२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

पुरुषोत्तम मासको चर्चा

Nada
अच्युतप्रसाद पौडेल 'चिन्तन'
२०८३ जेठ ४ गते ०६:००
Shares
पुरुषोत्तम मासको चर्चा

हाम्रा घरआँगनमा फेरि अधिकमास अर्थात् पुरुषोत्तम मास आइपुगेको छ । हिन्दू धर्म–संस्कृतिमा यस मासलाई विशेष धार्मिक महत्वका साथ हेर्ने गरिन्छ । सूर्य र चन्द्रमाको गतिअनुसार निर्माण हुने वैदिक पात्रोमा समय–समयमा आउने अतिरिक्त महिनालाई अधिकमास भनिन्छ । यही अधिकमासलाई पुराणहरूमा ‘पुरुषोत्तम मास’ नामले महिमामण्डित गरिएको छ ।

ncell

पूर्वीय धर्म–दर्शनअनुसार तिथि, वार, नक्षत्र, योग र करणको समायोजनबाट पञ्चांग निर्माण हुन्छ । यही पञ्चांगका आधारमा चाडपर्व, व्रत, पूजा तथा संस्कार सञ्चालन गरिन्छन् । सौर वर्ष करिब ३६५ दिनको हुन्छ भने चन्द्र वर्ष करिब ३५४ दिनको मात्रै हुने भएकाले हरेक वर्ष करिब ११ दिनको अन्तर पर्छ । यही अन्तर करिब तीन वर्षमा एक महिनासम्म पुग्ने भएकाले अतिरिक्त महिना थपिन्छ, जसलाई अधिकमास भनिन्छ ।

हाम्रो संस्कृति सूर्य र चन्द्रमास दुवैमा आधारित छ । चन्द्रमाको उज्यालो पक्षलाई शुक्लपक्ष र अँध्यारो पक्षलाई कृष्णपक्ष भनिन्छ । वैदिक मान्यताअनुसार शुक्लपक्ष देवताको र कृष्णपक्ष पितृहरूको समय मानिन्छ । यसरी समयको सूक्ष्म गणनासहित विकसित भएको हाम्रो संस्कृति अत्यन्त वैज्ञानिक र प्राचीन मानिन्छ ।

पुराणमा वर्णित कथाअनुसार अधिक मासमा कुनै विशेष चाडपर्व वा उत्सव नपरेकाले यसलाई उपेक्षित मासका रूपमा हेरिन्थ्यो । कसैले वास्ता नगरेपछि अधिक मास भगवान् विष्णुको शरणमा पुगेको र अन्ततः भगवान् श्रीकृष्णले यसलाई आफ्नो नामसँग जोडेर ‘पुरुषोत्तम मास’ नाम दिनुभएको उल्लेख पाइन्छ । त्यसपछि यो मास सबैभन्दा पुण्यदायी समयका रूपमा स्थापित भयो । यही कारणले यस महिनामा गरिने पूजा, व्रत, दान, जप र तप विशेष फलदायी मानिन्छ ।

धार्मिक विश्वासअनुसार पुरुषोत्तम मासमा थोरै सत्कर्मले पनि ठुलो पुण्य प्राप्त हुन्छ । यस अवधिमा भागवत, गीता, श्रीकृष्ण चरित्र तथा पुराण श्रवण गर्ने परम्परा छ । कतिपय श्रद्धालुहरू उपवास बस्ने, मन्दिर दर्शन गर्ने तथा दान–पुण्य गर्ने गर्छन् । विशेषगरी गरिब, असहाय तथा धार्मिक संस्थालाई सहयोग गर्नु पुण्यदायी मानिन्छ ।

यद्यपि विवाह, व्रतबन्ध, गृहप्रवेशजस्ता मांगलिक कार्य भने यस महिनामा सामान्यतया गरिँदैनन् । यो समय आत्मचिन्तन, संयम र आध्यात्मिक साधनाका लागि उपयुक्त मानिएको छ । शास्त्रमा वनवासका क्रममा पाण्डवहरूले द्रौपदीसहित पुरुषोत्तम मासको व्रत गरी मानसिक शक्ति र धैर्य प्राप्त गरेको प्रसंग पनि उल्लेख गरिएको छ ।

यस मासमा दुई विशेष एकादशी पर्दछन्, जसलाई ‘पद्मिनी’ र ‘परमा’ एकादशी भनिन्छ । यी एकादशीहरूको व्रत र पूजा विशेष फलदायी मानिन्छ । परम्पराअनुसार ३३ वटा मालपुवा बनाई तुलसीपत्रसहित दान गर्ने चलन पनि रहेको छ । सामथ्र्यअनुसार कथा श्रवण, सत्संग तथा धार्मिक अनुष्ठान गर्ने प्रचलन समाजमा अझै कायम छ ।

आजको आधुनिक समाजमा पश्चिमी प्रभाव बढ्दै जाँदा वैदिक संस्कार र परम्पराप्रति आकर्षण घट्दै गएको चिन्ता पनि देखिन्छ । नयाँ पुस्ता पात्रो, तिथि र संस्कारभन्दा टाढिँदै गएको अवस्था छ । यस्तो समयमा पुरुषोत्तम मासले हाम्रो मौलिक संस्कृति, धर्म र आध्यात्मिक चेतनालाई पुनः स्मरण गराउने अवसर प्रदान गर्दछ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेझैं, ‘मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन ।’ पुरुषोत्तम मासले पनि त्याग, संयम, दया र सत्कर्ममार्फत मानव जीवनलाई शुद्ध र अर्थपूर्ण बनाउन प्रेरणा दिन्छ । त्यसैले यो मास केवल धार्मिक आस्थाको विषय मात्र नभई आत्मशुद्धि, सदाचार र मानवीय मूल्यको अभ्यास गर्ने महत्वपूर्ण समय पनि हो ।

सम्बन्धित खबर