२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

काठमाडौं महानगरपालिकाले सम्यक् महादान आयोजना गर्ने

Nada
२०८३ असोज ८ गते १७:२५
Shares
काठमाडौं महानगरपालिकाले सम्यक् महादान आयोजना गर्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले सम्यक् महादान आयोजना गर्ने भएको छ । महानगरले नेपाल संवत् ११४७ पोहेलाथ्व सप्तमी अर्थात आगामी माघ १ गते स्वयम्भू भुइँखेलमा सम्यक् महादान आयोजना गर्ने भएको हो ।

ncell

काठमाडौं महानगरपालिले बिहीबार एक विशेष कार्यक्रम गरी महादान गर्ने घोषणा गरेको हो । कार्यक्रममा काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख संयोजकत्वमा सम्यक् महादान मूल समारोह समिति पनि घोषणा गरिएको छ ।

सम्यक् महादान हरेक १२ वर्षमा आयोजना गर्ने परम्परा रहेपनि पछिल्लो २२ वर्षदेखि हुन सकेको छैन । नेपाल संवत् ११२५ (वि.सं. २०६१) पछि काठमाडौंमा यो पर्व आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख डंगोलले नयाँ पुस्तालाई प्राचीन सांस्कृतिक परम्परा र अमूर्त सम्पदाका बारेमा जानकारी दिन सम्यक् महादान गर्न लागेको बताइन् । उनकाअनुसार महानगरपालिकाले पछिल्लो समय मूर्त सम्पदाको संरक्षण र पुनर्निर्माणसँगै अमूर्त सम्पदाको संरक्षण तथा प्रवर्धनलाई पनि प्राथमिकता दिएको छ ।

महानगरपालिकाले हराउँदै वा लोप हुँदै गएका अमूर्त सम्पदालाई पुनर्जीवन दिने काम गरिरहेको उनको भनाइ छ । विभिन्न क्षेत्रका अनुभवी व्यक्तिसँगको सरसल्लाहमा पुराना संस्कृति तथा परम्पराको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयास भइरहेको उनले बताइन् ।

उनले लामो समयदेखि सम्यक् महादान आयोजना हुन नसक्दा नयाँ पुस्ताले यसको प्रत्यक्ष अनुभव गर्ने अवसर नपाएको उल्लेख गरिन् । पुस्तान्तरणका लागि कितावमा रहेको ज्ञान मात्र पर्याप्त नहुने भन्दै उनले जीवित परम्परालाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । उनले सम्यक् महादान अब हरेक १२ वर्षको अन्तरालमा गर्ने परम्परालाई निरन्तरता दिने दिन स्थानीय सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

महादान दुई दिन सञ्चालन हुने परम्परा छ । पहिलो दिन हनुमानढोकामा र दोस्रो दिन स्वयम्भू भुइँखेलमा मुख्य कार्यक्रम हुने व्यवस्था छ । महादानको तयारीका लागि गठन गरिएको सम्यक् महादान मूल समारोह समितिमा ३०१ सदस्य रहेका छन् । समितिको संयोजकमा प्रा.डा. नरेशमान बज्राचार्य छन् भने पाँच जना सहसंयोजक र ३७ जना पदाधिकारी छन् ।

कार्यक्रम व्यवस्थापनका लागि ३७ सदस्यीय निर्णय कार्यान्वयन समिति तथा विभिन्न विषयगत कामका लागि १३ वटा उपसमिति गठन गरिएको छ । सम्यक् महादान बौद्ध परम्परामा महत्वपूर्ण र दुर्लभ दान पर्वका रूपमा मानिन्छ । महादानका क्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका दीपंकर बुद्धका धातुमूर्तिसहित प्रमुख बौद्ध मन्दिरका देवदेवीलाई निमन्त्रणा गरी पूजापाठ, दान तथा दक्षिणा अर्पण गर्ने परम्परा छ ।

महादानमा नेपाल मण्डलका बज्राचार्य, बुद्धाचार्य, शाक्यभिक्षु तथा चैलक भिक्षुलगायत बौद्ध संघका सदस्यलाई दान अर्पण गर्ने परम्परा पनि रहेको छ । ठुलो संख्यामा दीपंकर बुद्धका धातुमूर्ति प्रदर्शन गरिने भएकाले यो पर्व धार्मिकसँगै सांस्कृतिक महत्वको उत्सवका रूपमा पनि परिचित छ ।

बौद्ध परम्परामा दानलाई महत्वपूर्ण अभ्यासका रूपमा लिइन्छ । नेपालमा पञ्चदान, ऐच्छिक पञ्जरा, नराँ पञ्जरा तथा निश्चित अन्तरालमा आयोजना हुने महा सम्यक दानजस्ता विभिन्न दान परम्परा प्रचलनमा छन् । तीमध्ये सम्यक् महादानलाई सबैभन्दा महत्वपूर्ण, कठिन र दुर्लभ मानिन्छ । ठुलो आर्थिक स्रोत, श्रम र व्यवस्थापन आवश्यक पर्ने भएकाले पछिल्लो समय महादान लोप हुँदै गएको छ ।

ताजा खबर

सम्बन्धित खबर