
बिहानको चिसो नसकिँदै नेपाली सडकमा सवारीसाधन र पैदलयात्रीको चाप तीव्र गतिमा बढ्न थाल्छ । कार्यालय जानेको हतारो, विद्यालय हिँडेका विद्यार्थी, सार्वजनिक यातायातका यात्रु, निजी सवारीको भिड र पैदलयात्रीको चापसँगै सडकमा एउटा दृश्य दैनिक दोहोरिन्छ– चोकको बीचमा उभिएको ट्राफिक प्रहरी । हातमा सिटी, शरीरमा पोसाक, अनुहारमा गम्भीरता र आँखामा निरन्तर सडक नियाल्ने जिम्मेवारी । कहिले हात उठाएर सवारी रोकिरहेका हुन्छन्, कहिले जाम खुलाइरहेका हुन्छन् त कहिले दुर्घटनास्थलमा पुगेर उद्धार तथा व्यवस्थापनमा जुटिरहेका हुन्छन् । कसैलाई बाटो देखाइरहेका हुन्छन्, कसैलाई नियम सम्झाइरहेका हुन्छन् । तर, ट्राफिक प्रहरीको मनभित्र गहिरो पीडा लुकेको हुन्छ ।
सडकमा उभिएर ड्युटी गर्नु सामान्य कामजस्तो देखिए पनि यो शारीरिक र मानसिक रूपमा अत्यधिक चुनौतीपूर्ण जिम्मेवारी हो । चर्को घाम होस् वा लगातारको वर्षा, चिसो हावा होस् वा धुलो–धुवाँ, उनीहरूलाई सडक छाड्ने सुविधा हुँदैन । सडकमा सवारीको गति नियन्त्रण गर्नु, जाम व्यवस्थापन गर्नु र दुर्घटना रोक्नु उनीहरूको नियमित दायित्व हो । नागरिकका लागि केही मिनेटको ट्राफिक जाम असह्य बन्न सक्छ, तर त्यही जाम खुलाउन घण्टौंसम्म सडकमा उभिने प्रहरीको अवस्था कस्तो होला?
‘सिटी’ बजाउँदै बित्छ दिन
ट्राफिक प्रहरीको ड्युटी घडी हेरेर मात्र चल्दैन । सडकको अवस्थाअनुसार उनीहरूको कामको समय लम्बिन्छ । कार्यालय समयमा सडकमा सवारीको चाप बढ्दा उनीहरूलाई एकछिन पनि ढुक्क भएर उभिने अवस्था हुँदैन । एउटा दिशाबाट सवारी रोक्दै अर्को दिशाबाट चलाउनुपर्छ । पैदलयात्रीलाई सुरक्षित रूपमा बाटो काट्न सहयोग गर्नुपर्छ । एम्बुलेन्स, दमकल वा अन्य अत्यावश्यक सवारी आए तत्काल बाटो खुलाउनुपर्छ ।
यसैबीच कुनै चालकले नियम उल्लंघन गरे कारबाही गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा चालकहरूसँग अनावश्यक विवाद र झडपसमेत हुन्छ । सडकमा उभिएर नियम कार्यान्वयन गराउने प्रहरीलाई कतिपय नागरिकले ‘जरिवाना गर्ने प्रहरी’का रूपमा मात्र बुझ्छन्, तर उनको जिम्मेवारी त्यसभन्दा धेरै ठुलो छ । ट्राफिक प्रहरीको एउटा सानो गल्ती वा असावधानीले ठुलो दुर्घटना निम्त्याउन सक्छ । त्यसैले उनीहरू निरन्तर सचेत रहनुपर्छ ।
प्रदूषणको मार
सडकमा खटिने ट्राफिक प्रहरीका लागि सबैभन्दा ठुलो चुनौती वायु र ध्वनि प्रदूषण हो । सवारीसाधनको धुवाँ, सडकको धुलो र निरन्तरको हर्नको आवाजबीच घण्टौं उभिनुपर्ने बाध्यता छ । सडकमा गुड्ने सवारीसाधनका लागि केही सेकेन्डको धुवाँ सामान्य हुन सक्छ, तर त्यही धुवाँको बीचमा दैनिक घण्टौं उभिने प्रहरीका लागि त्यो दीर्घकालीन स्वास्थ्य जोखिम बन्छ ।
त्यस्तै, मौसमले पनि उनीहरूलाई छुट दिँदैन । असार–साउनको वर्षामा सडकमा पानी जमेको हुन्छ, ढल उम्लिएको हुन्छ र सडक चिप्लो हुन्छ । मानिसहरू छाता ओढेर वा गाडीभित्र सुरक्षित भएर यात्रा गर्छन्, तर ट्राफिक प्रहरी भने सडकको बीचमा उभिएर सबैलाई सुरक्षित गन्तव्यतर्फ पठाउन पानीमा भिजिरहेका हुन्छन् । हिउँदमा कठ्यांग्रिँदो चिसो र गर्मीमा चर्को घाममा घण्टौं उभिँदा शरीर कमजोर हुन्छ । समयमा खानेपानी र खाना खाने वातावरणसम्म उनीहरूले पाउँदैनन् ।
परिवारभन्दा पहिले कर्तव्य
दसैं, तिहार, छठ, नयाँ वर्ष वा सार्वजनिक बिदाका दिन धेरै नेपालीका लागि परिवारसँग बिताउने समय हुन् । तर, ट्राफिक प्रहरीका लागि यस्ता दिन झन् बढी व्यस्त र तनावपूर्ण हुन्छन् । चाडपर्वमा मानिस घर फर्किन्छन्, सडकमा यात्रु र सवारीको चाप बढ्छ र दुर्घटनाको जोखिम पनि उत्तिकै रहन्छ । त्यसैले परिवारसँग बसेर टीका लगाउने वा बालबालिकासँग समय बिताउने रहर हुँदै गर्दा पनि उनीहरू सडकमा खटिनुपर्छ ।
घरमा बच्चाले ‘बुबा कहिले आउनुहुन्छ ?’ भनेर पर्खिरहेका हुन्छन् । श्रीमती वा परिवारका सदस्यले फोन गरेर घर आउने समय सोधिरहेका हुन्छन्, तर उनीहरूको जवाफ प्रायः एउटै हुन्छ– ड्युटी छ ।
यो दुई शब्दभित्र ट्राफिक प्रहरीको ठुलो पारिवारिक त्याग र पीडा लुकेको हुन्छ । बच्चा बिरामी हुँदा वा घरमा ठुलो समस्या पर्दा पनि उनीहरूले कर्तव्यलाई नै प्राथमिकतामा राख्नुपर्छ ।
‘प्रहरी थाक्दैन’ भन्ने भ्रम
समाजमा ‘प्रहरी भएपछि थाक्नुहुँदैन’ भन्ने गलत धारणा छ । तर, प्रहरी पनि हाडछालाले बनेको मानिस नै हो । उनीहरूलाई पनि आराम, पोषण, निद्रा र मानसिक शान्ति चाहिन्छ । घण्टौं सडकमा उभिएपछि शरीर दुख्नु, धुलो–धुवाँले श्वासप्रश्वासको समस्या हुनु र दुर्घटनाका दृश्यले मानसिक तनाव हुनु स्वाभाविक हो ।
त्यसैले ट्राफिक प्रहरीलाई पोसाक र सिटी मात्र दिएर पुग्दैन । उनीहरूका लागि नियमित स्वास्थ्य परीक्षण, पर्याप्त आराम, खानेपानी, शौचालय र मौसमअनुकूल सुरक्षा सामग्रीको व्यवस्था गर्नु राज्यको प्राथमिक दायित्व हुनुपर्छ ।
नियम पालना नै सम्मान
ट्राफिक व्यवस्थापन प्रहरीको एकल जिम्मेवारी मात्र होइन । सडकको क्षमता, पार्किङ व्यवस्थापन, सार्वजनिक यातायातको स्थिति, ट्राफिक बत्ती र चालकको अनुशासनजस्ता विषयले यसमा ठुलो भूमिका खेल्छन् । पूर्वाधारको कमीले हुने समस्याको दोष सडकमा उभिएको प्रहरीलाई मात्र दिनु जायज हुँदैन ।
नियम उल्लंघन गर्दा ट्राफिक प्रहरीले रोक्नु व्यक्तिगत दुस्मनी होइन, सडक सुरक्षाका लागि हो । प्रहरीलाई गाली गर्नु वा पहुँच देखाउनुभन्दा नियमको पालना गर्नु नै उनीहरूप्रतिको वास्तविक सम्मान हो । सडकमा खटिएको ट्राफिक प्रहरी केवल एउटा पोसाक मात्र होइन, कसैको छोरा, श्रीमान्, बुबा वा दाजुभाइ पनि हो । उसले बजाएको सिटीमा आदेश मात्र छैन, हाम्रै सुरक्षित यात्राको चिन्ता पनि छ ।