२०८३ मंसिर १४ गते सोमवार / Nov 30 , 2026 , Monday
२०८३ मंसिर १४ गते सोमवार

प्रधामन्त्रीको निकटताका आधारमा दोषीलाई उन्मुक्ति दिन मिल्दैन : गगन थापा

Nada
२०८३ मंसिर १३ गते १३:२०
Shares
प्रधामन्त्रीको निकटताका आधारमा दोषीलाई उन्मुक्ति दिन मिल्दैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री, मन्त्री, राजनीतिक आस्था र निकटताका आधारमा दोषीलाई उन्मुक्ति दिन नमिल्ने बताएका छन् । पार्टी मुख्यालय सानेपामा जारी ‘हामी तयार छौं’ अभियान अन्तर्गतको स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

गलत क्रियाकलाप गर्ने सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने उनले बताए । कांग्रेसका नेता तथा कार्यकर्ताले गलत गरेको भएमा आफूहरु कारबाही गर्न सहयोग गर्ने तर पूर्वाग्रह वा दुराग्रह राखेमा आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।

कांग्रेसमा आबद्ध भएकै आधारमा केही नेताहरुलाई राज्यबाट पूर्वाग्रह, दूराग्रह वा अत्याचारको शिकार बनाउन खोजिएको शंका पैदा भएको उनको भनाइ छ । उनले सत्तारुढ दल रास्वपाका नेता तथा कार्यकर्ताको हकमा पनि यही सिद्धान्त लागू हुनुपर्ने बताए ।

सार्वजनिक टिप्पणी वा आरोपकै आधारमा कसैलाई अपराधी घोषणा गर्ने काम कांग्रेसले नगर्ने उनको भनाइ छ । तर प्रधानमन्त्री, प्रधानमन्त्रीको टिम वा रास्वपा सभापतिको निकटताका आधारमा कसैले पनि राज्यबाट अतिरिक्त सुविधा वा कानुनी छुट पाउन नहुने उनले बताए । राजनीतिक पहुँचका आधारमा उन्मुक्ति दिने प्रवृत्तिको कांग्रेसले सधै विरोध गर्ने उनको भनाइ छ ।

उनले कांग्रेसको सबैभन्दा ठुलो शक्ति नै नैतिक पुँजी भएको बताए । उनले पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो राजनीतिक विरासत र आचरणप्रति जिम्मेवार बन्न पनि आग्रह गरे । बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको राजनीतिक विरासत बोकेको पार्टी भएकाले कांग्रेसले नैतिक धरातल कमजोर हुन दिन नहुने उनको भनाइ छ ।

उनले हरेक सार्वजनिक व्यक्तिको जीवन पारदर्शी हुनुपर्ने बताए । उनले सरकारले आवश्यक ठानेमा आफूहरु अनुसन्धान र छानबिनको सामना गर्न तयार रहेको पनि बताए । पार्टी सभापतिका रूपमा आफ्नो कारणले कुनैपनि कांग्रेस सदस्यले शिर निहुराउनुपर्ने अवस्था आउन नदिने उनले प्रतिबद्धता जनाए । साथै पार्टीका नेता तथा कार्यकर्तामाथि अन्याय वा राजनीतिक पूर्वाग्रह भएमा त्यसविरुद्ध कांग्रेस उभिने उनको भनाइ छ ।

उनले विपक्षी दलका रूपमा कांग्रेसले सरकारका कामकारबाहीमाथि निगरानी र खबरदारी गर्नुपर्नेमा पनि जोड दिए । सुकुम्वासी समस्या, प्राकृतिक विपद्‍मा परेका नागरिकको अवस्था, सहकारी पीडितको रकम फिर्ता गर्ने सरकारी प्रतिबद्धता तथा दलित समुदायसँग सम्बन्धित घोषणाको कार्यान्वयनबारे सरकारलाई जवाफदेही बनाउनुपर्ने उनले बताए ।

सरकारले घोषणा गरेर ताली पाउने तर कार्यान्वयन नगर्ने प्रवृत्तिलाई विपक्षी दलले निरन्तर प्रश्न गर्नुपर्ने उनको भनाइ छ । उनले सरकारले गरेका हरेक गलत क्रियाकलातको अध्ययन गर्नुपर्ने बताए ।

उनले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्न सरकारलाई आग्रह गरे । आफूहरू सार्वजनिक ओहोदामा बसेका सबैको सम्पती छानबिन होस् भन्नेमा रहेको उनको भनाइ छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर