
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटालाई दबाब र धम्की दिएर पार्टी सभापति गगनकुमार थापालगायतका नेताविरुद्ध बयान दिन बाध्य पारिएको भन्ने आरोपबारे संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सापकोटामाथि दबाब सिर्जना गरी पूर्वतयार बयान दिन लगाइएको भन्ने विषय सार्वजनिक भएपछि निष्पक्ष छानबिनको आवश्यकता औंल्याएका हुन् ।
सापकोटाले शुक्रबार आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा थापालगायतका व्यक्तिविरुद्ध बयान दिए हिरासतबाट मुक्त गर्ने र बयान नदिए फसाइदिने धम्की दिइएको उल्लेख छ ।
आङ्देम्बेले सत्तापक्षबाटै बयानको विषयवस्तु तयार पार्ने, हिरासतमा रहेका व्यक्तिलाई तयार पारिएको कागज पढ्न बाध्य पार्ने तथा नमाने थप फसाइदिने धम्की दिने काम भएको भए त्यो विधिको शासनमाथिको गम्भीर प्रहार हुने बताएका छन् ।
उनले सरकारको अनुसन्धान प्रक्रिया निष्पक्ष छ वा राजनीतिक प्रतिशोधबाट प्रेरित छ भन्ने प्रश्नसमेत उठाएका छन् । राज्यका अनुसन्धानकारी निकायलाई राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाइए त्यसले ती निकायप्रतिको जनविश्वास र लोकतान्त्रिक व्यवस्थामाथि नै प्रश्न खडा गर्ने उनको भनाइ छ ।
आङ्देम्बेले सापकोटाको मोबाइल अनधिकृत व्यक्तिले नियन्त्रणमा लिएको र त्यसको दुरुपयोग भएको भनिएको विषयलाई पनि छानबिनमा समेट्नुपर्ने बताएका छन् । त्यस्तै, बयान तयार पार्ने प्रक्रिया र त्यसमा संलग्न व्यक्तिहरूको भूमिकाबारे समेत सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनको माग छ ।
राज्यका निकायलाई राजनीतिक प्रतिशोधको औजार बनाउन नहुने उल्लेख गर्दै उनले सरकारलाई संविधान र कानुनी शासनको दायराभित्र रहेर काम गर्न आग्रह गरेका छन् ।
सत्ता अस्थायी भए पनि राज्यका संस्था र कानुनी शासनको विश्वसनीयता स्थायी हुनुपर्ने उनको भनाइ छ । लोकतन्त्रमा फरक विचार राख्ने व्यक्तिलाई फसाउने नभई न्याय सुनिश्चित गर्ने कानुनी व्यवस्था आवश्यक रहेको आङ्देम्बेले बताएका छन् ।