
ललितपुर : ललितपुर महानगरपालिका वडा नं. २ सानेपा–सुन्दरीघाट क्षेत्रबाट स्रोत नखुलेको रकमसहित चार जना पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सोमबार दिउँसो करिब १ः३० बजे उक्त स्थानमा केही व्यक्तिहरू हुण्डी कारोबारका लागि जम्मा भएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।
प्रहरीले शंका लागेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई खानतलासी गर्दा इन्द्र विश्वकर्माले बोकेको निलो झोलाभित्र लुकाइछिपाइ राखिएको नगद फेला परेको हो । झोलाभित्र एक हजार दरका नोट ७ लाख ५६ हजार तथा एक हजार नोट कै आकारमा काटिएको सेतो कागज राखिएका १६ बण्डल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
सम्पूर्ण नगद गन्दा ७ लाख ८८ हजार बरामद भएको र सोही आकारका सेतो कागजका १६ बण्डल समेत फेला परेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक सोधपुछका क्रममा उक्त रकम हुण्डी कारोबारसँग सम्बन्धित रहेको उनीहरूले स्वीकार गरेको प्रहरीको भनाइ छ । साथै उनीहरू ठगीसम्बन्धी गतिविधिमा समेत संलग्न हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर इन्द्रसरोबर गाउँपालिका–५ का ६० वर्षीय देवकुमार लामा, खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–११ का ४३ वर्षीय पवन तामाङ, सर्लाही बागमती नगरपालिका–१० का ३९ वर्षीय इन्द्र विक तथा सोही नगरपालिका–६ का ३२ वर्षीय दिनेश विक रहेका छन् ।
उनीहरूलाई आवश्यक प्रमाणसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।