
भर्खरै सम्पन्न भएको निर्वाचनमा आफूलाई कम्युनिस्ट पार्टी ठान्ने दुई ठुला दलहरूको भयानक कन्तबिजोग भएपछि फेरि वाम एकताको प्रसंग राजनीतिक वृत्तमा चल्न थालेको छ । ती दुई ठुला दलहरूले व्यहोरेको शर्मनाक पराजयको धङधङी सकिन नपाउँदै जेनजी आन्दोलनमा भएको दमनको नाममा, सम्पत्ति शुद्धीकरण वा भ्रष्टाचारका नाममा वर्तमान सरकारले ‘धोबीचुटाइ’ गर्न थालेपछि ती पार्टीका सुप्रिमो र उनीहरू निकटस्थ मण्डलीहरू आत्तिनु अस्वाभाविक पनि होइन । तर, यो अत्यासको जगमा उत्पन्न भएको वाम एकताको प्रसंग भने अनैतिक, अस्वाभाविक र बेमौसमको राग हो भन्न धेरै प्रमाण प्रस्तुत गर्न पर्दैन ।
यसको अर्थ नेपालमा वाम एकता जरुरी छैन भन्ने होइन । वाम एकता अति आवश्यक छ । सत्तारुढ पार्टी र वर्तमान सरकारको फासीवादी रुझानका सन्दर्भमा त झन् वाम एकताको आवश्यकता टड्कारो बनेको छ । तर वामपन्थी एकताका नाममा ती पार्टीहरूका बेइमान सुप्रिमोहरू र उनीहरूका मण्डलीहरूको ज्यान जोगाउने अभियानलाई भने सुनिने र बुझिने गरी अस्वीकार गर्नुपर्छ । किनकि त्यो प्रयत्न ढाँटछल हो, छालाजोगाइ हो ।
त्यसबाहेक भन्ने गरिएका वामपन्थी पार्टीहरू के साँच्चिकै वामपन्थी हुन् ? यस प्रश्नको छिनोफानो पनि अर्को महत्वपूर्ण सवाल हो । यो तथ्य नटुंग्याई गरिने एकता वाम एकता हुँदैन । यस्तै एकता निर्वाचनपूर्व प्रचण्डहरूले गरेकै थिए । करिब २८ पार्टी वा समूहलाई मिसाएर गरिएको एकताले परिणाम दियो त ? दिएन नि ! त्यसकारण यतिबेला एकता होइन, वामपन्थी भनिनेहरूको वामपन्थीकरण पहिलो काम हो ।
मलाई थाहा छ, माथिका हरफहरूले एमाले र नेकपाका केही मान्छेहरू असाध्यै रिसाउनेछन् । उनीहरूका गोत्र र जातका बारेमा प्रश्न उठाउँदा आस्थामाथिको हमला पनि भन्न सक्छन् । तर सत्यलाई आत्मसात् नगरी कुनै पनि मान्छे क्रान्तिकारी हुनै सक्दैन । क्रान्तिकारी चेतनाकै जगमा संसार बदल्ने अभियानमा सामेल हुने हो । संसार बदल्ने चाहनाले नै मान्छेलाई वामपन्थी, कम्युनिस्ट वा समाजवादी बनाउँछ । वडा अध्यक्षदेखि सांसद मात्रै हुने इच्छा राख्ने हो भने त ओली र प्रचण्डकै जयजयकार किन गर्नुप¥यो ? त्यसका लागि त नयाँ भनिएका रवि, बालेन र रास्वपा पनि त छन् नि !
एउटा कम्युनिस्ट पार्टीको अध्यक्ष र प्रधानमन्त्री भएको मान्छे रामको जन्मभूमि खोज्दै हिँड्छ । शिवको गोत्र ‘चाम्लिङ’ भएको घोषणा गर्छ । ७० वर्षको उमेरमा आफ्नो सेतो कपाल बिस्तारै कालो भइरहेको अवैज्ञानिक कथा सुनाउँछ । ‘ख्वाक्क खोकेर, थुक्क थुकेर’ कोरोना निको हुने भन्छ । आफू १२५ वर्ष बाँच्ने र त्यतिबेलासम्म अध्यक्ष हुने, त्यसपछि मात्र आफ्नो उत्तराधिकारीलाई पद हस्तान्तरण गर्ने फरमान जारी गर्छ । अनि त्यो मान्छे वामपन्थी हुन्छ ? उसले गर्ने एकता वाम एकता हुन्छ ?
एउटा अर्को अध्यक्ष क्रान्तिको सपना देखाएर मान्छेलाई बन्दुक बोकाउँछ । त्यसबाट प्राप्त सत्तामा छोरी, बुहारी, भाइ र ज्वाइँको हालीमुहाली गराउँछ । सत्ताका लागि रास्वपालाई ‘लोकतन्त्रको सुन्दर फूल’ भन्छ, बुर्जुवासँग घाँटी जोड्छ । साम्राज्यवादीले थोपरेको एमसिसीको व्याख्यात्मक टिप्पणी गर्छ । पार्टीभित्र जनयुद्ध लडेका क्रान्तिकारीलाई लखेट्छ र गैरवामपन्थीहरूलाई पार्टीमा हुल्छ । अनि त्यो अध्यक्ष वामपन्थी हुन्छ ?
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको सल्लाह र निर्देशनमा मुलुकको बजेट निर्माण गर्छ । विनाढेउवा वैदेशिक रोजगारीमा जान युवाहरूलाई आह्वान गर्छ । सिँचाइ र कुलोभन्दा भ्युटावर बनाउन जोड दिन्छ । उद्योगलाई भन्दा मोटरसाइकल र कारमा दिइने ऋणलाई प्रोत्साहित गर्छ । विद्यालय, कलेज र अस्पताललाई नाफा कमाउने माध्यम बनाउँछ । किसानका उत्पादनलाई बजारको व्यवस्थापन गर्दैन । सुकुम्वासी आयोग बनाइरहन्छ, तर जग्गाको लालपुर्जा दिँदैदिँदैन । अनि ऊ फेरि आफूलाई वामपन्थी भन्छ र चुनाव जित्न एकताको कुरा गर्छ ।
हरेक समाजमा विद्रोही चेत हुन्छ । विकासले विद्रोही चेतलाई खुम्च्याउँदैन, बरु झन् तीव्र गराउँछ । त्यसैले भनिएको हो, भौतिक विकासले चेतनाको अभिवृद्धि गर्छ । त्यो चेतनाले थप विकास खोज्छ । जति भौतिक विकास, त्यति चेतना । जति चेतना, त्यति विद्रोह र थप विकास । यही चक्रमा मान्छे जंगल र ओडारबाट चन्द्रमासम्म पुगेको हो । धरहरा बन्यो, रानीपोखरी बन्यो, त्यसकारण सब ठिकठाक छ भन्ने चेतना पनि वाम चेतना हुन्छ ?
कम्युनिस्टहरू बिग्रिए भन्दैमा समाज एकै ठाउँमा कसरी बसिरहन्छ ? बसेन नि । समाजमा देखापरेका विद्रोही चेतनालाई कम्युनिस्टहरूले नेतृत्व गरे ? गरेनन् नि । हो ! त्यही विद्रोही चेतलाई रास्वपाले भजायो, अनि त चमत्कार ग¥यो । यहाँ केही नौलो भइरहेको छैन । हामी समाज विकासको नियमअनुसार नै अगाडि बढिरहेका छौं । यो परिणाम अपेक्षित नै थियो, अनुमान गरिएकै थियो । यस्तो अनुमान आजभन्दा करिब चार वर्षअघि क. घनश्याम भुसालले गर्नुभएको थियो । त्यतिखेर उहाँ भन्नुहुन्थ्यो, ‘यिनीहरूका नालायकीले लफंगाहरू शासनमा आउँदै छन्’ । यो भनाइ सत्यसाबित भएन ? क. भुसालले भन्नुभएजस्तै उनीहरू आए, सबैभन्दा पहिला सहरिया गरिबका झुपडीमा डोजर चलाए । त्यो डोजरले घरहरू मात्र भत्काएन, नेपाली मनहरूको वाम चेत र समाजवादी चाहना भत्काएको छ । त्यसभन्दा बढी मानवतालाई नै शर्मनाक बनाएको छ ।
सुकुम्वासीका घरटहरामा चलेको डोजरको अगाडिको सिटमा रवि र बालेन थिए होलान्, तर पछाडिको सिटमा ओली, प्रचण्ड र माधव नेपालहरू थिए भन्ने सत्यलाई स्वीकार नगरी अब वाम एकताको आधार बन्दैन । वाम आन्दोलनलाई वामपन्थीकरण गर्न पनि सकिँदैन । वामपन्थीकरण नगरिएको तथाकथित वाम आन्दोलन समाप्त हुनुको विकल्प छैन । हामी ढुक्क हुनुपर्छ, यसको समाप्तिको जगमा नै इमानदार वाम आन्दोलन फेरि जन्मने हो । सायद द्वन्द्ववादको एउटा आधारभूत नियम ‘निषेधको निषेध’ यही होला ।
पराजयमा वास्तविक कम्युनिस्टहरू रोइकराइ गर्दैनन् । लाखौं विजय र पराजयको हन्डर खाँदै र व्यहोर्दै मान्छे जाति यहाँसम्म आइपुगेको हो । पराजय एउटा शिक्षा हो । स्पार्टाकसहरूको पराजय नभएको भए दासयुग कसरी समाप्त हुन्थ्यो ? तर पराजयबाट शिक्षा नलिनेहरू चाहिँ अवश्य मृत्युवरण गर्छन् । त्यस्तो मृत्युवरणका पक्षपातीहरू, जो चाकरी र दासताका आत्महत्यामा रमाउँछन्, त्यस्ता मान्छेहरू एमाले र नेकपाकै दोस्रो तहमा प्रशस्त छन् । ती मान्छेहरूको सहयोगमा र बेइमान सुप्रिमोहरूको पहलमा गरिने जुनसुकै प्रकारको एकता पनि मृत्युशय्या मात्र हो । त्यसले परिणाम दिँदैन ।
आजको वाम आन्दोलनको नेतृत्वमा रहेका थुप्रै मान्छेहरू वास्तविक वाम आन्दोलनका पक्षपाती नै छैनन् । उनीहरू यो नाम भजाएर पुनः सत्तारुढ हुन चाहन्छन् । कम्युनिस्ट पार्टीहरूलाई सत्तासीनहरू जन्माउने कारखाना बनाउन चाहन्छन् । यो बेलाको वाम एकताको राग सत्ता गुमाउँदाको पीडा र रोदनबाहेक केही होइन । बिग्रिएकाहरूको, भत्किएकाहरूको र कुहिएकाहरूको पुनर्मिलन सामूहिक आत्महत्याबाहेक केही हुनेवाला छैन ।
त्यसो भए अब के गर्नुपर्छ ? सबैभन्दा पहिले यही प्रश्नको वरिपरि बृहत् शास्त्रार्थ सञ्चालन गरिनु पहिलो सही काम हो । त्यसबाहेक बितेका पछिल्ला १० वर्षमा नेपालको वाम आन्दोलनलाई यसकै नेताहरूलाई प्रयोग गरेर नवउदारवादले मुसा खेलाएझैं खेलाइरह्यो भन्ने स्वीकार गरिनु दोस्रो सही काम हुन सक्छ । कामको सुरुवात यसरी गरिसकेपछि मात्र पत्रहरू आफैं खुल्दै जानेछन् । समाधान निस्कँदै जानेछ । त्यही समाधानले एउटा बृहत् वाम एकताको ढोका पनि खुल्न सक्छ ।
वाम एकता भनेको क्रान्तिकारीहरूको जमघट हो, पदहरूको मिलान होइन । वाम एकता भनेको समाजवादी पहल–कदमी हो, सत्तासीन मात्र हुने घिनलाग्दो चाहना होइन । वाम एकता भनेको काम गरेर खानेहरू र काम लगाएर खानेहरूको भिन्नता हो । त्यो श्रमजीवीहरूको सपना हो । त्यो एउटा वर्गसंघर्षको शंखनाद हो । यति ठुलो र महान् कर्म गर्न अहिलेका कम्युनिस्ट पार्टीका टुप्पामा रहेकाहरूले ल्याकत राख्छन् ? राख्दैनन् । त्यसकारण आज र अहिले उठिरहेको वाम एकताको राग कर्कश सुनिएको छ । त्यो रागले ध्वनि प्रदूषण मात्र गर्दै छ । समाजवादीहरूलाई अल्मल्याइरहेको छ । सबै सचेत बनौं ।
(अर्याल, नेकपा (संयुक्त)का केन्द्रीय प्रचार विभाग प्रमुख हुन् ।)