
दोहा- वैदेशिक रोजगारीका लागि कतार आएका नेपालीहरू पछिल्लो समय रोजगारीमा मात्रै सीमित नरही विभिन्न पेसा, व्यवसायमा समेत सक्रिय हुँदै आएका छन् । यसैक्रममा केही नेपालीहरूको संयुक्त लगानीमा कतारमा नयाँ रात्रिकालीन क्लब ‘क्राउन क्लब’सञ्चालनमा ल्याइएको छ ।
रोशन सुवेदी, सन्दीप भट्टराई र ओमकृष्ण ढुंगानालगायत नेपालीहरूको संयुक्त लगानीमा कतारको मुग्लिनास्थित भिआइपी होटेलको सबैभन्दा माथिल्लो रुफटप फ्लोरमा क्लब सञ्चालनमा ल्याइएको हो ।
बिहीबार राति आयोजित विशेष समारोहकाबीच क्लबको ढुंगानाकी वृद्ध आमा धनमायाले केक काटेर औपचारिक उद्घाटन गरेकी थिइन् । आमाको हातबाट व्यवसायको उद्घाटन गराएर सञ्चालक ढुंगानाले पारिवारिक सम्मानसँगै नेपाली संस्कार र परम्परालाई समेत जोड दिएका थिए ।
उद्घाटन समारोहमा बोल्दै एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले पछिल्लो समय नेपालीहरू रोजगारीसँगै व्यवसायमा समेत अघि बढ्दै गएकोमा खुसी व्यक्त गर्दै नयाँ व्यवसायीलाई सबैले साथ, सहयोग र हौसला दिनुपर्ने बताए । व्यवसाय सुरु गर्नु आफैंमा चुनौतीपूर्ण काम भएकाले निरुत्साहित गर्नुको सट्टा प्रोत्साहन र सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।
पन्थीले नेपालीहरूले सञ्चालन गरेका व्यवसायलाई सफल बनाउन समुदाय स्तरबाट सक्दो सहयोग गर्नुपर्ने उल्लेख गर्दै नयाँ क्लबको सफलताको शुभकामना दिए । क्लब सञ्चालक सन्दीप भट्टराईले आफ्नो तेस्रो क्लब उद्घाटनको अवसरमा उपस्थित सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आफन्त, मित्र तथा शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गरे । व्यावसायिक यात्राका क्रममा आफूले विभिन्न संघर्ष र उतारचढाव पार गर्दै आजको सफलता हासिल गरेको बताउँदै उनले आफ्नो सफलतामा परिवार, साथीभाइ तथा शुभचिन्तकहरूको साथ र सहयोग महत्वपूर्ण रहेको उल्लेख गरे ।

आफ्नो खुसीमा सहभागी हुन उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्दै भट्टराईले आगामी दिनमा पनि यस्तै माया, साथ र सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे । उद्घाटन समारोहमा कतारमा रहेर गीत–संगीतको क्षेत्रमा सक्रिय गायक इशान रेग्मीले विशेष सांगीतिक प्रस्तुति दिएका थिए ।
उनले ‘वीरताको चिनो’बाट आफ्नो प्रस्तुति सुरु गरेका थिए । त्यसपछि नेपाली संगीतका पुराना तथा लोकप्रिय गीतहरू प्रस्तुत गर्दै उनले उपस्थित अतिथि तथा दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । रेग्मीले करिब आधा दर्जन गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण रोशन अर्यालले गरेका थिए ।
कतारमा नेपाली समुदायको आर्थिक गतिविधि र व्यावसायिक सहभागिता बढ्दै जाँदा नयाँ क्लबको सञ्चालनले नेपालीहरूको व्यावसायिक विविधता र लगानीको विस्तारलाई समेत प्रतिबिम्बित गरेको छ । क्लबका सञ्चालकहरूले नेपाली समुदायसँगै कतारमा रहेका अन्य समुदायलाई समेत लक्षित गर्दै मनोरञ्जनात्मक वातावरण प्रदान गर्ने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याइएको बताएका छन् ।