
काठमाडौं : स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले स्वास्थ्यसँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा सञ्चार माध्यम संवेदनशील हुन आवश्यक रहेको औँल्याएका छन् ।
प्रेस काउन्सिल नेपालले मिडियाप्रतिको जनगुनासो र आचारसंहिताका विषयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले नागरिकलाई स्वास्थ्यप्रति सचेत गराउने दायित्व पनि मिडियाकै भएको भन्दै समाचारका विषयमा संवेदनशील हुन आवश्यक रहेको बताएका हुन् ।
काउन्सिल सभाहलमा बुधबार भएको अन्तरक्रियामा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, विभिन्न अस्पतालका निर्देशक, स्वास्थ्य क्षेत्रका सङ्घ÷संस्थाका अध्यक्ष तथा प्रतिनिधि र चिकित्सकहरूले उपचार पद्धति, औषधिबारे यथेष्ट जानकारी तथा अस्पतालभित्रको सुरक्षा संवेदनशीलताका विषय नबुझी सञ्चार माध्यमबाट फैलाइएका विषयले पार्ने नकारात्मक असरबारे सचेत भइदिन मिडिया क्षेत्रलाई आग्रह गरेका छन् ।
प्रेस काउन्सिल नेपालले मिडिया क्षेत्र र मेडिकल क्षेत्रबीच समाचार सम्प्रेषणको विषयलाई लिएर समन्वयकारी भूमिका खेलिदिनुपर्ने उनीहरूको भनाइ थियो। स्वास्थ्य क्षेत्रको सुधारमा सञ्चार माध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै सहभागीहरूले सञ्चार माध्यमबाट सम्प्रेषण हुने आचारसंहिताप्रतिकूलका समाचारको परीक्षण (स्क्रिनिङ) हुनुपर्नेमा जोड दिएका थिए ।
काउन्सिलका निमित्त अध्यक्ष नम्रता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य अधिकृत झबिन्द्र भुसालले कार्यक्रमको औचित्य स्पष्ट पार्दै सहभागीलाई स्वागत गरेका थिए । मिडिया अनुगमनकर्ता प्रकाश शर्माले संयोजन तथा सहजीकरण गरेको कार्यक्रममा आचारसंहिता अनुगमन महाशाखा प्रमुख रामशरण बोहराले सहभागीका जिज्ञासाको जवाफ दिएका थिए ।
कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा.विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.नविसमान सिंह प्रधान, वीर अस्पतालका निर्देशक डा. विकास नेपाल, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनी, पाटन अस्पतालका निर्देशक डा. शान्तवीर महर्जन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. अनुप वास्तोला, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा.सुवासप्रसाद आचार्य, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.निराजन सुवेदी, नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुली, नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. लोचन कार्की, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका रेडियोलोजिष्ट डा. कृष्ण बुढाथोकी, तिलगङ्गा आँखा प्रतिष्ठानका मुकेशकुमार सिंह, अन्नपूर्ण न्युरो अस्पतालका निर्देशक डा. सुदन ढकाल, काठमाडौं मोडल अस्पतालका निर्देशक डा.उदय कोइराला, औषधि उत्पादक संघका महासचिव सन्तोष बराल, नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपीए)का अध्यक्ष ललितमोहन पन्त, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालका उपाध्यक्ष प्रा.डा.श्यामकृष्ण जोशी तथा मेडिकल काउन्सिलका सदस्य डा.छवि पन्थीलगायतले धारणा राखेका थिए ।
कार्यक्रममा काउन्सिलका सदस्यहरू प्रकाशभक्त माथेमा, उपासना घिमिरे, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, उपप्रशासकीय अधिकृतहरू रहमतुल्ला मियाँ, सविता ढकाल, गीता पराजुलीलगायत कर्मचारी सहभागी थिए ।