२०८३ मंसिर १२ गते शनिवार / Nov 28 , 2026 , Saturday
२०८३ मंसिर १२ गते शनिवार

राष्ट्रपति-प्रधानमन्त्री भेट : तोडियो संवादहीनता, रविको अगुवाइ

Nada
जीवन शर्मा
२०८३ मंसिर १२ गते ०६:३५
Shares
राष्ट्रपति-प्रधानमन्त्री भेट : तोडियो संवादहीनता, रविको अगुवाइ

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले करिब चार महिनापछि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । यसअघि उनले गत साउन १० मा सुनसरीको देवानगन्ज र कप्तानगन्जमा भड्किएको धार्मिक हिंसापछि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए । 

तर, प्रधानमन्त्री शाहले भारत भ्रमणमा जानुअघि समेत राष्ट्रपतिसँग भेट गरेनन् । कार्यकारी प्रधानमन्त्रीले कुनै राष्ट्रको भ्रमणअघि नै राष्ट्रप्रमुखलाई भ्रमणका एजेन्डासहित औपचारिक जानकारी गराउने परम्परा छ । त्यसलाई तोडेर भारत भ्रमण गरेका शाहको कार्यशैलीलाई लिएर अनेकन् टिप्पणी भइरहेका बेला उनी शुक्रबार एकाएक शीतल निवास पुगे । आफ्नो भारत भ्रमणका विषयमा राष्ट्रपति पौडेललाई औपचारिक जानकारी गराउने सन्दर्भमा प्रधानमन्त्री–राष्ट्रपति भेट भएको जनाएको छ ।  

राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच संवादहीनताको अवस्था रहेको चर्चाबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राष्ट्रपति पौडेललाई भेटेका थिए । सभापति लामिछाने बाहिरिएपछि प्रधानमन्त्री शाह शीतलनिवास प्रवेश गरेका थिए । 

उनी करिब २० मिनेटमै राष्ट्रपति भवनबाट बाहिरिएको बताइएको छ । पार्टी सभापति लामिछानेले भने राष्ट्रपति पौडेलसँग करिब ४५ मिनेट संवाद गरेका थिए । सभापति र राष्ट्रपतिबीच संसद्, अध्यादेश र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ । 

लामो समयदेखिको राष्ट्रपति–प्रधानमन्त्री संवादहीनता अन्त्यका लागि सभापति लामिछानेको भूमिका देखिएको छ । पछिल्लो सयय उनी छाया प्रधानमन्त्रीको भूमिकामा देखिएको टिप्पणीसमेत हुन थालेको छ । शुक्रबार लामिछानेको शीतलनिवास यात्रालाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

यसअघि बिहीबार मात्रै प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच लामिछाने निवास बुढानीलकण्ठमा झन्डै पाँच घण्टा लामो संवाद भएको थियो । लगातार दुई दिन प्रधानमन्त्री र राष्ट्रपतिसँग लामिछानेले गरेको भेटवार्ताले पछिल्लो राजनीतिक घटनाक्रममा नयाँ चासो व्यक्त हुन थालेको छ । 

प्रधानमन्त्री शाहको मंसिर ६ र ७ गते भएको भारतको राजकीय भ्रमणअघि र भ्रमणपछि समेत प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता भएको थिएन । राष्ट्रपति पौडेलप्रति प्रधानमन्त्री शाहले यसअघि पनि पटक–पटक अपमानपूर्ण व्यवहार गर्दै आएका थिए । राष्ट्रपतिले सरकारको नीति कार्यक्रम वाचन गर्दै गर्दा संसद्बाट निस्किएर प्रधानमन्त्रीले राष्ट्रपति संस्थाप्रति नै अपमान गरेको चौतर्फी आलोचना भएको थियो । प्रधानमन्त्री शाहले नयाँ जनादेशसँगै सरकारमा नयाँ नेतृत्व आएपछि अघिल्लै जनादेशबाट बनेका राष्ट्रपतिलाई स्वीकार गर्न नसकेको ढंगले समेत व्याख्या भइरहेका छन् । यद्यपि संविधान र वर्तमान व्यवस्थालाई स्वीकार गरेर आएका प्रधानमन्त्रीले सोही व्यवस्थाअन्तर्गत रहेका राष्ट्रपतिलाई नमान्ने छुट नभएको संवैधानिक कानुनका जानकार बताउँछन् । 

वरिष्ठ अधिवक्ता सीताराम केसीले राष्ट्रपति व्यक्ति नभई वर्तमान संवैधानिक र राजनीतिक व्यवस्थाअनुसार गठन भएको संस्था भएकाले सरकारले नजरअन्दाज गर्न नमिल्ने बताए । उनले भने, ‘मौजुदा संवैधानिक तथा राजनीतिक व्यवस्थाबाट निर्वाचित भएर आएको सरकारले सोही व्यवस्थाअन्तर्गत निर्वाचित राष्ट्रपति संस्थालाई नजरअन्दाज गर्न मिल्दैन, सामान्य प्रोटोकल व्यवस्थापनमा प्रधानमन्त्री चुक्दा राष्ट्रकै गरिमामाथि प्रश्न उठ्न सक्छन् ।’

अध्यादेशको गाँठो फुकाउन रविलाई गुहार 

सरकारले संसद् अधिवेशन बन्द भएपछि आठवटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको छ । सरकारले पठाएका नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान गठन, विज्ञान प्रविधि नवप्रवर्तन ऐन संशोधन, वनसम्बन्धी केही नेपाल ऐन संशोधन, भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन र विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश जारी भइसकेका छन् । 

आठवटा अध्यादेशमध्ये प्रेस काउन्सिल नेपाल ऐन संशोधन अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन ऐन संशोधन अध्यादेश र जेनजी आन्दोलनका मुद्दाको छुट्टै छानबिन गर्नेसम्बन्धी अध्यादेश भने राष्ट्रपति कार्यालयले ‘होल्ड’मा राखेको छ । प्रधानमन्त्री शाहको आग्रहमा सभापति लामिछानेले राष्ट्रपतिसँग भेटवार्ता गरेको विशेष स्रोतको दाबी छ । 

भरत भ्रमणका क्रममा नेपालको तर्फबाट पेस एजेन्डाका विषयमा सभापतिसँग समेत राम्रो छलफल नगरी भारत गएका प्रधानमन्त्री शाहले सरकारले पठाएका अध्यादेश जारी गराउन सभापति लामिछानेको साथ खोजेको रास्वपाकै एक नेताले बताए । 

सतहमा सरकार–दल मतभेद

गत साउन १० को मधेश घटना, मन्त्री हेरफेर र आइजिपी दानबहादुर कार्की हटाएको प्रकरणमा समेत सरकार र पार्टीबीच मतभेद देखिएको छ । आइजिपी प्रकरणमा सरकारका प्रवक्ता मन्त्री सस्मित पोखरेल र पार्टी प्रवक्ता जगदीश खरेलका अभिव्यक्ति एक–अर्काको खण्डन गर्ने शैलीमा आएपछि दुई पक्षबीचको टकराव चुलिएको थियो । मंसिर २ गते नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले रवि र बालेनबीच शक्ति संघर्ष चलिरहेको दाबी गर्दै राजनीतिमा ठुलो उथलपुथल हुन सक्ने संकेत गरेका थिए ।

मन्त्री हेरफेरदेखि प्रहरी नेतृत्वसँग जोडिएका घटनाक्रमलाई आधार बनाएर सरकार प्रमुख र पार्टी प्रमुख नेताबीच शक्ति संघर्ष रहेको विश्लेषणसमेत भइरहेको छ । पुनले भनेका थिए, ‘कुनै पनि बेला प्रधानमन्त्री बालेनले रविलाई थुनेमा आश्चर्य नमाने हुन्छ, र कुनै बेला रविले प्रधानमन्त्री हटाएर आफैं प्रधानमन्त्री बनेमा पनि आश्चर्य हुने छैन ।’ रास्वपाभित्रकै केही नेताका सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जालमा व्यक्त धारणाले पनि सरकार प्रमुख र पार्टी प्रमुखबीच असमझदारी रहेको पुष्टि गर्न खोजेका छन् ।  

रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच बिहीबार बुढानीलकण्ठस्थित लामिछानेको निवासमा करिब पाँच घण्टा चलेको भेटमा समसामयिक राजनीतिक विषय, आगामी निर्वाचन, सरकारका कामकारबाही र पार्टीका आन्तरिक विषयमा छलफल भएको बताइएको छ । 

रास्वपाका प्रवक्ता खरेलले  सभापति र प्रधानमन्त्रीबीचको भेटमा प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीका आन्तरिक विषय, प्रशिक्षण कार्यक्रम, संसद्को आगामी अधिवेशन तथा सरकारले ल्याउन लागेको अध्यादेशका विषयमा कुराकानी भएको जानकारी दिए । ‘प्रधानमन्त्री र पार्टी सभापतिबीच सौहार्दपूर्ण कुराकानी भयो, भेटमा विशेष गरी प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीका आन्तरिक विषय, पार्टीले सुरु गर्न लागेको प्रशिक्षण कार्यक्रम, संसद्को आगामी अधिवेशन र सरकारले ल्याउन लागेको अध्यादेशका विषयमा कुराकानी केन्द्रित भएको थियो,’ खरेलले भने ।

भारत भ्रमणमा जानुअघि मंसिर ४ मा प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लामिछानेसँग भेट गरेका थिए । त्यसअघि कात्तिक १ गते बुढानीलकण्ठस्थित लामिछानेको निवासमा दुई नेताबीच करिब चार घण्टा संवाद भएको थियो । उक्त भेटमा सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । सरकार सञ्चालनका क्रममा उठेका प्रश्न र चुनौतीबारे पनि दुवै नेताले गम्भीर छलफल भएको नेताहरूले बताएका थिए ।  

सभापति लामिछानेसँग प्रधानमन्त्री शाहले त्यसअघि असार अन्तिम साता चार घण्टा लामो छलफल गरेका थिए । लगातार हुने लामो संवाद, सरकारका महत्त्वपूर्ण विषयमा सभापतिसँग प्रधानमन्त्रीले लिने सुझाव र पार्टी तथा सरकार सञ्चालनबारे हुने छलफलले रवि–बालेन सम्बन्धलाई शक्ति संघर्षका रूपमा लिइएको छ । दुई नेताबीच आपसी परामर्श, विश्वास र समझदारी कायम राख्न रास्वपाभित्र सकसपूर्ण देखिएको छ । 

laxmi recruitement

सम्बन्धित खबर