२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

मत्स्येन्द्रनाथको यात्रा

Nada
अच्युतप्रसाद पौडेल 'चिन्तन'
२०८३ वैशाख ११ गते ०६:००
Shares
मत्स्येन्द्रनाथको यात्रा

ललितपुरमा रातो मत्स्येन्द्रनाथको रथारोहण गराई लामो जात्रा सुरु भइसकेको छ । पानी र सहकालका देवताको जात्राको अघिपछिदेखि वर्षा भएकाले यस वर्ष अग्नि प्रकोप कम छ र प्रदूषण केही मत्थर भएको छ । गत वर्ष ग्रहमण्डलका राजा मंगल भएकै कारण देशैभरि असन्तुलित वर्षा र डढेलोको प्रकोप अधिक रह्यो । यस वर्ष मंगल कार्यकारी शक्तिमा छन्, यस्तो उपद्रव र दैवी घटनामा कमी हुने देखिँदैन, यद्यपि ग्रहमण्डलका राजा वृहस्पति भएकाले सन्तुलन गर्न खोज्लान् तर आमजनतामा महँगीको मार भने थपिएको र थपिनेछ । 

ncell

समयमा पानी नपर्नु, जताततै आगलागी, डढेलोको प्रकोप, पश्चिमी वायुको कम प्रभावजस्ता कारणले काठमाडौं उपत्यकाको बस्ती असहज भइरहेको छ । गृष्मको वर्षाले जीवन सहज हुन्छ र बाली संरक्षण पनि । मूल समस्या हामी कृषि प्रधान देश भन्ने, उब्जनी नगर्ने तर धनी हुनुपर्ने, विदेश जानुपर्ने अवस्था हो । अब त जात्रा, पर्वका लागि आवश्यक रथ बनाउने काठकै समस्या भइसकेको छ । 

खाद्यान्न संकट उत्पादन कम र परनिर्भरता, चामलको आयातमा बढोत्तरी छ । यसै सन्दर्भमा सहकालका देवताका रूपमा चिनिने रातो मत्स्येन्द्रनाथको जात्रा ललितपुरको जावलाखेल, बुङ्मतीबाट सुरु गर्दै ललितपुरका विभिन्न क्षेत्रमा परिक्रमा गराउँदै मत्स्येन्द्रनाथलाई जावलाखेल पुर्‍याएर त्यसको चार दिनपछि भोटोजात्रा गर्ने हाम्रो परम्पराले आज १३ सय वर्ष व्यतीत गरिसकेको छ । आषाढ शुक्ल चतुर्थीपर्यन्त चल्ने यो पर्व भोटो प्रदर्शनपछि समापन हुन्छ । नेपाललाई हिन्दु र बौद्ध धर्म दर्शनको केन्द्रस्थल मानिन्छ । हिन्दु, बौद्ध संयुक्त रूपमा मानिने चाडपर्वहरू यहाँ धेरै छन् । दुवैका लागि परिचित काठमाडौं उपत्यकाको प्रमुख जात्रा हो भोटोजात्रा ! जाडो र गर्मी दुवै समयमा जात्रा मनाई आफ्नो परम्परा कायम राख्ने हाम्रो परम्परा युगीन र आदिम पनि छ । सहकाल र वर्षाका देवता मानिने मत्स्येन्द्रनाथको रथयात्रासँग भोटो जात्रा गाँसिएको छ ।

झन्डै दुई महिनासम्म काठमाडौं र पाटनमा मनाइने मत्स्येन्द्रनाथ यात्रामध्ये सेतो मत्स्येन्द्रनाथ जात्रा जाडो मौसममा पर्छ भने पाटनमा मनाइने रातो मत्स्येन्द्रनाथ यात्रा गर्मी समय वैशाख शुक्ल प्रतिपदादेखि आषाढ शुक्ल चौथीसम्म चन्द्रमासअनुसार मनाइन्छ । किसानका लागि विशेष कृपा दृष्टिमा रहने मत्स्येन्द्रनाथलाई बौद्धमार्गीले बोधिसत्व, पद्मपाणि आदि नामले पुकार गर्ने गर्छन् । हिन्दुहरूले मत्स्येन्द्रनाथलाई परम आदरणीय पूज्य गुरु गोरखनाथका गुरुका रूपमा हेर्ने गर्छन् । भनिन्छ, भगवान् पशुपतिनाथले वर्षमा दुईपटक बुद्धको रूप लिन्छन् र महाशिवरात्रिका दिन पशुपतिनाथलाई पनि मत्स्येन्द्रनाथका रूपमा पुजिने गरिन्छ । यसले पनि पुष्टि गर्छ कि मत्स्येन्द्रनाथ सबैका सदावहार साझा देवता हुन् ।

शताब्दीऔं अघिदेखि देखिएको सांस्कृतिक मान्यताको रूपमा स्थापित मत्स्येन्द्रनाथको जात्रा सुरु गराउने श्रेय भने लिच्छवी राजा शिवदेवलाई जान्छ । राजा नरेन्द्रदेवको नाम पनि जोडिएको छ यसमा । मत्स्येन्द्रनाथको मूल स्थल पाटनको बुङ्मती हो । ‘बुधो’ भनेर नेवारी भाषामा परिचित छ जसअनुसार बुँद्यो भन्नाले बोलाउनासाथ आएका देवता भन्ने बुझिन्छ । 

प्राचीन काठमाडौं खाल्डोमा लामो समयसम्म वर्षा नहुँदा तान्त्रिक गुरु बन्धुदत्तलाई बोलाई यसको कारण खोज्दा भारतबाट मत्स्येन्द्रनाथलाई आमन्त्रण गर्ने, उहाँ आउँदा गोरखनाथ उठ्ने र टौदहका नौ नागहरू स्वतन्त्र भएपछि वर्षा हुने सबै योजना मिलाइएछ । तान्त्रिक बन्धुदत्तले तन्त्रविद्याबाट यसको मूल जरो पत्ता लगाएछन् कि एकपटक गुरु गोरखनाथले योगीको भेषमा यहाँको भ्रमण गर्दा उनलाई नचिनेकाले आतिथ्य सत्कार भएनछ । आत्मसम्मानका कारण गोरखनाथ भने वर्षाका स्रोतका रूपमा रहेका विभिन्न नौथरी नागहरूमाथि आफ्नो मजबुत आसन बाँधी बसेपछि यहाँ वर्षा रोकिएको कुरा तान्त्रिक बन्धुदत्तले बुझेछन् । 

विभिन्न राय परामर्श भएको र गुरु गोरखनाथलाई नउठाएसम्म नागहरू थिचिनै रहने कारण जल वर्षा नहुने बुझेर गोरखनाथलाई उठाउने प्रयत्न गर्दा उनका गुरु मत्स्येन्द्रनाथले उनलाई उठाउन सक्ने कुरा पत्ता लागेछ । तान्त्रिक बन्धुदत्त, ललित नामका एक ज्यापु किसान र राजा नरेन्द्रदेव भारतको कामरु कामाक्षमा पुगी यहाँको सबै यथार्थ बताएर यहाँ आइदिन अनुरोध गर्दा मत्स्येन्द्रनाथले यो प्रस्तावलाई स्वीकार गरेछन् । नभन्दै, गुरु मत्स्येन्द्रनाथ यहाँ आउनासाथ गोरखनाथले आफ्नो आसनबाट उठी गुरुको दर्शन गर्दा नागहरू स्वतन्त्र भई घनघोर रूपमा जलवर्षा हुन थालेछ । सारा मानिसहरूले उनको त्यो दिव्य कामको प्रशंसा गर्दै उनको नाममा जात्रा सुरु गर्न लागेछन् । प्रत्येक वर्ष ललितपुरको जावलाखेल बुङ्मतीबाट सुरु भई बुङ्मतीमै अन्त्य हुने यो जात्रा काठमाडौं उपत्यका मात्रै होइन, मुलुककै लामो जात्रा मानिन्छ । भोटेजात्रा भने पछि साइत हेरेर देखाइन्छ ।

सम्बन्धित खबर