२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

वैदेशिक रोजगार र जनसांख्यिक अवसर

Nada
खगेन्द्र पौडेल
२०८३ जेठ २७ गते ०६:००
Shares
वैदेशिक रोजगार र जनसांख्यिक अवसर

नेपालमा हरेक वर्ष ठूलो संख्यामा युवा रोजगारी, शिक्षा वा राम्रो जीवनस्तरको खोजीमा विदेशिने क्रम जारी छ । खाडी मुलुक, मलेसिया, जापान, दक्षिण कोरिया, युरोप तथा अन्य विकसित देशहरू नेपाली युवाका प्रमुख गन्तव्य बनेका छन् । यस प्रवृत्तिलाई केवल वैदेशिक रोजगारको प्रश्नका रूपमा मात्र हेर्न सकिँदैन । यो नेपालको जनसंख्या संरचना, आर्थिक अवस्था, श्रम बजार तथा विकास नीतिसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो ।

ncell

हाल नेपाल यस्तो चरणमा छ, जहाँ काम गर्न सक्ने उमेर समूहको जनसंख्या अन्य उमेर समूहको तुलनामा धेरै छ । जनसांख्यिक विज्ञानमा यस अवस्थालाई ‘जनसांख्यिक लाभांश’ भनिन्छ । कुनै देशको इतिहासमा यस्तो अवसर सीमित समयका लागि मात्र प्राप्त हुन्छ । यदि युवाशक्तिलाई शिक्षा, सीप र रोजगारीमार्फत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सकियो भने देशले तीव्र आर्थिक प्रगति गर्न सक्छ । तर अवसरको उपयोग गर्न नसकिए यही जनसंख्या बोझमा परिणत हुन सक्छ ।

विश्वका धेरै देशले जनसांख्यिक लाभांशको प्रभावकारी उपयोग गरेका उदाहरण भेटिन्छन् । दक्षिण कोरिया, सिंगापुर र ताइवानले युवा जनसंख्यालाई उद्योग, उत्पादन र प्रविधि क्षेत्रमा परिचालन गरेर केही दशकभित्रै गरिब राष्ट्रबाट विकसित अर्थतन्त्रको रूपमा आफूलाई स्थापित गरे । त्यस्तै चीनले श्रमशक्ति, औद्योगिकीकरण र निर्यातमुखी नीतिको सहायताले विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्ने आधार तयार गर्‍यो ।

नेपालमा भने पर्याप्त रोजगारीको अभाव, न्यून पारिश्रमिक र सीमित औद्योगिक विकासका कारण युवाहरू विदेशिन बाध्य भइरहेका छन् । वैदेशिक रोजगारको प्रमुख कारण ज्यालाको ठूलो अन्तर पनि हो । नेपालमा प्राप्त हुने आम्दानीको तुलनामा विदेशमा समान कामबाट धेरै गुणा बढी कमाउन सकिने भएकाले युवा आकर्षित हुनु स्वाभाविक हो । यही कारणले विदेशिने क्रम निरन्तर बढिरहेको देखिन्छ ।

यद्यपि वैदेशिक रोजगारका केही सकारात्मक पक्ष पनि छन् । विदेशमा कार्यरत नेपालीहरूले पठाउने रेमिट्यान्सले लाखौं परिवारको जीवनस्तर सुधार्न मद्दत गरेको छ । शिक्षा, स्वास्थ्य, आवास र दैनिक उपभोगमा रेमिट्यान्सको योगदान महत्वपूर्ण छ । ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउन पनि यसको भूमिका देखिन्छ । नेपालजस्तो विकासोन्मुख देशका लागि विदेशी मुद्राको प्रमुख स्रोतका रूपमा रेमिट्यान्सले अर्थतन्त्रलाई टेवा पुर्‍याएको छ ।

तर यसको अर्को पक्ष पनि उत्तिकै गम्भीर छ । रेमिट्यान्समा अत्यधिक निर्भर अर्थतन्त्रले उत्पादनशील क्षेत्रको विकासलाई कमजोर बनाउन सक्छ । नेपालमा प्राप्त विप्रेषणको ठूलो हिस्सा उद्योग, कृषि वा व्यवसायमा लगानी हुनुभन्दा उपभोग, घरजग्गा र आयातित वस्तु खरिदमा खर्च हुने गरेको देखिन्छ । फलस्वरूप देशभित्र उत्पादन बढ्नुको सट्टा आयातमा निर्भरता बढ्दै गएको छ ।

कृषि क्षेत्रमा श्रमिक अभाव अर्को चुनौती बनेको छ । गाउँघरका धेरै युवा विदेशिएपछि खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेको छ । कतिपय जिल्लामा वृद्धवृद्धा र बालबालिकामात्र बस्ने अवस्था देखिन थालेको छ । यसले खाद्य सुरक्षासँगै ग्रामीण अर्थतन्त्रलाई पनि असर पुर्‍याइरहेको छ ।

अर्को महत्वपूर्ण समस्या प्रतिभा पलायन हो । अहिले सामान्य श्रमिक मात्र होइन, चिकित्सक, नर्स, इन्जिनियर, सूचना प्रविधि विज्ञ तथा अनुसन्धानकर्तासमेत विदेशिने क्रम बढ्दो छ । उच्च शिक्षा हासिल गरेका दक्ष जनशक्ति देशबाहिर गएपछि राष्ट्रिय विकासका लागि आवश्यक मानव स्रोत कमजोर बन्दै जान्छ । यसले दीर्घकालीन रूपमा देशको प्रतिस्पर्धात्मक क्षमता घटाउन सक्छ ।

तर केही देशहरूले विदेश गएका नागरिकलाई अवसरका रूपमा पनि उपयोग गरेका छन् । उदाहरणका लागि, भारतका धेरै प्रविधि विज्ञ र उद्यमी विदेशमा अनुभव हासिल गरेर स्वदेश फर्किए । उनीहरूले नयाँ उद्योग, प्रविधि कम्पनी र रोजगारीका अवसर सिर्जना गरे । चीनले पनि विदेशस्थित विज्ञहरूलाई आकर्षित गर्न विशेष कार्यक्रम सञ्चालन गर्‍यो । परिणामस्वरूप विदेशमा संकलित ज्ञान, सीप र पुँजी देशभित्र भित्र्याउन सफल भयो ।

नेपालले पनि यस्तै नीति अवलम्बन गर्न आवश्यक छ । विदेशमा रहेका नागरिकहरूको सीप, अनुभव र लगानीलाई राष्ट्रिय विकाससँग जोड्न सकिए मात्रै नेपालले ठूलो लाभ लिन सक्छ । त्यसका लागि उद्यमशीलता प्रवद्र्धन, लगानीमैत्री वातावरण, सीपको मान्यता तथा फर्किएका कामदारलाई व्यवसाय सञ्चालनमा सहयोग गर्ने कार्यक्रम आवश्यक छन् ।

साथै, देशभित्रै रोजगारी सिर्जना गर्न उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि र पूर्वाधार क्षेत्रमा लगानी बढाउनुपर्छ । युवालाई आधुनिक सीप प्रदान गर्ने शिक्षा प्रणाली र व्यावसायिक तालिमलाई प्राथमिकता दिनुपर्छ । विदेश जाने श्रमिकलाई पनि बढी सीपयुक्त बनाएर पठाउन सके उनीहरूले उच्च आम्दानी प्राप्त गर्न सक्छन् ।

वैदेशिक रोजगारलाई केवल समस्या वा समाधानका रूपमा हेर्न मिल्दैन । यो देशभित्र उपलब्ध अवसर र विश्वव्यापी श्रम बजारबीचको सम्बन्धको परिणाम हो । नेपालसँग अहिले पनि जनसांख्यिक लाभांशको अवसर बाँकी छ । यदि सही नीति, प्रभावकारी लगानी र दक्ष मानव स्रोत विकासमा ध्यान दिन सकियो भने आज विदेशिएका युवाको सीप, अनुभव र पुँजी भोलिको नेपालको विकासको आधार बन्न सक्छ । अन्यथा, यो दुर्लभ जनसांख्यिक अवसर क्रमशः हराउँदै जानेछ र भविष्यमा वृद्ध जनसंख्याको बढ्दो बोझ सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।

सम्बन्धित खबर