२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

फुटेका पैताला र सडकपेटीको त्रिपाल : राजधानीमै निमुखा नागरिकको आर्तनाद (फोटो फिचर)

Nada
२०८३ भदौ ५ गते १७:२८
Shares
फुटेका पैताला र सडकपेटीको त्रिपाल : राजधानीमै  निमुखा नागरिकको आर्तनाद (फोटो फिचर)

काठमाडौं : लघुवित्त, मिटरब्याज तथा सहकारीको ऋणका कारण घरबार गुमाएको भन्दै देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका पीडितहरू हरिहरभवन क्षेत्रमा सडकमा धर्नामा बसेका छन् ।

ncell

सुनसरीको इनरुवाबाट काठमाडौंसम्म १९ दिन पैदल यात्रा गरेर आएका पीडितसहित देशका विभिन्न स्थानबाट आएका नागरिकहरू विगत सात दिनदेखि सडकपेटीमा बसेर न्यायको माग गरिरहेका छन् । उनीहरूले ऋण असुलीका नाममा भएको शोषण अन्त्य गर्नुपर्ने, गुमेको घरजग्गा तथा सम्पत्ति फिर्ता गराउनुपर्ने र पीडितको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग राखेका छन् ।

धर्नास्थलमा महिला, वृद्धवृद्धा तथा बालबालिकासमेत त्रिपालमुनि कठिन अवस्थामा बसिरहेका छन् । चर्को गर्मी, धुलो, वर्षा र खानेपानी तथा बसोबासको असहजताका कारण उनीहरूलाई दैनिक जीवनयापनमा समस्या भइरहेको छ ।

पीडितहरूले ‘हाम्रो घर फर्काइदेऊ सरकार, हाम्रो परिवार फर्काइदेऊ’ र ‘हामी अपराधी होइनौँ, हामी नागरिक हौँ’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका छन् । केही पीडितले नेपाल सरकारबाट सुनुवाइ नभएको भन्दै अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकर्षण गराउने प्रयास गरेका छन् ।

धर्नास्थलमा स्वास्थ्य समस्या देखिन थालेपछि नजिकै काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा सहभागी पीडितमध्ये केहीमा डिहाइड्रेसन, ज्वरो, उच्च रक्तचाप तथा कुपोषणलगायतका समस्या देखिएको बताइएको छ ।

पीडितहरूले आफूहरू विलासिताका लागि नभई बाँच्न पाउने अधिकार, आफ्नो सम्पत्तिको सुरक्षा र ऋण शोषणबाट मुक्ति माग्दै राजधानी आएको बताएका छन् । लामो समयदेखि सडकमा बसेर आन्दोलन गरिरहेका उनीहरूले सरकारले तत्काल वार्ता गरी समस्या समाधान गर्नुपर्ने माग गरेका छन् ।

हरिहरभवनमा जारी धर्नाले लघुवित्त, मिटरब्याज र सहकारी क्षेत्रमा ऋणग्रस्त नागरिकले भोग्दै आएको समस्या तथा राज्यको नीतिगत हस्तक्षेपको आवश्यकतालाई पुनः सतहमा ल्याएको छ ।
तस्बिर : अनुप प्रधान/न्युज एजेन्सी नेपाल

 

 

ताजा खबर

सम्बन्धित खबर