
दोहा कतार : कतारले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याएको छ । हवाई क्षेत्र पूर्ण रूपमा सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको उडान तथा अवतरण गतिविधि पुनः सुचारु भएका छन् भने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान सञ्चालनमा आउनेछन् ।
कतारको नागरिक उड्डयन प्राधिकरणले आज एक सूचना जारी गर्दै हमाद अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सबै विदेशी वायुसेवाहरूलाई नियमित सेवा सञ्चालनको अनुमति दिइएको जनाएको छ ।
क्षेत्रीय सुरक्षा संवेदनशीलताका कारण अस्थायी रूपमा लागू गरिएको प्रतिबन्ध हटाइएपछि विदेशी ध्वजावाहक विमानहरूले पुनः कतारको हवाई मार्ग प्रयोग गर्न पाउनेछन् । प्राधिकरणका अनुसार प्राविधिक, सञ्चालनात्मक तथा सुरक्षा मूल्यांकनपछि हवाई क्षेत्रलाई पूर्ण रूपमा सुरक्षित घोषणा गरिएको हो ।
विदेशी वायुसेवाहरूको पुनः सञ्चालनले विशेष गरी ट्रान्जिट यात्रुहरू र मध्यपूर्वमा कार्यरत आप्रवासी श्रमिकहरूलाई उल्लेखनीय राहत पुग्ने अपेक्षा गरिएको छ ।