
रौतहट : जिल्लाको सदरमुकाम गौर स्थित प्रभात बोर्डिङ स्कुलमा विद्यार्थीहरूलाई लक्षित गरी सामाजिक जोखिम सुरक्षा चुनौती तथा विपद् व्यवस्थापनसम्बन्धी बृहत् सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । गौर नगरपालिका–३ मा अवस्थित उक्त विद्यालयमा आयोजित कार्यक्रममा लागुऔषध दुरुपयोग साइबर अपराध विपद् व्यवस्थापन र मानव बेचबिखन एवं ओसारपसार नियन्त्रणबारे गहन प्रशिक्षण प्रदान गरिएको छ ।
कार्यक्रममा गौर सिमा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गा भट्टले मुख्य प्रशिक्षकको रूपमा सहजीकरण गर्दै विद्यार्थीहरूलाई आधुनिक समाजमा देखा परेका विविध सामाजिक अपराध र तिनका रोकथामका उपायबारे प्रकाश पारेका थिए । साना हातहरु नेपालका जिल्ला सीमा नाका इन्चार्ज ललन यादवको नेतृत्वमा सञ्चालित सो कार्यक्रममा किशोर-किशोरीहरूलाई लागुऔषधको दुर्व्यसनबाट बचाउन अपनाउनुपर्ने सतर्कता यसका शारीरिक मानसिक तथा सामाजिक दुष्परिणामबारे गम्भीर रूपमा सचेत गराइएको थियो ।
त्यसैगरी प्रविधिको बढ्दो प्रयोगसँगै निम्तिएको साइबर अपराधबाट सुरक्षित रहने तरिका सामाजिक सञ्जालको मर्यादित एवं जिम्मेवार प्रयोग तथा अनलाइन ठगी र डिजिटल जोखिमबाट बच्ने उपायबारे विस्तृत जानकारी दिइएको थियो । विपद्को समयमा अपनाउनुपर्ने पूर्वतयारी तथा सुरक्षात्मक उपाय र खुला सीमा नाकाका कारण बढ्न सक्ने मानव बेचबिखन तथा ओसारपसारको जोखिमबारे समेत विद्यार्थीहरूलाई सुसूचित पारिएको थियो ।
उक्त कार्यक्रममा भन्सार सुरक्षा गार्ड कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक दीपक यादव, सामाजिक अभियन्ता एवं मानव सेवा केन्द्रका इन्चार्ज र बाल हेल्पलाइनका जिल्ला प्रतिनिधि अरुण पटेललगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
बाल्यकाल तथा किशोरावस्थामै आपराधिक गतिविधि र सामाजिक विकृतिबारे सचेत गराउने उद्देश्यले आयोजित यो कार्यक्रम अत्यन्तै व्यावहारिक र प्रभावकारी रहेको सहभागी विद्यार्थी तथा शिक्षकहरूले बताए । विद्यार्थीहरूमा सकारात्मक सोचको विकास गरी लागुऔषधमुक्त, साइबर अपराधमुक्त र मानव बेचबिखनसहितका सामाजिक अपराधमुक्त सुरक्षित समाज निर्माणमा यस्ता कार्यक्रमले दीर्घकालीन योगदान पुर्याउने विश्वास लिइएको छ ।