
नवलपरासी : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासीमा पालिका तहको नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जिल्लाका सात स्थानीय तहमध्ये छ पालिकामा नेतृत्व चयन भइसकेको छ भने सुनवल नगरपालिकामा बिहीबारदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ ।
पाल्हिनन्दन गाउँपालिकाको सभापतिमा रविन्द्र सहानी निर्वाचित भएका छन् । सभापति पदका लागि भएको निर्वाचनमा सहानीले ८९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी दिनेशमणि पटेलले ४७ मत प्राप्त गरेका थिए । पाल्हिनन्दनमा कांग्रेसका १ सय ३६ जना क्रियाशील सदस्य रहेका थिए ।
सहमतिको प्रयास गरिए पनि सभापति पदमा दुई पक्षबीच सहमति जुट्न नसकेपछि मतदानमार्फत नेतृत्व चयन गरिएको हो ।
यसैगरी प्रतापपुर गाउँपालिकाको सभापतिमा केशव अधिकारी निर्वाचित भएका छन् । उनले ६२ मत प्राप्त गरी सभापति पदमा निर्वाचित भएका हुन् । प्रतापपुरमा पनि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको कांग्रेसका स्थानीय नेताहरूले बताएका छन् ।
जिल्लाका अन्य पालिकामा भने सहमतिबाटै नेतृत्व चयन गरिएको छ । सुस्ता गाउँपालिकाको सभापतिमा खेमानन्द न्यौपाने निर्विरोध चयन भएका छन् । बर्दघाट नगरपालिकाको नगर सभापतिमा शुकबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।
सरावल गाउँपालिकाको सभापतिमा महेन्द्र चौधरीलाई सर्वसम्मत चयन गरिएको छ । रामग्राम नगरपालिकाको सभापतिमा बलिराम यादव चयन भएका छन् ।
यससँगै पश्चिम नवलपरासीका छ स्थानीय तहमा कांग्रेसको पालिका नेतृत्व चयन प्रक्रिया पूरा भएको छ । अधिकांश पालिकामा सहमतिको प्रयास सफल भए पनि पाल्हिनन्दन र प्रतापपुरमा सभापति पदमा सहमति कायम हुन नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो ।
जिल्लाका सात स्थानीय तहमध्ये अब सुनवल नगरपालिकाको पालिका अधिवेशन मात्र सम्पन्न हुन बाँकी छ । सुनवलमा बिहीबारदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ ।
नगर सभापति पदका लागि यमलाल पाण्डे र यज्ञप्रसाद पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । दुवै उम्मेदवारले आ-आफ्नो पक्षबाट प्यानलसहित प्रतिस्पर्धाको तयारी गरेका छन् ।
सहमतिको प्रयास जारी रहे पनि सभापति पदमा दुई जनाको उम्मेदवारी कायम रहेकाले सुनवलमा निर्वाचनमार्फत नेतृत्व चयन हुने अवस्था बनेको छ ।
सुनवलको अधिवेशन सम्पन्न भएपछि जिल्लाका सातै स्थानीय तहमा कांग्रेसको पालिका तहको नेतृत्व चयन प्रक्रिया पूरा हुनेछ । पालिका अधिवेशनबाट चयन भएका सभापति तथा प्रतिनिधिहरूले पार्टीको आगामी महाधिवेशन प्रक्रियामा स्थानीय तहको प्रतिनिधित्व गर्नेछन् ।
पालिका तहको नेतृत्व चयनसँगै पश्चिम नवलपरासीमा कांग्रेसका क्षेत्रीय तथा अन्य अधिवेशनसम्बन्धी गतिविधि पनि अघि बढ्ने भएका छन् ।