२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

सहकारीको साथले फस्टायो बाख्रापालन, ४ करोड बराबरको कारोबार 

Nada
प्रदीप मगर
२०८३ असार ३२ गते २१:४६
Shares
सहकारीको साथले फस्टायो बाख्रापालन, ४ करोड बराबरको कारोबार 

सल्यान : सल्यानको त्रिवेणी गाउँपालिकामा सहकारीमार्फत खसीको बजारीकरण व्यवस्थित भएपछि बाख्रापालन व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको छ । 

ncell

बजारको सुनिश्चितता र गाउँपालिकाको प्रोत्साहनले परम्परागत रूपमा गरिँदै आएको बाख्रापालन अहिले धेरै किसानका लागि नियमित आम्दानीको स्रोत बनेको छ । गाउँपालिकाको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा पाँच वटा सहकारीमार्फत दुई हजार ५ सय ८० वटा खसी बिक्री भएका छन् । 

यी खसीबाट किसानले कुल चार करोड ७० लाख ९७ हजार ५ सय  ८६ रुपैयाँ आम्दानी गरेका छन्। यस अवधिमा सहकारीमार्फत ९८ हजार २३ केजी खसी बिक्री भएको पशु सेवा अधिकृत बसन्त रावतले जानकारी दिए । उनका अनुसार उत्पादन बढेसँगै किसानले बिक्रीका लागि निजी व्यापारीको भर पर्नुपर्ने अवस्था घटेको छ, जसले उचित मूल्य प्राप्त गर्न सहज भएको छ । उत्पादनलाई प्रोत्साहन गर्न गाउँपालिकाले ‘कृषकको उत्पादन, गाउँपालिकाको अनुदान’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

यस वर्ष ८७८ किसानमध्ये एक सय केजीभन्दा बढी खसी बिक्री गरेका ४६९ किसानलाई प्रतिकिलो १२ रुपैयाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराइएको छ । बजेट सीमित भएकाले अघिल्लो वर्षको प्रतिकिलो २० रुपैयाँ अनुदानलाई घटाएर १२ रुपैयाँ कायम गरिएको गाउँपालिकाले जनाएको छ । किसान र सहकारी संस्थालाई गरी करिब नौ लाख ७२ हजार रुपैयाँ वितरण गरिएको छ । यसमध्ये किसानले नौ लाख ३३ हजार ५१६ रुपैयाँ र सहकारी संस्थाले व्यवस्थापकीय खर्चबापत ३८ हजार ८९६ रुपैयाँ प्राप्त गरेका छन्। अनुदान प्राप्त गर्ने सहकारीमध्ये नमुना सामाजिक उद्यमी महिला सहकारीका ७४ किसानले एक लाख ३० हजार २३० रुपैयाँ, त्रिवेणी पशुपालन व्यवसाय सहकारीका १८१ किसानले दुई लाख ९६ हजार ८६२ रुपैयाँ, उपहार सामाजिक उद्यमी महिला सहकारीका ५९ किसानले एक लाख ९ हजार ८ रुपैयाँ, दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारीका १३८ किसानले तीन लाख ६७ हजार ११६ रुपैयाँ तथा त्रिवेणी साना किसान सहकारीका १७ किसानले ३० हजार ३०० रुपैयाँ अनुदान पाएका छन् ।

गाउँपालिका अध्यक्ष खिमबहादुर रावतका अनुसार सहकारीमार्फत बजारीकरण भएपछि किसान र बजारबीचको दूरी घटेको छ । बजारको सुनिश्चितताले गाउँका युवा र महिलालाई समेत व्यावसायिक बाख्रापालनतर्फ आकर्षित गरेको उनले बताए । स्थानीय तहको प्रोत्साहनसँगै सहकारी प्रणाली प्रभावकारी बन्दै जाँदा त्रिवेणीमा बाख्रापालन केवल परम्परागत पेशामा सीमित नरही ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको देखिन्छ ।

uae

सम्बन्धित खबर