२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

ललितपुरमा श्रमाधान रोजगार मेला आजदेखि

Nada
२०८१ जेठ २९ गते ०६:४०
Shares
ललितपुरमा श्रमाधान रोजगार मेला आजदेखि

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज मंगलबारदेखि ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दै छ । दुई दिनसम्म चल्ने मेलाको शिक्षा, विज्ञापन तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उद्घाटन गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ ।

ncell

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सम्मेलनमा भाग लिन जेनेभा गएका कारण शिक्षामन्त्री श्रेष्ठले मेलाको उद्घाटन गर्ने भएकी हुन् । मेलाको विषयमा जानकारी दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका उपसचिव एवम् बागमती प्रदेशको श्रमाधान रोजागर मेलाका संयोजक डम्बर सुनुवारले रोजगारीको खोजीमा रहेका युवाका लागि श्रमाधान रोजगार मेला  महत्वपूर्ण रहेकोे बताए । उनले मेलाले तत्काल रोजगारी दिने मात्रै नभएर ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको निखारता ल्याउने बताए । 

त्यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर कँडेलले दैनिक वैदेशिक रोजगारीमा जाने युवा शक्तिलाई नेपालमा नै रोजगारीको अवसरको सम्भावना देखाउन मेला महत्वपूर्ण भएको बताए ।

ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा मंगलबार बिहान ११ बजे मेलाको उद्घाटन गरिने मन्त्रालयले जनाएको छ । मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एशोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी र नेपाल घरेलु तथा साना उद्योग महासंघले गर्नेछन् । मेला बुधबारसम्म सञ्चालन हुनेछ । मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल रहनेछन् ।

उता सोमबार सम्पन्न सुदूरपश्चिम प्रदेशको श्रमाधान रोजगार मेलामा रोजगारीका लागि चार हजार बढीको आवेदन परेको छ । मेलामा ११ सय ३३ जना रोजगारीका लागि छनोट भएका छन् । मेलामा ४ हजार एक सय ६६ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । मेलामा १० हजार बढीले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर