२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

Nada
२०८३ भदौ ५ गते १६:४५
Shares
मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

काठमाडौँ : निर्वाचन आयोगले मतदाता नामावलीलाई शुद्ध, व्यवस्थित र अद्यावधिक बनाउन आफ्नो विवरण जाँच गरी आवश्यक सुधारका लागि निवेदन दिन मतदातालाई आग्रह गरेको छ ।

ncell

आयोगले संवत् २०८३ असोज १ गते वेबसाइटमा मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ। प्रकाशित नामावलीमा रहेको विवरण जाँच गरेर त्रुटि भए सच्याउन सम्बन्धित निर्वाचन कार्यालय वा आयोगको अनलाइन प्रणालीमार्फत निवेदन दिन सकिनेछ ।

आयोगका अनुसार मतदाताले आफ्नो नाम, थर, उमेर र ठेगानालगायत विवरणमा त्रुटि भए सच्याउन निवेदन दिन सक्नेछन् । कसैले झुटो विवरण पेस गरी मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भए त्यसविरुद्ध उजुरी दिन पनि आयोगले अनुरोध गरेको छ ।

एकभन्दा बढी स्थानको मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले आफूले रोजेको एक स्थानमा मात्र नाम कायम गरी बाँकी स्थानबाट हटाउन निवेदन दिनुपर्नेछ ।

त्यस्तै, नागरिकता त्याग गरेका वा मृत्यु भएका व्यक्तिको नाम मतदाता नामावलीमा कायम रहेको पाइएमा सम्बन्धित व्यक्तिको विवरण अद्यावधिक गराउन सूचना दिन सकिने आयोगले जनाएको छ। निवेदन तथा सूचना आयोगको वेबसाइट मार्फत पेस गर्न सकिनेछ । 

मतदाता नामावलीको शुद्धता र नियमित अद्यावधिकताले निर्वाचनको स्वच्छता, निष्पक्षता तथा विश्वसनीयता कायम गर्न सहयोग पुग्ने भन्दै आयोगले त्रुटि, दोहोरो नाम वा अन्य गलत विवरण सच्याउने कार्यमा सहयोग गर्न सबै नागरिकलाई आग्रह गरेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर