२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

आधुनिक जीवनको भ्रम

Nada
मनोज अभिज्ञान
२०८३ वैशाख २९ गते ०६:००
Shares
आधुनिक जीवनको भ्रम

औद्योगिक सभ्यताले मानवलाई एउटा अजीव भ्रममा धकेलेको छ– जति बढी काम, उति महान् जीवन । जति बढी व्यस्तता, उति नैतिक मूल्य । बिहानदेखि रातिसम्म मेसिनजस्तो खटिनु अब चरित्र, अनुशासन, राष्ट्रनिर्माण र आध्यात्मिक श्रेष्ठताको प्रतीक बनिसकेको छ । ‘आराम हराम हो’, ‘खाली दिमाग सैतानको घर हो’, ‘काम नै पूजा हो’जस्ता नारा मानिसको मनमा गाडिएका छन् । यसले मानिसलाई बिर्साएको छ, ऊ कुनै कारखानाको पुर्जा बन्न जन्मिएको थिएन । 

ncell

मानवको असली स्वभाव श्रम मात्र होइन । मानिस प्रेम गर्न चाहन्छ, संगीत सुन्न चाहन्छ, नदी किनारमा बस्न चाहन्छ, बच्चासँग खेल्न चाहन्छ, चित्र बनाउन चाहन्छ, बिन्दास भएर घुम्न चाहन्छ, बादल हेर्न चाहन्छ । तर, आधुनिक व्यवस्था यी सबैलाई ‘समयको बर्बादी’ भनेको छ । अहिले जो व्यक्ति सधैं व्यस्त छ, मात्र आदर्श मानिन्छ । जो थकित छ, उसलाई उत्पादक मानिन्छ । जो आराम चाहन्छ, उसलाई अल्छी, निकम्मा र गैर–जिम्मेवार ठहराइन्छ ।

समस्या यो होइन कि मानिस आलसी भएको छ । समस्या यो हो कि उसलाई आराम गर्ने अधिकार नै दिइएको छैन । मेसिन र प्रविधिको उद्देश्य मानिसलाई बढी अवकाश दिनु थियो, तर उल्टो भयो । मेसिन आए, उत्पादन बढ्यो, तर मानिसको काम गर्ने घण्टा कम भएन । नाफा बढ्यो, तर अवकाश बढेन ।

इतिहासकै सबैभन्दा ठुलो व्यंग्य के छ भने जुन मेसिनलाई मानिसको मिहिनेत कम गर्न बनाइएको थियो, ती मेसिनहरूले मानिसलाई अझ बढी श्रमको चक्रमा फसाइदिए । कारखानामा मेसिन दिनरात चलिरहे र मानिस पनि उनीहरूको गतिअनुसार बाँधियो । समयलाई मिनेट र सेकेन्डमा बाँडियो । घडी अनुशासनको हतियार बन्यो ।

धर्माचार्य र नैतिक उपदेशकहरूले यसमा निर्णायक भूमिका खेले । उनले गरिबीलाई तपस्या र श्रमलाई पवित्रता भने । सदियौंसम्म मानिसलाई बुझाइएको छ कि दुःख सहनु महानता हो । मिहिनेत गर्दै टुटिनु चरित्रको प्रमाण हो । तर अर्कोतर्फ, समाजका केही व्यक्तिलाई विनामिहिनेत विलासिता प्राप्त भयो । एक व्यक्ति चौध घण्टा कारखानामा काम गर्छ, अर्को केवल पुँजीको कारण ऐश्वर्यपूर्ण जीवन बिताउँछ । तर, नैतिकताको शिक्षा केवल मिहिनेतीलाई दिइन्छ ।

अर्थशास्त्रीहरूले पनि यस मानसिक संरचनालाई बलियो बनाए । मानिसलाई ‘मानव स्रोत’ बनाइयो । ध्यान दिनुहोस्, यो शब्द कति भयावह छ । जस्तो कि मानिस जीवित चेतना होइन, कोइला, फलाम वा पेट्रोलियमजस्तो छ । शिक्षा प्रणाली बिस्तारै यो विचार वरिपरि ढालियो कि जीवनको अन्तिम उद्देश्य रोजगार प्राप्त गर्नु हो । बच्चासँग सोधिन्छ, ‘ठुलो भएर के बन्ने ?’ सायदै कसैले सोध्छ, ‘तिमीलाई कुन कुरामा आनन्द आउँछ ?’ समाजले आनन्दलाई शंका र थकानलाई सम्मानको दृष्टिले हेर्न थाल्यो ।

विडम्बना के छ भने विज्ञान र प्रविधिले यस्तो अवस्था सिर्जना गरेको छ जहाँ मानवता अवकाश र सिर्जनात्मक जीवन प्राप्त गर्न सक्ने अवस्थामा पुगेको छ । पछिल्लो सय वर्षमा प्रतिव्यक्ति उत्पादन क्षमता धेरै गुणा बढेको छ । आधुनिक किसान एक्लै सय वर्षअघि दर्जनौं मानिसले गर्ने उत्पादन गर्न सक्छ । अटोमेसन र एआईले डेटा विश्लेषण, लेखन, डिजाइन, ग्राहक सेवा, प्रोग्रामिङ र चिकित्सा कार्यहरू केही मिनेटमै सम्पन्न गरिदिन्छ ।

आज भोजन, लुगा र आवासजस्ता आधारभूत आवश्यकताका लागि उन्नाइसौं शताब्दीको तुलनामा धेरै कम श्रम चाहिन्छ । तर किन मानिस पहिलेभन्दा बढी तनावग्रस्त र समयहीन छन् ? किनभने प्रविधि मानवलाई स्वतन्त्र बनाउन होइन, मुनाफा बढाउन प्रयोग भइरहेको छ । मेसिनले समय बचाउँछ, तर त्यो समय मानिसलाई फिर्ता दिइएको छैन । मानिसलाई नयाँ काम, नयाँ लक्ष्य र नयाँ प्रतिस्पर्धामा लगाइएको छ ।

एआईको यस युगमा प्रश्न अझ तिखो छ । यदि एक एआई हजारको काम केही सेकेन्डमै गर्न सक्छ भने तार्किक रूपमा मानवता काम गर्ने घण्टा घटाउनुपर्छ । तर के भइरहेको छ ? केही बेरोजगार हुँदै छन्, बाँकी मानिसबाट पहिलेभन्दा बढी दक्षता मागिएको छ । प्रविधिको फाइदा मानव अवकाशमा होइन, केही कम्पनीको सम्पत्तिमा परिणत भइरहेको छ ।

कल्पना गर्नुहोस्, यस्तो समाज जहाँ मानिसले जीवनयापनका लागि केवल एक÷दुई घण्टा काम गर्नुपर्छ । बाँकी समय संगीत सिक्न, दर्शन पढ्न, बगैंचा सिँचाइ गर्न, प्रेम गर्न, यात्रा गर्न, कविता लेख्न वा शान्तिपूर्वक रुखमुनि बस्न सकिन्छ । यो काल्पनिक कुरा होइन । प्रविधिक दृष्टिले मानवता यस अवस्थामा पुग्न सक्नेछ । बाधा केवल वैचारिक छ । वर्तमान प्रणाली मानिसलाई स्वतन्त्र समय दिन डराउँछ । किनभने जब मानिससँग सोच्ने र जीवन जिउने समय हुनेछ, तब धेरै असहज प्रश्न उठ्नेछन् ।

अन्ततः सभ्यताको मापदण्ड केवल भवनको उचाइ वा उत्पादन क्षमता होइन । वास्तविक प्रगति भनेको मानिसलाई कति स्वतन्त्र समय मिल्यो भन्नेमा मापन हुन्छ । मानिस संवेदना, जिज्ञासा र कल्पना हो । यदि सम्पूर्ण सभ्यताले उसलाई केवल श्रममा खपत गरायो भने, त्यो सभ्यता प्रविधिक रूपमा आधुनिक भए पनि मानवीय दृष्टिले बर्बर हुनेछ ।

(हिन्दीबाट अनुवादित ।)

सम्बन्धित खबर