागितामा नेपाली श्रमिकका लागि रोजगारीका अवसर सिर्जना गर्ने विषय प्राथमिकतामा राखिएको संघका महासचिव हिराबहादुर डाँगी (हरि)ले जानकारी दिए । यसपटक कृषि क्षेत्रका रोजगारदाता रोजगार मेलाका लागि आएको बताइएको छ ।

जापानी रोजगारदाता र नेपालका म्यानपावर कम्पनीबीच समन्वय तथा सहकार्य गर्ने सहमति भइसकेको र रोजगार मेलालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयका प्राविधिक पक्षहरू टुंगिएपछि आधिकारिक पत्र प्राप्त हुने महासचिव डाँगीले बताए ।

जापानमा सीपयुक्त दक्ष कामदारको माग बढेको र नेपालबाट ठुलो संख्यामा श्रमिक लैजान सकिने अवस्था देखेपछि जापानी रोजगारदाताहरू नेपालप्रति आकर्षित भएका छन् । यस अघि गत फेब्रुअरी अन्तिम  साता जापानको टोकियोमा रोजगार सम्मेलन भएको थियो ।

सन् २०१९ मा एसएसडब्लु नीति लिएको जापानले नेपालसहित फिलिपिन्स, इन्डोनेसिया, म्यानमार, चीन, कम्बोडिया, मंगोलिया, थाइल्यान्ड र भियतनामलगायतका देशबाट कामदार लगेको छ । जापानमा सन् २०३० सम्म ६४ लाखभन्दा बढी कामदारहरूको अभाव हुने आकलन गरिएको छ । उक्त अभावलाई पूर्ति गर्न जापानले तीन वर्षअघि नै विदेशी कामदार भर्नासम्बन्धी नयाँ नीति ल्याएको थियो ।

जापानमा औद्योगिक मेसिन उत्पादन उद्योग, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स उद्योग, नर्सिङ तथा स्याहार, भवन सरसफाइ र व्यवस्थापन, कच्चा माल उत्पादन उद्योगदेखि कृषि, मत्स्यपालन तथा अक्वाकल्चर, खाना तथा पेय पदार्थ उत्पादन, खाद्य सेवा, निर्माण, पानीजहाज निर्माण तथा मेसिनरी उद्योग, अटोमोबाइल मर्मतसम्भार, उड्डययन तथा होटलसम्बन्धी उद्योगमा विदेशी कामदारको माग रहेको बताइएको छ ।

सम्बन्धित खबर