२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

माया घरको प्रगति : एक वर्षमा १८४ जनाको उद्धार, ११२ जनाको पुनर्मिलन

Nada
तेज बन
२०८३ भदौ ५ गते १८:५२
Shares
माया घरको प्रगति : एक वर्षमा १८४ जनाको उद्धार, ११२ जनाको पुनर्मिलन

इटहरी : सडकमा बेवारिसे अवस्थामा रहेका अशक्त तथा असहाय व्यक्तिहरूको उद्धार र पुनःस्थापना गर्दै आएको माया घर नेपालले शुक्रबार आगामी रणनीति तथा कार्यक्रमबारे सरोकारवालासँग बृहत् छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको छ।

ncell

नजिकिँदै गरेको साधारणसभा व्यवस्थित रूपमा सम्पन्न गर्न तथा संस्थाको भावी सञ्चालन रणनीतिका लागि सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागी सामाजिक व्यक्तित्वहरूले माया घरले गर्दै आएको मानवसेवाको प्रशंसा गर्दै यस्ता संस्थालाई राज्यले संरक्षण र सहयोग गर्नुपर्ने धारणा राखे ।

माइती नेपाल सुनसरीकी संयोजक सुनिता कार्कीले सामाजिक सञ्जालमा फैलिएका नकारात्मक हल्लालाई चिर्दै संस्था आफ्नो उद्देश्यमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताइन् । जग्गादाता फूलराज सुवेदीले आश्रितहरूको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने तथा देखिएका कमजोरी सुधार गर्दै अघि बढ्न सुझाव दिए ।

सञ्चारकर्मी हिमाल दाहालले संस्थालाई सहयोग गर्ने दाताहरूको विवरण सार्वजनिक गर्न तथा आधिकारिक वेबसाइटमार्फत गतिविधि पारदर्शी बनाउन सुझाव दिए । त्यस्तै, आस्था फाउन्डेसनका सञ्चालक तथा सामाजिक अभियन्ता चन्द्र बरालले सामाजिक सञ्जालमा फैलिएका नकारात्मक हल्लाको पछि नलागी आफ्नो लक्ष्यमा केन्द्रित भएर अघि बढ्नुपर्ने सुझाव दिए ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा सञ्चारकर्मी बाबुराम सुवेदीले माया घरजस्ता संस्थालाई राज्यले आफ्नै सम्पत्तिका रूपमा जिम्मेवारी लिनुपर्ने धारणा राखे । जिल्ला प्रहरी कार्यालय सुनसरी महिला सेलकी प्रहरी मेनुका राई र इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले सडक मानव उद्धारमा माया घरले खेलेको भूमिकाको प्रशंसा गर्दै सहकार्य निरन्तर रहने बताए ।

कार्यक्रमको अन्त्यमा माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले संस्थाका कमजोरी सुधार गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले साधारणसभामार्फत संस्थाको लेखापरीक्षण तथा दाताहरूको विवरण सार्वजनिक गरिने जानकारी दिइन् ।

एक वर्षमा १८४ जनाको उद्धार, ११२ जनाको पुनर्मिलन
माया घर नेपाल, इटहरी, सुनसरीले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ मा १८४ जनाको उद्धार गरिएको छ भने ११२ जनाको परिवारसँग पुनर्मिलन गराइएको छ । माया घरको विवरणपत्रअनुसार हाल संस्थामा १३६ जना आश्रित रहेका छन्। सो अवधिमा १५ जनाको निधन भएको छ ।

माया घरमा आश्रितमध्ये सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने २ जना, आमाबच्चासहित आश्रित ७ जना, कलेज अध्ययनरत १ जना र विद्यालय अध्ययनरत ४ जना रहेको विवरणमा उल्लेख छ ।

संस्थाले आर्थिक वर्षमा दैनिक व्यवस्थापनका लागि सुनसरीलगायत कोशी प्रदेशका विभिन्न स्थानीय तहबाट समेत सहयोग प्राप्त भएको जनाएको छ ।

माया घरमा दैनिक व्यवस्थापनका लागि करिब ५० केजी चामल, ३ लिटर तेल, ५ केजी दाल र ५० केजी तरकारी आवश्यक पर्ने गरेको सचिव सुमी थापाले मध्यान्हलाई बताइन्। त्यस्तै, ५० लिटर मोही, एक पटकमा ६ केजी पनिर, २५ केजी मासु तथा करिब ३० देखि ३५ केजी टमाटर आवश्यक पर्ने उनको भनाइ छ ।

आश्रितहरूको दैनिक आवश्यकतामा मसलामसला, चिया, साबुन, सरसफाइका सामग्री तथा व्यक्तिगत सरसफाइका सामग्रीसमेत प्रयोग हुने गरेको संस्थाले जनाएको छ । नियमित औषधि उपचार तथा औषधि सेवन गर्ने आश्रितको संख्या ६० देखि ६५ जनासम्म रहेको जनाइएको छ ।

त्यस्तै, २०८२ साउनदेखि २०८४ असारसम्मको मासिक विवरणमा साधा खानामा २६९, पनिर खानामा १९९, मासु खानामा ५२ र अन्य सहयोगमा ४०४ गरी कुल ९३० पटक/जनाको सहभागिता भएको तथ्यांक प्रस्तुत गरिएको छ ।

माया घरले उद्धार, आश्रय, उपचार, शिक्षा तथा परिवारसँग पुनर्मिलनलगायतका काम गर्दै आएको छ । यस्ता सेवाका लागि स्थानीय तह तथा विभिन्न व्यक्ति र संस्थाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको संस्थाले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर