२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

नागरिक शिक्षा : समाजको मेरुदण्ड

Nada
डा. देवीप्रसाद आचार्य
२०८३ जेठ १ गते ०६:०५
Shares
नागरिक शिक्षा : समाजको मेरुदण्ड

लोकतन्त्र र नागरिक शिक्षा एक–अर्काका परिपूरक हुन् । नागरिक शिक्षाले अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा हुन् भन्ने ज्ञानको आत्मानुभूति गराउँछ । शिक्षाविद् स्मिथले ‘नागरिक शिक्षा मानिसलाई व्यक्तिबाट सामाजिक व्यक्तित्वमा रूपान्तरण गर्न मद्दत गर्ने ज्ञानको स्रोत हो’ भनेका छन् । उनको भनाइलाई आधार मानेर हेर्दा पनि आत्मकेन्द्रित सोचबाट सामाजिक व्यक्ति बन्नका लागि नागरिक शिक्षाको ज्ञान आवश्यक ठानिन्छ ।

ncell

नेपाल अहिले लोकतान्त्रिक राज्य प्रणालीमा अगाडि बढिरहेको छ । लोकतन्त्रमा समाजको शैक्षिक तथा राजनीतिक चेतनाको स्तर अब्बल हुन आवश्यक हुन्छ । नागरिक शिक्षाले व्यक्तिलाई आफ्नो र अरूको हक, अधिकार तथा कर्तव्यबोध गर्न आत्मानुभूतिको विकास गर्न मद्दत गर्दछ । यसको साथै, व्यक्तिगत स्वार्थलाई सामूहिक स्वार्थका अगाडि त्याग गर्न सक्ने उदार व्यवहारका लागि नागरिक शिक्षाको ज्ञान चाहिन्छ ।

अहिले हाम्रो समाज नागरिक शिक्षाको अभावका कारण अधिकारप्रति बढी सचेत र आफ्नो कर्तव्यप्रति उदासीन रहेको पाइन्छ । समाज राजनीतिक दलको पक्ष वा विपक्षमा विवेकहीन भएर लागेको देखिन्छ । समाजले सत्यतथ्यको अध्ययन, अनुसन्धान गर्ने विवेकको प्रयोग गरेको पाइँदैन । सोसियल मिडियामा आएका तथ्यहीन मिथ्यांकका आधारमा दौडिने चरित्र बोकेको समाजलाई सत्यतथ्यका आधारमा विचारशील बनाउन नागरिक शिक्षाको ज्ञान आवश्यक ठानिन्छ ।

सभ्य समाज निर्माणका लागि हरेक व्यक्तिले घर, परिवार, समुदाय र देशप्रतिको आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ । समाजका कुनै पनि गलत अभ्यास नगर्ने हो भने समाजमा शान्ति, अमनचयन कायम हुन सक्छ । समाजमा अपराधजन्य क्रियाकलाप शून्य हुन्छन् । लोभ तथा कुकर्मप्रति मानिसको ध्यान जाँदैन । नीति र नैतिकताका कुराले प्रश्रय पाउँछन् । मानवतावादी विचार हुर्कन थाल्छन् । ‘वसुधैव कुटुम्बकम्’को चिन्तन मौलाउँछ । यसर्थ समाजमा उल्लिखित चिन्तन, आदर्श, नैतिकता र आचरण निर्माणका लागि नागरिक शिक्षाको ज्ञानले समाज प्रशिक्षित हुन वाञ्छनीय ठानिन्छ ।

नागरिक शिक्षा अध्ययनको एउटा महत्वपूर्ण पाटो प्रजातान्त्रिक ज्ञान आर्जन गर्नु हो । वर्तमान अवस्थामा नेपाली समाज प्रजातान्त्रिक चेतनाको हिसाबले जागरुक देखिए तापनि सचेत भएको पाइँदैन । प्रजातन्त्रका मूल्य, मान्यता, राजनीतिक सिद्धान्तको अध्ययन, राजनीतिक दल तथा उम्मेदवार छनोटको विवेकलगायत अभ्यासका आधारमा नेपाली समाजको स्तर कमजोर रहेको राजनीतिक शास्त्रीहरू बताउँछन् । प्रजातन्त्रको पुनर्स्थापना २०४८ देखि ०८२ सालमा भएका विभिन्न निर्वाचन, राजनीतिक दल तथा उम्मेदवार छनोटका तथ्यांकले नेपाली समाजमा नागरिक चेतना कमजोर रहेको देखाउँछन् ।

राजनीतिक क्षेत्रको ‘जेनजी आन्दोलन’मा भएको विध्वंसपछि गरिएको मध्यावधि निर्वाचनमा मतदाताले योग्य उम्मेदवार छनोट गर्न नसकेको टीकाटिप्पणी हुने गरेको पाइन्छ । राजनीतिक सिद्धान्त, योग्यता, दृष्टिकोण तथा सामाजिक योगदान भएका उम्मेदवारलाई किनारा लगाएर कतिपय निर्वाचन क्षेत्रमा राजनीतिक आधार नभएका, सामाजिक योगदानविहीन, सार्वजनिक पहिचानरहित उम्मेदवारलाई मतदान गरेको देखिन्छ । राजनीतिक भाषामा समाज चेतनशील नहुनु भनेको लोकतन्त्रको जग कमजोर हुनु हो । यसरी सामाजिक चेतनाको स्तरबाट नेपाली समाजको अवस्था मूल्यांकन गर्दा नागरिक शिक्षाको अभाव प्रस्ट देखिन्छ ।

नागरिक शिक्षाले मानिसलाई समाजमा सँगै बस्न, सँगै काम गर्न, सबैको हितमा सक्रिय हुन, एकले अर्काको सम्मान गर्न, हरेक जातजाति, भाषा, भाषी समुदायबीच सबैका सामाजिक मूल्य, मान्यता, संस्कृति, चलन र प्रचलनलाई स्वीकार गर्न सक्ने क्षमता र उदार व्यवहारको विकास गराउन मद्दत गर्दछ । हाम्रोजस्तो विविध भाषा, धर्म, संस्कृति र परम्परा भएको मुलुकमा हरेक व्यक्तिमा सामाजिक सद्भाव, आपसी मेलमिलाप तथा सहिष्णुता अनिवार्य हुन्छ । यस सन्दर्भमा सभ्य, सहिष्णु, कर्मशील तथा इमानदार समाज निर्माणका लागि नागरिक शिक्षाको ज्ञान आवश्यक हुन्छ ।

अहिले समाजमा अनुशासनको कमी, सार्वजनिक सम्पत्तिप्रति लापरवाही, भ्रष्टाचार, अनियमितता तथा विनाअध्ययन गलत सूचनामा विश्वास गर्नेजस्ता अभ्यास भइरहेको देखिन्छ । जबसम्म समाजमा अनुशासन, सभ्यता, इमानदारी, कर्मशीलता, राष्ट्रप्रेम, उद्यमशीलता तथा इमानदारीजस्ता मानवमूल्यहरूको कमी रहन्छ, तबसम्म अनेक प्रकारका समस्या सिर्जना भइरहन्छन् । उल्लिखित मानवीय गुणका साथ समाजमा एकआपसमा मिलेर काम गर्न, आफ्ना विचार अरूलाई सिकाउन र अरूका कुरा धैर्यपूर्वक सुन्न सक्ने क्षमताको विकास गर्न नागरिक शिक्षाले मद्दत गर्दछ । यसको साथै, प्रजातान्त्रिक आचरण तथा लोककल्याणकारी भावनाको विकासमा पनि नागरिक शिक्षाले मेरुदण्डका रूपमा भूमिका खेल्दछ । तसर्थ, राज्यले विद्यालय तहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रममा नागरिक शिक्षाको विषयवस्तुलाई समावेश गर्न आवश्यक ठानिन्छ ।

व्यक्ति–व्यक्ति मिलेर समाजको निर्माण हुने भएकाले हरेक घरपरिवारका व्यक्तिहरू शिष्ट, सभ्य, सहयोगी, कर्मशील एवं लोकहितविपरीत कुनै पनि कर्म नगर्नका लागि फराकिलो हृदयको खाँचो हुन्छ । मन चाहिन्छ । यसका लागि लोभ, लालच, रिस, द्वेष, घमण्ड तथा दुष्कर्मप्रति मनलाई नियन्त्रण गर्न आवश्यक हुन्छ । अहिले समाजमा निःस्वार्थ भई असल काम गरेर सुनाम कमाउनेभन्दा स्वार्थ र फाइदाको पछाडि दौडिनेहरूको संख्या ठुलो देखिन्छ । समाजमा भ्रष्ट आचरण, लोभ, लालच, बिचौलियालगायत कार्यहरू हुने गरेका छन् । आफ्नो फाइदाका लागि जस्तोसुकै अपराधकर्म गर्न पछि नहट्ने अभ्यास बढ्दै छ । यस कोणबाट हेर्दा, समाजमा नागरिक शिक्षाको अभाव प्रस्ट रूपमा देखिन्छ ।

गौतम बुद्धले ‘तिमी जे सोच्छौ, त्यही बन्छौ’ भनेका छन् । फूलको आँखामा फूलै संसार भनेझैं सकारात्मक सोचको विकास आवश्यक ठानिन्छ । माहुरी भएर उड्न सकियो भने फूलमा गएर बस्न सकिन्छ भने झिँगा भएर उडियो भने फोहरमा पुगिन्छ । बुद्धले भनेझैं कहाँ पुग्ने भन्ने कुराको गोरेटो सोचाइले निर्माण गर्दछ । अहिले नेपाली समाजमा सकारात्मकभन्दा नकारात्मक सोचाइले डेरा जमाएको देखिन्छ । समाजमा अनेक प्रकारका घटना घटिरहेका छन् । चोरी, डकैती, छल, कपट, हत्या, हिंसा, बेमेलजस्ता घटना व्याप्त रहेको प्रहरीको तथ्यांकले देखाउँछ । पारिवारिक विखण्डन, सम्बन्धविच्छेदलगायत घटना पनि बढिरहेका छन् । यस सन्दर्भमा सकारात्मक सोचको विकासका लागि नागरिक शिक्षा आवश्यक छ ।

युनेस्कोले ‘नागरिक शिक्षाले शिक्षित, सचेत र सूचित नागरिक उत्पादन गर्न सहयोग गर्दछ, जो लोकतन्त्रलाई सुदृढ बनाउने सबैभन्दा भरपर्दो आधार हो’ भनेको छ । सभ्य, सुसंस्कृत, अनुशासित, लोकतान्त्रिक, जवाफदेही तथा कर्तव्यनिष्ठ समाज निर्माणका लागि नागरिक शिक्षाको ज्ञान आवश्यक हुन्छ । नागरिक शिक्षा ऐच्छिक विषय होइन, यो हरेक व्यक्तिले अनिवार्य रूपमा जान्नुपर्ने विषय हो । समाजको मेरुदण्ड हो ।

सम्बन्धित खबर