२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

गुडवीभ अध्यक्षमा किरण थापा निर्वाचित

Nada
२०८३ भदौ ५ गते १४:१५
Shares
गुडवीभ अध्यक्षमा किरण थापा निर्वाचित

काठमाडौं : बाल अधिकारको संरक्षण तथा प्रवर्द्धन र गलैंचा कारखानाबाट बालश्रम उन्मूलनको क्षेत्रमा तीन दशकदेखि सक्रिय नेपाल गुडवीभ फाउन्डेसनको ३१औँ वार्षिक साधारण सभाले किरण थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

ncell

साधारण सभाबाट उपाध्यक्षमा डा. रूपा मुनाकर्मी र महासचिवमा सन्तोष महर्जन निर्वाचित भएका छन् । यस्तै, रिक्त कार्यसमिति सदस्यमा स्वस्तिका सुवेदी र आशुतोष कार्की निर्वाचित भएका छन् ।

साधारण सभाको उद्घाटन समाज कल्याण परिषद्का सदस्यसचिव चक्रबहादुर बुढाले गरेका थिए । कार्यक्रममा बोल्दै बुढाले राष्ट्रिय विकास र समृद्धिमा योगदान पुग्ने गरी सामाजिक संघसंस्थाले प्रभावकारी र परिणाममुखी ढंगले काम गर्नुपर्ने बताए ।

सामाजिक क्षेत्रमा सक्रिय संस्थालाई प्रोत्साहन र निष्क्रिय संस्थालाई नियमनमार्फत बन्द गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिवसमेत रहेका बुढाले सामाजिक संघसंस्थाले आफ्नो उद्देश्यअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

राज्य र सामाजिक संस्थाबीच प्रभावकारी समन्वय हुन सके विकासका गतिविधिलाई थप प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईले बालश्रम उन्मूलनका क्षेत्रमा नेपाल गुडवीभ फाउन्डेसनले गर्दै आएको कामको प्रशंसा गरे ।

फाउन्डेसनका महासचिव किरण थापाले संस्थाको स्थापना, विकासक्रम तथा पछिल्लो समय सञ्चालन गरिएका गतिविधिबारे जानकारी दिँदै गुडवीभ आफ्नो लक्ष्यबाट विचलित नभई निरन्तर काम गर्ने बताए ।

कार्यवाहक अध्यक्ष बलराम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं विश्वविद्यालयकी प्राध्यापक डा. रूपा मुनाकर्मी, राष्ट्रिय कार्य समन्वय समूह नेपालका नरेन्द्र डंगोललगायतले बालबालिकाको क्षेत्रमा गुडवीभले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर