२०८३ मंसिर ९ गते बुधवार / Nov 25 , 2026 , Wednesday
२०८३ मंसिर ९ गते बुधवार

शकीलियतका गतिविधिविरुद्ध कानुनी कारबाहीको माग

Nada
इसत्याक अहमद
२०८३ मंसिर ९ गते २१:०९
Shares
शकीलियतका गतिविधिविरुद्ध कानुनी कारबाहीको माग

काठमाडौं : नेपालमा इस्लाम धर्मावलम्बीहरूको धार्मिक आस्था, अकिदा (धार्मिक विश्वास) तथा खतम–ए–नुबुव्वतको संरक्षण र शकीलियतका गतिविधि नियन्त्रण गर्नुपर्ने मागसहित उलेमाहरूको चार सदस्यीय प्रतिनिधिमण्डलले मुस्लिम आयोग नेपालका अध्यक्षसँग भेटघाट गरी ज्ञापनपत्र बुझाएको छ ।

बुधबार, नोभेम्बर २५, २०२६ का दिन मुस्लिम आयोग नेपालको कार्यालय पुगेको प्रतिनिधिमण्डलले आयोगका अध्यक्ष मोहम्मदुद्दिन अलीसँग विशेष भेटवार्ता गर्दै यस विषयमा लिखित ज्ञापनपत्रसमेत पेश गरेको हो । 

प्रतिनिधिमण्डलमा हजरत मौलाना अब्दुल मन्नान नदवी, हजरत मौलाना आशिक इलाही कासमी, हजरत मौलाना नूर हक र सगीर आलम कासमी सहभागी थिए । 

भेटका क्रममा प्रतिनिधिमण्डलले शकीलियतसम्बन्धी गतिविधि र त्यसका विचारधाराबारे आयोगका अध्यक्षलाई जानकारी गराउँदै यसको विस्तार रोक्न तथा प्रचलित कानुनअनुसार आवश्यक छानबिन र कारबाही गर्न माग गरेको थियो । 

सो अवसरमा उलेमाहरूले कुरआन र हदीसको प्रकाशमा इस्लाम धर्मको खतम–ए–नुबुव्वत (अन्तिम पैगम्बरको मान्यता), कयामतका संकेत, इमाम महदीको आगमन तथा हजरत ईसा अलैहिस्सलामको पुनः आगमनसम्बन्धी धार्मिक मान्यताबारे विस्तृत जानकारी गराएका थिए । साथै, शकीलियतका विचार र मान्यताबारे आफ्नो धारणा प्रस्तुत गर्दै यस विषयमा गम्भीर ध्यान दिन आग्रह गरेका थिए ।

प्रतिनिधिमण्डलका कुरा गम्भीरतापूर्वक सुनेपछि मुस्लिम आयोगका अध्यक्ष मोहम्मदुद्दिन अलीले खतम–ए–नुबुव्वतको संरक्षणसँग सम्बन्धित यस विषयमा आवश्यक ध्यान दिने र सम्भव भएसम्म प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अध्यक्ष अलीले यस विषयमा विभिन्न विचारधाराका उलेमाहरूलाई सहभागी गराएर संयुक्त छलफल तथा परामर्श कार्यक्रम आयोजना गर्ने सम्भावनासमेत रहेको बताएका थिए । सबै पक्षसँग छलफल गरी उचित निष्कर्षमा पुग्न सकिने उनको भनाइ थियो । 

अन्त्यमा अध्यक्ष अलीले महत्वपूर्ण विषयमा समयमै ध्यानाकर्षण गराउँदै विस्तृत जानकारी उपलब्ध गराएकोमा प्रतिनिधिमण्डलका सबै सदस्यप्रति धन्यवाद व्यक्त गरेका थिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर