
विश्व अहिले एउटा गहिरो परिवर्तनको सँघारमा उभिएको छ । केही दशकअघिसम्म संसारलाई एउटै शक्ति केन्द्रले नियन्त्रण गरिरहेजस्तो देखिन्थ्यो । अमेरिका आर्थिक, सैनिक र राजनीतिक दृष्टिले विश्वको निर्विवाद नेतृत्वमा थियो । उसका निर्णयहरूले अन्तर्राष्ट्रिय राजनीति निर्धारण गर्थे । तर समयसँगै त्यो संरचना चर्किन थाल्यो । आज विश्व एउटै ध्रुवमा सीमित छैन । नयाँ शक्ति केन्द्रहरू उदाइरहेका छन् र विश्व राजनीति बहुध्रुवीय दिशातर्फ मोडिएको छ ।
यो परिवर्तनको केन्द्रमा चीनको उदय सबैभन्दा महत्वपूर्ण रूपमा देखिएको छ । चीन अब केवल उत्पादन गर्ने देश मात्र होइन, आधुनिक प्रविधि, पूर्वाधार, ऊर्जा, अनुसन्धान र व्यापारको नेतृत्व गर्ने शक्तिका रूपमा उभिएको छ । विश्व अर्थतन्त्रमा उसको प्रभाव दिन–प्रतिदिन बढिरहेको छ । पश्चिमी राष्ट्रहरूले लामो समयसम्म चीनलाई कमजोर आक्ने गल्ती गरे, तर अहिले उनीहरू स्वयं चीनको चुनौतीबारे खुला बहस गर्न बाध्य भएका छन् । अमेरिकाले व्यापार युद्ध, प्रतिबन्ध र सामरिक गठबन्धनमार्फत चीनलाई रोक्ने प्रयास गरिरहेको छ, तर चीनको आर्थिक सञ्जाल र विश्वव्यापी प्रभाव विस्तार रोकिएको छैन ।
अहिलेको विश्व तनावलाई धेरैले दोस्रो शीतयुद्धको नाम दिन थालेका छन् । तर यो विगतको अमेरिका र सोभियत संघबीचको शीतयुद्धभन्दा फरक छ । त्यो समय विचारधाराको संघर्ष थियो । अहिलेको प्रतिस्पर्धा प्रविधि, अर्थतन्त्र, ऊर्जा, दुर्लभ खनिज र विश्व बजारमाथिको नियन्त्रणसँग जोडिएको छ । अमेरिका आफ्नो प्रभुत्व जोगाउन चाहन्छ भने चीन र उसका साझेदार राष्ट्रहरू नयाँ शक्ति सन्तुलन निर्माण गर्न खोजिरहेका छन् ।
रुस, चीन, इरान, भारत, ब्राजिल र अफ्रिकाका धेरै राष्ट्रहरू पश्चिमी प्रभावको विकल्प खोजिरहेका छन् । उनीहरू व्यापार, लगानी र अन्तर्राष्ट्रिय सम्बन्धलाई एउटै शक्ति केन्द्रमा सीमित राख्न चाहँदैनन् । डलरको वर्चस्वलाई चुनौती दिने प्रयासहरू बढिरहेका छन् । स्थानीय मुद्रामा व्यापार गर्ने अभ्यासले विश्व अर्थतन्त्रमा नयाँ मोड ल्याइरहेको छ । यसले स्पष्ट देखाउँछ कि अब विश्व पुरानो ढाँचामा फर्किने अवस्थामा छैन ।
अमेरिका स्वयंभित्र पनि चुनौती बढिरहेका छन् । आर्थिक असमानता, राजनीतिक ध्रुवीकरण र तीव्र राष्ट्रवादले उसको विश्व नेतृत्वमाथि प्रश्न उठाउन थालेको छ । ‘पहिला अमेरिका’ भन्ने नीतिले राष्ट्रिय भावना त बलियो बनाएको छ, तर त्यही नीतिले अमेरिकालाई अन्तर्राष्ट्रिय रूपमा केही हदसम्म एक्ल्याएको पनि छ । धेरै पश्चिमी बौद्धिकहरू अहिले स्वीकार गर्न थालेका छन् कि विश्वलाई अब सहकार्य र सन्तुलनको आधारमा अगाडि बढाउनुपर्छ ।
यस्तो अवस्थामा नेपालजस्ता साना राष्ट्रहरूको भूमिका झन् संवेदनशील बनेको छ । नेपाल दुई ठुला शक्ति भारत र चीनको बीचमा रहेको देश हो । यही भूगोलले नेपाललाई अवसर पनि दिएको छ र चुनौती पनि । यदि नेपालले सन्तुलित परराष्ट्र नीति अपनाउन सकेन भने बाह्य शक्तिको प्रतिस्पर्धाले देशलाई अस्थिर बनाउन सक्छ । त्यसैले नेपालले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राखेर मात्र निर्णय गर्नुपर्छ ।
नेपालको सबैभन्दा ठुलो शक्ति यसको स्वतन्त्र परराष्ट्र नीति हो । असंलग्नता, तटस्थता र अहस्तक्षेपको सिद्धान्त नेपालका लागि केवल आदर्श होइनन्, आवश्यकता हुन् । कुनै एक शक्तितर्फ अत्यधिक झुकाव दीर्घकालमा हानिकारक बन्न सक्छ । अहिले विश्व शक्ति संरचना परिवर्तन भइरहेको बेला नेपालले आफ्नो भूराजनीतिलाई आर्थिक अवसरमा बदल्न सक्नुपर्छ ।
भारत र चीन विश्वका विशाल बजार हुन् । नेपालले पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उद्योगलाई विकास गर्न सके यी दुई अर्थतन्त्रबीचको सेतु बन्न सक्छ । तर त्यसका लागि स्थिर राजनीति, स्पष्ट राष्ट्रिय दृष्टि र आत्मविश्वासी कूटनीति आवश्यक छ । बाह्य शक्तिको प्रभावमा अल्झिने होइन, राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्ने नीति अहिलेको आवश्यकता हो ।
विश्व अहिले केवल संघर्षतर्फ मात्र गइरहेको छैन, उसले नयाँ सहकार्यको सम्भावना पनि निर्माण गरिरहेको छ । प्रविधिले संसारलाई नजिक ल्याइरहेको छ । अर्थतन्त्र परस्पर निर्भर बनिरहेको छ । यस्तो समयमा नेपालले आफ्नो सभ्यता, संस्कृति र स्वाभिमानलाई आधार बनाएर आधुनिक विकासको बाटो रोज्नुपर्छ । राजनीतिक रूपमा सन्तुलित, आर्थिक रूपमा सक्रिय र सांस्कृतिक रूपमा आत्मविश्वासी राष्ट्रका रूपमा उभिन सके मात्र नेपालले बदलिँदो विश्वमा सुरक्षित भविष्य निर्माण गर्न सक्छ ।
विश्वको दिशा केवल शक्तिशाली राष्ट्रहरूले तय गर्दैनन् । साना राष्ट्रहरूले आफ्नो अस्तित्व र स्वार्थलाई कसरी जोगाउँछन् भन्ने कुराले पनि इतिहासको मार्ग बदलिन्छ । नेपालका लागि अहिलेको सबैभन्दा ठुलो चुनौती यही हो, बदलिँदो विश्वलाई बुझेर अवसर बनाउने कि शक्तिशाली राष्ट्रहरूको प्रतिस्पर्धामा हराउने ?