
लिस्बन : नेपाली महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसरमा ठकुरी समाज पोर्चुगलले ‘दर खाने तथा तिज विशेष सांस्कृतिक कार्यक्रम’ को आयोजना गर्ने भएको छ।
समाजले यही अगस्ट ३० तारिख आइतबारका दिन राजधानी लिस्बनस्थित महात्मा गान्धी मन्दिरको हलमा उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो। समाजले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि तिजको अवसरमा दर खाने तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा चर्चित गायक श्रीकृष्ण बम मल्ल, सूर्य खड्का तथा गायिका लक्ष्मी मल्लको विशेष सांगीतिक प्रस्तुति रहने समाजले जनाएको छ। कार्यक्रम दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ।
नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष सज्जन हमाल ठकुरीले बताए। तिजको अवसरमा एकआपसमा शुभकामना आदानप्रदान र मनोरञ्जनका साथै सामूहिक रूपमा दर खाने कार्यक्रम राखिएको ठकुरीले बताए। यस्ता खालका कार्यक्रमले प्रवासमा रहेका नेपालीसमुदायका बीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
कार्यक्रममा सहभागी हुन पोर्चुगलवासी नेपाली समुदायलाई समाजले विशेष आग्रह समेत गरेको छ ।