
लामो समयसम्म विश्व राजनीति जुन स्थापित मान्यता र ढाँचामा हिँडिरहेको थियो, आज त्यो संरचना पूर्ण रूपमा खण्डित भइसकेको छ । दोस्रो विश्वयुद्धको अन्त्य र विशेषगरी शीतयुद्धको पटाक्षेपपछि विश्वले जुन ‘एकध्रुवीय’ व्यवस्थाको अभ्यास गरेको थियो, त्यसको आयु अब समाप्तिको दिशातिर उन्मुख देखिन्छ । समकालीन विश्व राजनीति आज केवल परम्परागत कूटनीतिक भेटघाट, औपचारिक सन्धि–सम्झौता वा सैन्य प्रतिस्पर्धाको सीमाभित्र मात्र कैद छैन, यो त शक्ति मनोविज्ञानको सांकेतिक सन्देश, आर्थिक वर्चस्वको लडाइँ, विश्वव्यापी आपूर्ति शृंखलाको नियन्त्रण र नव–वैचारिक प्रभुत्वको एउटा यस्तो बहुआयामिक महासंग्राममा रूपान्तरित भइसकेको छ । जहाँ प्रत्येक चालले भविष्यको नयाँ इतिहास लेखिरहेको छ ।
युक्रेन, इरान, भेनेजुएला र ताइवानसम्म देखिएको घटनालाई हेर्दा नै आजको विश्व परिस्थिति बुझ्न सकिन्छ । यसले के स्पष्ट पार्छ भने, विश्व अब कुनै एउटा शक्तिको इसारामा चल्ने पूर्वाग्रहबाट मुक्त हुँदै एउटा नयाँ, जटिल र बहुध्रुवीय शक्ति संरचनातर्फ तीव्र गतिमा प्रवेश गरिरहेको छ । यो संक्रमणकालीन अवस्थाले पुराना नियमलाई भत्काएको मात्र छैन, भविष्यको विश्व कस्तो हुनेछ भन्ने विषयमा नयाँ वैश्विक बहसको विजारोपण समेत गरिदिएको छ ।
नयाँ ध्रुवीकरण
यस वैश्विक संक्रमणको केन्द्रमा संयुक्त राज्य अमेरिकाको रणनीतिक स्वार्थ र त्यसलाई विश्वभरिबाट दिइएको चुनौती प्रस्ट देखिन्छ । लामो समयसम्म पश्चिमा जगत्ले अघि सारेका लोकतन्त्र, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता र नियममा आधारित विश्व व्यवस्थाका भाष्य आज आफ्नै विरोधाभासको चक्रव्यूहमा फसेका छन् । विकासशील र उदीयमान राष्ट्रहरूले यी आदर्शलाई पश्चिमा मुलुकको दोहोरो मापदण्डका रूपमा औंल्याउन थालेका छन् । मध्यपूर्व निम्त्याइएको मानवीय संकटले पनि अवस्थालाई प्रस्ट्याउँछ । जब मानवअधिकार र सुरक्षाका कुराहरू केवल आफ्नो भूराजनीतिक प्रभाव विस्तार, सैन्य गठबन्धनको सुदृढीकरण र हतियार बजारको खोजीसँग मात्र जोडिन्छन्, तब साना र विकासशील मुलुकमा स्थापित व्यवस्थाप्रति मोहभंग हुनु स्वाभाविक प्रक्रिया बन्न जान्छ ।
यही अविश्वास र असन्तुष्टिको जगमा चीन, रुस र ‘ग्लोबल साउथ’ अर्थात् विश्वका विकासशील र उदीयमान शक्तिहरू वैकल्पिक विश्व व्यवस्थाको खाका कोर्न सक्रिय छन् । यो परिवर्तन केवल सैन्य शक्तिको प्रदर्शन वा सिमानाको लडाइँमा मात्र सीमित छैन, यसको गहिरो प्रभाव विश्वव्यापी व्यापार, ऊर्जा आपूर्ति र कूटनीतिक सम्बन्धको मनोविज्ञानमा समेत प्रस्ट देखिन थालेको छ । अमेरिकी नेतृत्वको एकध्रुवीय संरचनाको जग हल्लिँदै जाँदा विश्वले नयाँ शक्ति केन्द्रहरूको उदयलाई उत्सुकता र संशयका साथ नियालिरहेको छ ।
रणनीतिक उपयोगिताको खेल
यही संवेदनशील परिवेशमा महाशक्तिहरूबीच हुने संवाद र उनीहरूको कूटनीतिक शैली विशेष अर्थपूर्ण बन्न पुग्छ । अहिले इरान युद्ध चलिरहेको बखत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको भ्रमण गरे । छोटो अवधिको बीचमा गरिएको दुवै नेताको भ्रमण सामान्य प्रकृतिको रहेन । दुवैलाई चीनले गरेको स्वागत पनि सामान्य छैन । चीनले ट्रम्प र पुटिनलाई गरेको स्वागतले पनि उसको रणनीतिक शैलीलाई प्रस्ट्याउँछ । सँगै, अहिलेको शक्ति कता ढल्कँदै छ भन्ने पनि संकेत गर्दछ ।
विशेषगरी युक्रेन युद्धपछि पश्चिमा प्रतिबन्धले रुसलाई अनपेक्षित रूपमा चीनको आर्थिक र सामरिक छहारीभित्र धकेलिदिएको छ । अमेरिका र उसका सहयोगीहरूले मस्कोलाई अन्तर्राष्ट्रिय मञ्चमा एक्ल्याउने अथक प्रयास गरे पनि बेइजिङले त्यस अभियानमा आफूलाई सामेल गरेन, बरु रुसलाई अमेरिकी प्रभुत्व र नाटोको विस्तारवादविरुद्धको एउटा बलियो र अपरिहार्य रणनीतिक ध्रुवका रूपमा आत्मसात् गर्यो ।
अर्कोतर्फ, अमेरिकी राजनीतिमा देखिने उग्रराष्ट्रवादी धार र ‘अमेरिका फर्स्ट’जस्ता नीतिलाई चीनले निकै चलाखीपूर्वक आफ्नो हितअनुकूल व्यवस्थापन गरिरहेको छ । उसले साना र कमजोर मुलुकमाथि गरिरहेको आततायी हस्तक्षेपलाई पनि चीनले कूटनीतिक शैलीमै प्रतिवाद गरिरहेको छ ।
आर्थिक ध्रुवीकरण
यो राजनीतिक परिवर्तनको सबैभन्दा ठुलो र गहिरो पराकम्प विश्व आर्थिक प्रणालीमा देखिन थालेको छ । दोस्रो विश्वयुद्धको जगमा उभिएको प्रणाली, जसमा अमेरिकी डलर, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको एकछत्र राज थियो, अहिले इतिहासकै सबैभन्दा गम्भीर चुनौतीको सामना गरिरहेको छ । चीन र उसका साझेदारले ब्रिक्स संगठनको अभूतपूर्व दायरा विस्तार, स्थानीय मुद्रामा आधारित अन्तर्राष्ट्रिय व्यापार, वैकल्पिक वित्तीय सञ्चार प्रणाली र महत्वाकांक्षी ‘बेल्ट एन्ड रोड इनिसियटिभ’जस्ता परियोजनामार्फत नयाँ आर्थिक ध्रुवको बलियो जग बसाल्न सफल भएका छन् ।
यस नयाँ समीकरणमा शक्तिको बाँडफाँड निकै रोचक र पूरक प्रकृतिको देखिन्छ । रुससँग विशाल भूभाग, प्रचुर खनिज र सैन्य–ऊर्जा शक्ति छ भने चीनसँग अभूतपूर्व औद्योगिक उत्पादन क्षमता, अत्याधुनिक प्रविधि र वित्तीय पुँजीको ठुलो भण्डार छ । यी दुई शक्तिको मिलन र पश्चिमा जगत्को आन्तरिक विग्रहले बहुध्रुवीयताको मार्गलाई अझ फराकिलो बनाएको छ । परम्परागत रूपमा अमेरिकाका निकट मानिएका मध्यपूर्वका देशहरू नै आज बेइजिङको मध्यस्थतामा कूटनीतिक सम्बन्ध सुधार्न तयार हुनु र अमेरिकी डलरको विकल्प खोज्न थाल्नुले विश्व अर्थतन्त्रको शक्ति केन्द्र पश्चिमबाट पूर्वतर्फ पूर्ण रूपमा सरिसकेको प्रमाणित गर्छ ।
शक्तिको संघर्ष
तर, विश्व राजनीतिका यी महाशक्तिहरूका खेल, रणनीतिक दाउपेच र कूटनीतिक चालले मानव सभ्यतालाई शान्ति र स्थायित्वको मार्गमा डोहोर्याउन सकेको छ त ? इतिहास साक्षी छ, शक्तिको केन्द्र बदलिँदा वा नयाँ विश्व व्यवस्थाको उदय हुँदा सधैं संक्रमणकालीन हिंसा, युद्ध र अस्थिरता पैदा हुन्छ । गाजापट्टीमा भइरहेको अमानवीय नरसंहार, भेनेजुएला र इरानमाथि बलात् रूपमा गरिएको हस्तक्षेप, त्यसमा अन्तर्राष्ट्रिय समुदायको लाचारीले नै यो नयाँ विश्व व्यवस्थाको संक्रमण कति पीडादायी छ भन्ने देखाउँछ ।
महाशक्तिहरू अझै पनि मानवअधिकार, न्याय र विश्व कल्याणभन्दा माथि आफ्नो भूराजनीतिक वर्चस्व, सुरक्षा स्वार्थ र हतियार बजारको नाफालाई नै प्राथमिकतामा राख्छन् भन्ने कुरा यी परिघटनाले पुष्टि गर्छन् । विश्व मञ्चमा भइरहेका कूटनीतिक भ्रमण, शीर्ष वार्ता र नयाँ गठबन्धनले भूराजनीतिमा नयाँ बहस त सिर्जना गरेका छन्, तर विश्वका शान्तिकामी जनताले चाहेको युद्धविहीन, न्यायपूर्ण र मानवीय विश्व राजनीतिक र आर्थिक व्यवस्थाको सपना भने अझै पनि अधुरै देखिन्छ । भोकमरी, जलवायु परिवर्तन, गरिबी र महामारीजस्ता साझा मानवीय संकट महाशक्तिहरूको स्वार्थको लडाइँमा सधैं ओझेलमा पर्ने गरेका छन् ।
अपरिवर्तनीय बहुध्रुवीय यात्रा
विश्व राजनीतिको यो नयाँ मार्गचित्रले पुराना स्थापित मान्यता र शक्ति सन्तुलनका सिद्धान्तलाई पूर्ण रूपमा बदलेको छ । चीनले आफूलाई केन्द्रीय शक्तिका रूपमा स्थापित गर्दै, रुसलाई रणनीतिक ध्रुव र पश्चिमभित्र उदाएका राष्ट्रवादी विग्रहलाई अवसरका रूपमा उपयोग गरेर नयाँ शक्ति संरचना निर्माण गरिरहेको छ । यो संक्रमणकालीन अवस्थाले साना र विकासशील राष्ट्रहरूलाई रणनीतिक स्वायत्तता कायम गर्ने र विकासका नयाँ साझेदार छनोट गर्ने अवसर त दिएको छ, तर सँगसँगै ठुला शक्तिको चेसको गोटी बन्ने खतरा पनि उत्तिकै बढाएको छ ।
ठुला शक्तिबीचको यो द्वन्द्व र सहकार्यले भोलिको दिनमा कस्तो रूप लिने हो र भविष्यको भूराजनीति कसको पक्षमा जाने हो, त्यो त समयको गतिले नै तय गर्नेछ । यद्यपि, वर्तमानका तथ्य र घटनाक्रमले के कुरामा प्रस्ट्याउँछ भने वासिंग्टनको एकलौटी निर्णय चल्ने र संसारलाई आफ्नो इसारामा नचाउने जमाना अब सधैंका लागि सकिएको छ । विश्व अब बहुध्रुवीयतातर्फ उन्मुख भइसकेको छ । र, यो महायात्रालाई रोक्न अब संसारको कुनै पनि शक्तिका लागि सम्भव छैन ।