
काठमाडौं : उमेर १६ वर्ष, पढाइ कक्षा ९ । तर बलिङमा देखाएको क्षमता भने अनुभवी खेलाडीको भन्दा कम छैन । नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सबाट खेलिरहेका राहुल यादवले लगातार दुई खेलमा पहिलो बलमै विकेट लिँदै सबैको ध्यान खिचेका छन् । बिहीबार काठमाडौं गोर्खाजविरुद्ध ४ विकेट लिएपछि राहुलको चर्चा झनै चुलिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा राहुलले काठमाडौं गोर्खाजको ब्याटिङ ध्वस्त पार्न महत्त्वपूर्ण भूमिका खेले । उनले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । उनको उत्कृष्ट बलिङकै कारण काठमाडौं गोर्खाज १९.३ ओभरमा ११५ रनमै समेटियो । त्यसपछि जनकपुर बोल्ट्सले १७.२ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्दै ८ विकेटको जित निकाल्यो । जारी सिजनमा जनकपुरको यो पहिलो जित हो ।
उत्कृष्ट प्रदर्शन गरेका राहुल खेलको प्लेयर अफ द म्याचसमेत घोषित भए । एनपिएलमा राहुलले दुई खेलबाट ६ विकेट आफ्नो नाममा पारिसकेका छन् । एनपिएलमा डेब्यु गरेको पहिलो खेलमै राहुलले आफ्नो स्पेलको पहिलो बलमा विकेट लिएका थिए । कात्तिक १० गते कर्णाली याक्सविरुद्धको खेलमा जनकपुरका कप्तान हरमित सिंहले तेस्रो ओभरमा राहुललाई बलिङ गर्न दिएका थिए । त्यतिबेला कर्णालीका ब्याटर दीपक डुम्रे आक्रामक ब्याटिङ गरिरहेका थिए । उनले अघिल्लो ओभरमा लगातार दुई छक्का प्रहार गरिसकेका थिए ।
तर, राहुलले आफ्नो पहिलो बलमै डुम्रेलाई बोल्ड गरे । डेब्यु खेलको पहिलो बलमै विकेट लिएर उनले आफ्नो क्षमता देखाए । त्यसपछि पाकिस्तानका अलराउन्डर हुसेन तलातलाई पनि उनले दबाबमा राखे । राहुलले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिए । उनको बलिङ राम्रो भए पनि जनकपुरले उक्त खेल १९ रनले गुमाएको थियो ।
कर्णालीविरुद्धको खेलमा टोली पराजित भए पनि राहुलको प्रदर्शनले प्रशिक्षक र कप्तानको ध्यान खिच्यो । त्यसको दुई दिनपछि काठमाडौंविरुद्ध उनले चार विकेट लिएर आफूलाई प्रमाणित गरे ।
को हुन् राहुल यादव ?
राहुल यादवको जन्म सन् २०१० मे २४ मा रौतहटको चन्द्रपुरमा भएको हो । दायाँहाते मध्यम गतिका बलर राहुल अहिले कक्षा ९ मा अध्ययनरत छन् ।
उनले चन्द्रपुर क्रिकेट एकेडेमीमा करिब तीन वर्षदेखि प्रशिक्षण लिँदै आएका छन् । विद्यालयको पढाइसँगै क्रिकेटलाई अघि बढाइरहेका राहुलका लागि स्थानीय मैदान नै व्यावसायिक क्रिकेटसम्म पुग्ने आधार बनेको छ ।
चन्द्रपुर क्रिकेट एकेडेमीका संस्थापक देवेन्द्र कार्कीका अनुसार राहुलको बलिङ गर्ने शैली, बलमा विविधता र गतिले उनलाई अरू युवा बलरभन्दा फरक बनाएको थियो । उनको क्षमतालाई सुरुबाटै नजिकबाट नियालिरहेका कार्कीले राहुलमा राम्रो सम्भावना देखेका थिए ।
राहुलले एकेडेमीमा प्रशिक्षण लिने क्रममा विभिन्न स्थानीय प्रतियोगितामा पनि भाग लिँदै आएका थिए । उनले चन्द्रपुर क्रिकेट लिग २०८२ मा प्लेयर अफ द म्याचको पुरस्कार पाएका थिए । त्यस्तै, मधेश प्रदेशस्तरीय यु–१६ प्रतियोगितामा प्लेयर अफ द सिरिजसमेत बनेका थिए ।
एनपिएलको यात्रा
एनपिएलमा पुग्नुअघि राहुलले देशभरका युवा तीव्र गतिका बलर पहिचान गर्ने कार्यक्रम ‘बिट द स्पिड’ सिजन ३ मा भाग लिएका थिए । वर्ल्डलिंकले सञ्चालन गरेको उक्त कार्यक्रममा उनले गौरमा भएको छनोट चरणमा ‘फेस द ब्याट्सम्यान’ चुनौती जितेका थिए ।
यसले उनलाई ब्याटरविरुद्ध आफ्नो बलिङ क्षमता देखाउने अवसर दियो । प्रतियोगितामा देखाएको प्रदर्शनले राहुललाई मधेश प्रदेशबाट उदाउँदै गरेका सम्भावनायुक्त युवा बलरका रूपमा चिनाउन सहयोग गर्यो ।
त्यसपछि जनकपुर बोल्ट्सले रौतहटको चन्द्रपुरस्थित कोटिहोम क्रिकेट मैदानमा ट्यालेन्ट हन्ट आयोजना गर्यो । सन् २०२६ को अक्टोबरमा भएको दुईदिने छनोट कार्यक्रममा देशभरबाट ४४६ भन्दा बढी खेलाडीले नाम दर्ता गराएका थिए । तीमध्ये करिब २०० खेलाडी मैदानमा भएको छनोट प्रक्रियामा सहभागी भए ।
खेलाडीको छनोट गर्दा शारीरिक क्षमता, नेटमा बलिङ र ब्याटिङ, तीव्र तथा स्पिन बलिङ र फिल्डिङको परीक्षण गरिएको थियो । यस प्रक्रियाबाट जनकपुरले सात जना किशोर खेलाडीलाई आफ्नो विकास टोलीमा छनोट गर्यो । राहुल पनि त्यसमा परे ।
विकास टोलीमा छनोट भएका खेलाडीलाई एनपिएलका क्रममा मुख्य टोलीसँगै अभ्यास गर्ने अवसर दिइएको थियो । अभ्यास र छनोटमा देखाएको क्षमताका आधारमा राहुलले मुख्य टोलीमा स्थान बनाउने अवसर पाए । अक्टोबर २५ मा जनकपुर बोल्ट्सले राहुललाई आफ्नो ‘आइकोनिक प्लेयर’ घोषणा गरेको थियो ।
‘नेपालको मलिंगा बन्न सक्छन् राहुल’
राहुलको बलिङबाट जनकपुरका विदेशी खेलाडीसमेत प्रभावित भएका छन् । बिहीबार काठमाडौं गोर्खाजविरुद्धको खेलपछि जनकपुरका इंग्लिस अलराउन्डर मोइन अलीले राहुलको बलिङ शैलीको प्रशंसा गरे ।
मोइनका अनुसार राहुलको बलिङ गर्ने शैली र क्षमताले उनलाई भविष्यमा राम्रो खेलाडी बन्ने सम्भावना देखाएको छ । उनले राहुलले अहिले देखाइरहेको बलिङ शैलीलाई श्रीलंकाका चर्चित तीव्र गतिका बलर लसिथ मलिंगासँग तुलना गरेका छन् ।
मलिंगा आफ्नो फरक बलिङ शैली र योर्करका लागि विश्व क्रिकेटमा चर्चित छन् । उनको बलिङ शैलीबाट प्रभावित भएर राहुललाई नेपालको मलिंगा बन्न सक्ने सम्भावना देखिएको मोइनको भनाइ छ ।
काठमाडौं गोर्खाजविरुद्धको खेलपछि राहुलले एनपिएललाई सिक्ने अवसरका रूपमा लिएको प्रतिक्रिया दिए । टोलीमा आफू सबैभन्दा कान्छो खेलाडी भएको उल्लेख गर्दै राहुलले सिनियर खेलाडीसँग धेरै कुरा सिकिरहेको बताएका छन् ।