
सिरहा : सिरहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका–२ गम्हरियाका विपन्न परिवारका दुई दाजुभाइलाई सुतेकै ओछ्यानमा विषालु सर्पले डसेपछि आर्थिक अभावका बीच उपचार भइरहेको छ । स्थानीय बासिन्दा, युवा, व्यवसायी तथा आफन्तले आर्थिक सहयोग जुटाएपछि उनीहरूको उपचार विराटनगरस्थित विराट नर्सिङ होममा भइरहेको हो ।
स्थानीय अशोक भगत र बविताकुमारी भगतका तीन सन्तानमध्ये जेठो छोरा ११ वर्षीय प्रियान्सु भगत र सात वर्षीय दिव्यान्सु भगतलाई गत बुधबार राति सुतिरहेको अवस्थामा करेत सर्पले डसेको परिवारले जनाएको छ ।
सर्पले डसेपछि दुवैलाई तत्काल उपचारका लागि विराटनगर लगिएको थियो। उपचारका क्रममा प्रियान्सुको अवस्था गम्भीर रहेकाले उनलाई भेन्टिलेटरमा राखिएको छ भने दिव्यान्सुको अवस्था भने खतरामुक्त रहेको परिवारले जनाएको छ ।
प्रियान्सु स्थानीय बालासुन्दरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् । उनका भाइ दिव्यान्सु सोही विद्यालयको कक्षा ३ मा पढ्दै आएका छन् ।
राजनीतिकर्मीसमेत रहेका स्थानीय रामनाथ यादवका अनुसार भगत परिवारसँग सात धुर घडेरीबाहेक अन्य सम्पत्ति छैन । मजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएका भगत दम्पतीलाई दुई छोराको उपचार खर्च जुटाउन कठिन भएपछि स्थानीयले सहयोग अभियान थालेका हुन् ।
‘अहिलेसम्म स्थानीय युवाले डिजिटल अभियानमार्फत तीन लाख रुपैयाँभन्दा बढी संकलन गरेर उपचारका लागि पठाइसकेका छन्,’ यादवले भने, ‘गाउँलेहरूले पनि आफ्नो क्षमताअनुसार परिवारलाई आर्थिक सहयोग गरिरहेका छन् ।’
दुई बालकको उपचारमा ठूलो रकम आवश्यक परिरहेको र परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गर्न स्थानीयले अपिलसमेत गरेका छन् । आर्थिक अभावका कारण उपचार प्रभावित नहोस् भनेर गाउँमै सहयोग संकलन अभियानलाई निरन्तरता दिइएको यादवले बताए ।
सर्पदंशको घटनापछि गाउँमा समेत चिन्ता बढेको छ । विशेषगरी वर्षायाममा ग्रामीण क्षेत्रमा सर्पदंशका घटना बढ्ने भएकाले स्थानीयले समयमै उपचारको व्यवस्था तथा जनचेतना आवश्यक रहेको बताएका छन् ।
सहयोग गर्न चाहनेहरूका लागि :
