
क्वालालम्पुर : मलेसियाले शरणार्थी दर्ता कागजात कार्ड भएका शरणार्थीहरूलाई सर्तसहित रोजगारी गर्न दिने भएको छ ।
गृहमन्त्री सैफुद्दीन नासुसन इस्माइलले यो कदमले नयाँ विदेशी कामदार ल्याउनुपर्ने बाध्यताको विकल्प प्रदान गर्ने बताए । उनले शरणार्थीहरूलाई छाया अर्थतन्त्रमा पर्न वा सिन्डिकेटहरूद्वारा शोषण हुनबाट रोक्न सरकारले कार्डवाहकहरूलाई औपचारिक रोजगार क्षेत्रमा सर्तसहित पहुँच प्रदान गर्ने निर्णय गरेको बताए ।
संसद्मा जवाफ दिँदै गृहमन्त्री सैफुद्दीनले अध्यागमन विभागले शरणार्थीहरूलाई दर्ता गरी उनीहरूको बायोमेट्रिक डेटा संकलन गर्ने बताए । यो प्रक्रिया आगामी जनवरी १ देखि सुरु हुने उनले जानकारी दिए ।
मलेसियामा करिब २ लाख २५ हजार रोहिंग्या शरणार्थी रहेका छन् ।