२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि छानबिन हुने कांग्रेस अनुशासन समितिको चेतावनी

Nada
२०८३ भदौ ५ गते १८:२५
Shares
पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि छानबिन हुने कांग्रेस अनुशासन समितिको चेतावनी

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको विधान, पद्धति र मर्यादा विपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तालाई छानबिन गरी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ ।

ncell

शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको समिति बैठकपछि संयोजक तारामान गुरुङले पार्टीको विधि र मर्यादा उल्लंघन गर्ने जोसुकैमाथि विधानबमोजिम कारबाही हुने बताएका हुन् ।

उनका अनुसार गत आमनिर्वाचनका क्रममा भएका भनिएका अनुशासन उल्लंघन र अन्तर्घातसम्बन्धी सात सय ५४ वटा उजुरी विभिन्न जिल्लाबाट प्राप्त भएका छन् । समितिले ती उजुरीमाथि छानबिन गरिरहेको र अधिकांश उजुरी किनारा लगाउने चरणमा पुगेको उनले बताए ।

समितिले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया सुरु हुनुअघि नै सबै उजुरीको निर्णय गरिसक्ने लक्ष्य राखेको छ । वडा अधिवेशनअघि अनुशासनसम्बन्धी विषय टुङ्ग्याएर पार्टी शुद्धीकरण गर्ने पक्षमा समिति रहेको गुरुङको भनाइ छ ।

शशांकको संयोजकत्वमा भएको भनिएको भेलामाथि चासो
समितिले डा। शशांक कोइरालाको संयोजकत्वमा भएको भनिएको भेला र त्यहाँ निवर्तमान सभापति शेरबहादुर देउवालाई ‘सभापति’ लेखिएको नेमप्लेट राखेर स्वागत गरिएको विषयमा चासो व्यक्त गरेको छ ।

गगन थापा नेतृत्वको कार्यसमिति आधिकारिक रहेको अवस्थामा निवर्तमान सभापतिलाई वर्तमान सभापतिका रूपमा प्रस्तुत गर्नु र नक्कली लेटरप्याड प्रयोग गर्नु विधानसम्मत नहुने संयोजक गुरुङले बताए ।

“त्यस्ता भेलामा भएका गतिविधि, नेताहरूले प्रयोग गरेका शब्द र उपस्थितिको पूर्ण अभिलेख संकलन गरिरहेका छौँ,” उनले भने, “पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउने जो कोहीको पनि छानबिन हुनेछ ।”

पार्टीको हितका लागि गरिने भेला तथा सम्मेलनमा बन्देज नरहेको तर पार्टीविरुद्ध लक्षित गतिविधिमाथि निगरानी राखिने समितिले स्पष्ट पारेको छ । अनुशासन समितिले विशेष महाधिवेशन, निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत आधिकारिकता प्राप्त गरेको दाबी गर्दै पार्टी विधानको धारा १७ को उपधारा (२) बमोजिम काम गरिरहेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर