
रौतहट : प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताको माग गर्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले जिल्ला प्रशासन कार्यालयअगाडि विरोध प्रदर्शन तथा धर्ना दिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले घोषणा गरेको देशव्यापी चरणबद्ध आन्दोलनअन्तर्गत बुधबार गौरस्थित जिल्ला प्रशासन कार्यालयअगाडि भेला भएका रौतहटका क्रियाशील पत्रकारहरूले ‘सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारको सञ्चारमाध्यमप्रतिको अनुदार नीतिको कडा विरोध जनाएका छन् ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष डिल्लीबहादुर कार्कीको नेतृत्वमा सम्पन्न उक्त विरोध प्रदर्शनमा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
पछिल्लो समय समाचार संकलन तथा सम्प्रेषणका क्रममा समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड र गिरफ्तारी गर्ने प्रवृत्ति बढेको, अध्यादेशमार्फत प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजिएको तथा सञ्चारमाध्यमलाई आर्थिक र कानुनी रूपमा धराशायी बनाउने प्रयास भइरहेको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो ।
प्रदर्शनमा सहभागी पत्रकारहरूले लोकतान्त्रिक मूल्य–मान्यता र संविधानप्रदत्त प्रेस स्वतन्त्रताको मर्मविपरीत हुने कुनै पनि सरकारी हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
विरोध प्रदर्शनका क्रममा नेपाल पत्रकार महासंघले सञ्चार क्षेत्र र श्रमजीवी पत्रकारमाथि भइरहेका विभिन्न ज्यादती तथा राज्यको रवैयाविरुद्ध मुख्य ६ वटा असन्तुष्टि र माग अघि सारेको छ ।
महासंघले उठाएका प्रमुख माग तथा असन्तुष्टिहरू यसप्रकार छन् :
१. मिडिया हाउसका प्रवेशद्वार तथा आवागमन अवरुद्ध हुने गरी अनधिकृत रूपमा सवारीसाधन तेर्स्याएर राख्ने कार्य भइरहेको र यस्ता अराजक गतिविधिमा संलग्न व्यक्तिमाथि प्रशासनले कारबाही नगरेको भन्दै विरोध जनाइएको छ ।
२. समाचार संकलन तथा प्रकाशन–प्रसारणका क्रममा कार्यस्थलमै प्रवेश गरी सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भइरहेको प्रहरी हस्तक्षेप तथा धरपकड तत्काल रोक्न माग गरिएको छ ।
३. समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, साइबर ब्युरोलगायतका निकायमार्फत अनावश्यक दुःख दिने तथा समाचारको स्रोत खुलाउन दबाब दिने प्रवृत्तिप्रति कडा आपत्ति जनाइएको छ ।
४. प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार पत्रपत्रिकाले नियमानुसार पाउनुपर्ने लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती गरिएको तथा समयमै उपलब्ध नगराइएकोप्रति तीव्र असन्तुष्टि व्यक्त गरिएको छ ।
५. सरकारी तथा निजी सञ्चारमाध्यमबाट श्रमजीवी पत्रकारलाई जबर्जस्ती निष्कासन गर्ने, नियमित पारिश्रमिक नदिने तथा श्रम ऐनविपरीतका गतिविधि गर्ने कार्य तत्काल बन्द गरी पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न माग गरिएको छ ।
६. विज्ञापन रोक्ने, बजेट कटौती गर्ने तथा कानुनी र आर्थिक दबाब सिर्जना गरी स्वतन्त्र सञ्चारमाध्यमलाई कमजोर बनाउने कार्यलाई आर्थिक नाकाबन्दीको संज्ञा दिँदै त्यसको तत्काल अन्त्य गर्न सरकारसँग माग गरिएको छ ।
नेपाल पत्रकार महासंघले सरोकारवाला निकायसँग पर्याप्त परामर्श नगरी ल्याइएको प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेशमार्फत प्रेस स्वतन्त्रता संकुचित पार्न खोजिएको भन्दै उक्त अध्यादेश तत्काल फिर्ता लिन माग गर्दै आएको छ। साथै, सञ्चारसम्बन्धी कानुन संसद्बाटै निर्माण गर्नुपर्नेमा महासंघले जोड दिँदै आएको छ ।
महासंघले आफ्नो चरणबद्ध आन्दोलनअन्तर्गत मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको थियो भने मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरूलाई ध्यानाकर्षणपत्र पठाएको थियो। त्यसैगरी, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जालसँग छलफल तथा मंसिर ७ गते जिल्ला शाखाहरूले सञ्चारसम्बद्ध संघसंस्थासँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेका थिए ।
सोही चरणबद्ध आन्दोलनको अन्तिम कार्यक्रमअन्तर्गत बुधबार देशभरका जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना तथा विरोध प्रदर्शन गरिएको हो ।
रौतहट शाखाका उपाध्यक्ष कार्कीसहित प्रदर्शनमा सहभागी सञ्चारकर्मीहरूले राज्यको चौथो अङ्गमाथिको आक्रमण र आर्थिक घेराबन्दी तत्काल नरोकिए तथा महासंघले उठाएका जायज मागप्रति सरकार गम्भीर नभए आगामी दिनमा अझ कडा र निर्णायक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।